बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चोरमाथि चकार: मामाघरबाट चोरेको ३८ तोला सुनमा ‘लुटेरा’को आँखा

मङ्गलबार, ३० मङ्सिर २०७७, १४ : २२
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका–२ की माईली तामाङको दराजबाट ३८ तोला सुन र २ हजार अमेरिकी डलर चोरी भयो । १० वर्ष दक्षिण कोरिया बसेर फर्केकी माइलीको घरमा चोरी भएको दिन (२७ मंसिर, शनिवार) मा अपरिचित मानिस त गएका थिएनन् । तर, धुलिखेलबाट राजन तामाङ पाँचखाल गएका थिए । माईली तामाङको परिवार उनको मावली हुन् । 

सुन चोरेर राजन काठमाडौंतिर लागे । बनेपा आइपुगेपछि साथी राम तामाङसँग उनले सुन र पैसा बाँडे । सुन बेच्नुथियो, डलर साट्नुथियो । वर्ष २३ का राम तामाङ पनि धुलिखेल नगरपालिका–१ का हुन् । राजनको घर पनि त्यहीँ हो । 
सुन चोरेको रिपोर्ट जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको थियो । तर, उनी काठामाडौं आएको सुराक प्रहरीलाई थिएन् । 

यसरी खुल्यो पोल 
आईतबार बिहान १ बजेतिर ठमेलको ड्रयागन डान्सबार अघिल्तिर राजन हल्ला गर्दै थिए– ‘रेष्टुरेन्टमा लुटेराले मेरो पैसा लुटे ।’  चेकिङ ड्युटीमा निस्केका महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दिपक खड्काले राजनको गतिविधि नियाले । अनि, ड्रयागनका सञ्चालक र राजनलाई वृत्तमा लगेर सोधपुछ गर्न प्रहरी निरीक्षकलाई आदेश गरे । 

‘बिहान ३ बजेतिर राजनका दाई हाम्रो सम्पर्कमा आए’ डिएसपी खड्का भन्छन्–‘अनि, काभ्रेमा सुन चोरेर राजन काठमाडौं आएको थाहा भयो, त्यसपछि हामीले जिप्रका काभ्रेसँग समन्वय गरेर चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लियौं ।’ 


शनिवार साँझ राजन ठमेलस्थित ‘टाइगर’ ले सञ्चालन गरेको ड्रयागन डान्स बारमा आएर मदिरा पिउन थाले । ओखलढुंगाका देवराज दाहाल र सिन्धुपाल्चोकका रामचन्द्र चालिसेलाई ‘राजनसँग सुन र २–३ लाख पैसा छ’ भन्ने सुराक रामले दिइसकेका थिए । उनीहरु राजन खोज्दै सो डान्सबारमा पुगे ।

अनि लुटिए
मदिराको नशा चढ्दै गएपछि राजन फूर्ति लगाउन थाले । पैसाको बिटो देखाएर ‘कसले कति खाने हो खानु’ भन्दै कराउन थाले ।  डान्सबार सञ्चालक र उनको सालो मिलेर योजनाबद्ध १ लाख ७ हजारको बिल बनाए । जबर्जस्ती १ लाख ७ हजार पैसा र चोरेर ल्याएको सुन लुटेपछि राजन डान्सबार बाहिर निस्केर ‘म लुटिएँ’ भनेर कराउन थालेपछि डिएसपी खड्काको टोलीले उनलाई फेला पारेको थियो । 

लुट्ने क्रममा हराएको ४० हजार अझै फेला नपरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले ड्रयागन डान्सबारका सञ्चालक टाईगर र उनको सालोमाथि पनि अनुसन्धान गरिरहेको छ ।  राजनको बयानबाट खुलेका धुलिखेल–७ घर भएका हुईबहादुर तामाङसहित देवराज दाहाल, रामचन्द्र चालिसे र २३ वर्षीय राम तामाङलाई प्रहरीले पक्रिएको छ ।

काठमाडौंका फरक–फरक ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो । चोरीमा संलग्न मुख्य आरोपी राजनसहित पाँच जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको छ । राजनले सुन बिक्री गर्न र डलर साट्नका लागी रामलाई प्रयोग गरेको र उनैको सुराकले ‘चोरमाथि चकार’ लागेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप