शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आउनुस् फेरि एकता गरौंः विष्णु पौडेल

बुधबार, १५ पुस २०७७, १८ : ३७
बुधबार, १५ पुस २०७७

वीरगञ्ज । नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाध्यतावस कार्यकारी हैसियतबाट हटाइएको बताएका छन् । बुधबार वीरगञ्जमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पौडेलल भने–‘आउनुस् फेरि यही पार्टीभित्र फर्केर एकता गरौँ, आरोपपत्र फिर्ता लिनुस् । सँगै मिलेर देश र पार्टी निर्माण गरौँ ।’ 

पौडेलले प्रचण्ड अझै पनि आफ्नै अध्यक्ष र माधव नेपाल बरिष्ठ नेतानै भएको जिकिर समेत गरे । उनले नेकपाका अधिकांश साथीहरु अहिलेपनि अन्योलमा रहेकाले स्पष्ट हुन आग्रह गरे ।  उनले प्रचण्डलाई पार्टी र सत्ता कब्जा गर्ने स्वार्थले आएको आरोप लगाउँदै माधव नेपालले अध्यक्ष बन्नकै लागि मरिहत्ते गरेको अरोप लगाए ।

प्रचण्ड र माधव नभएपछि अब सहजरुपमा पार्टी र सरकारले काम कारवाही गर्ने बताउँदै उनले भने– ‘अब कुनै पनि किसिमको अवरोध सृजना हुने छैन । रुन्चे प्रचण्ड र २ नम्बर अध्यक्ष बनेरै छाडेका माधवहरु समेत आफै छेउ लागेका छन् ।’ उनले प्रचण्ड र माधवको सत्ता र पार्टी कब्जा गर्ने योजना तुहिएको बताए ।

उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुन्छ भन्ने कुरामा ढुक्क हुन आग्रह गरे । लोकतन्त्रमा विश्वास गर्ने पार्टीले निर्वाचनमा भाग लिने दाबी गर्दै महासचिव पौडेलले प्रदेश २ मा अघिल्लो वर्षभन्दा झनै राम्रो मत ल्याउने र ३२ सिटमध्ये १७ देखि २० स्थानको सिट जितको सुनिश्चित गर्ने दाबी गरे । उनले भने– ‘बहुसंख्यक सिट जितका लागि निर्वाचनको तयारीमा लागौँ ।’

उनले अवसरवाद र स्वार्थसिद्ध गर्नेहरुको सामुन्नेमा आत्मसमर्पण या प्रतिवाद गर्ने बाहेकको विकल्प नभएर ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पारे । कार्यक्रममा सोही समूहका स्थायी समिति सदस्य समेत रहेका शहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले जालझेल र षड्यन्त्रपूर्ण तरिकाले पार्टी निर्माणमा बाधा अवरोध खडा गर्दै आएको बताए । उनले कम्युनिष्ट आन्दोलन संकटतर्फ उन्मुख भएको भन्दै पार्टी विघटनको समीक्षाको आवश्यकता रहेको बताए । 

स्थायी समिति सदस्य रघुवीर महासेठले प्रचण्ड र माधवले गलत ढंगले अविश्वासको प्रस्ताव लगेकाले बाध्य भएर प्रतिनिधिसभा भंग गर्नुपरेको बताए । कानून न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले कुनैपनि हालतमा संसद पुनःस्थापना हुन नसक्ने बताए ।

प्रदेश इन्चार्ज तथा प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा भएको भेलामा महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री जुलीकुमारी महतो लगायतले सम्बोधन गरेका थिए । भेलामा तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यहरु रहेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह समेतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप