बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै

सोमबार, २९ मङ्सिर २०७७, १२ : ३३
सोमबार, २९ मङ्सिर २०७७

सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ । 

गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष पनि उपहारको कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।

संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको छ । साथै गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरिएको छ । 

गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत घरघरमै पुगेर भाले उपहार दिने गरेको बताए ।  

“कार्यक्रमले जाँगर पैदा गरेको छ, देख्दा सानो तर मातृशिशु मृत्युदर घटाउन प्रभावकारी मानेका छौँ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “सानो उमेरमा गर्भ बोक्न हुन्न, समयमा घटना दर्ता गर्नुपर्छ र गर्भावस्थाको जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको छ ।” 
    
चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ । छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप