मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा ओली पक्षका प्रवक्ता ज्ञवाली भन्छन्- ‘प्रचण्डले आरोपपत्र फिर्ता नलिँदा यो अवस्था आयो’

आइतबार, १९ पुस २०७७, १५ : १९
आइतबार, १९ पुस २०७७

काठमाडौं । नेकपा ओली  पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीलाई लगाएको आरोपपत्र फिर्ता नलिएका कारण अहिलेको अवस्था आएको बताएका छन् । आइतबार ओली पक्ष नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्तालाई कार्की ब्याङकेटमा सम्बोधन गर्दै ज्ञवालीले अध्यक्ष ओलीको एउटा महाधिवेशनबाट अर्को महाधिवेशनमा गएर नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट मार्गचित्र रहँदा पनि त्यसलाई स्वीकार नगरिएको उल्लेख गरे ।  
पुस ४ गते केपी ओली प्रचण्ड निवास खुमलटार गएर एकताको विषेश महाधिवेशन गरौँ, २ देखि ४ महिनामा एकता माहाधिवशेन गरे आफूले पद त्याग गर्न तयार रहेको बताउँदा पनि प्रचण्डले नमानेको उनले दावी गरे ।  त्यो दिन प्रधानमन्त्री ओलीले हामी पटक पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री भयौँ, वामदेवलाई पनि त्यो अवसर दिऔं भन्दा पनि नमान्दा अहिलेको अवस्था आएको उल्लेख गरे । 

उनले भने– ‘आरोपपत्र तयार  पारेर तिमी कम्युनिष्ट हैनौँ, तिमी समाजवादी हैनौँ भनेर आरोप लगाइयो । आरोप पत्र फिर्ता लिनुस् सहमति हुन्छ भन्दा मानेनन् ।’  ज्ञवालीले महाभारतको कथा स्मरण गर्दै पाण्डवहरुलाई युद्ध रोक्न ५  गाउँ दिनुस् भन्दा दुर्योधनले एउटा सियोको टुप्पोपनि दिन्न भन्दा युद्ध भएको उल्लेख गर्दै आरोप पत्र फिर्ता लिनुस् भन्दा नलिँदाको परिणाम पार्टीको यो अवस्था भएको बताए । 

उनले बहुमत पाएको प्रधानमन्त्रीले एक कार्यकाल पूरा किन गर्न नपाउने  भन्दै धेरै देशले ऋणात्मक आर्थिक अवस्था भएका बेला नेपालले ७ प्रतिशत आर्थिक बृद्धि हासिल गरेका कारण राजीनामा गर्नुपर्ने हो भन्दै प्रश्न गरे । उनले भने– ‘सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी सहितको नक्सा जारी गरेका कारण राजीनामा दिनुपर्ने हो । देशका सबैठाउँमा शिक्षा स्वास्थ्य पुर्याएका कारण राजीनामा दिनुपर्ने हो ?’

उनले ७५ वटा सचिवालय बैठक बसेको र सो छलफलमा कोरोना नियन्त्रणका लागि कतिपटक छलफल भयो भनेर प्रश्न गरे । उनले देशनको एजेण्डाभन्दा पनि कुसी अगाडि कि पछाडी, कुर्सीको रंग कस्तो भन्नेमा मात्र छलफल केन्द्रीत भएको दावी गरे । उनले पार्टीभित्रकै नेताहरुले प्रतिपक्षी दल काँग्रेसभन्दा पनि माथि उठेर सरकार विरुद्धमा लागिरहेको उल्लेख गरे ।

अचानक अविश्वासको प्रस्ताव ल्याउन लागेपछि संसद विघटन

ज्ञवालीले अचानक अविश्वासको प्रस्ताव ल्याउन लागेपछि पार्टी जोगाउन संसद विघटन गरेको बताए । उनले प्रधानमन्त्रीलाई पार्टी भित्रैबाटै असहयोग भएपछि अहिलेको अवस्था आएको उल्लेख गरे । अरु नै प्रयोजनका लागि  लिइएको सांसदको हस्ताक्षर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव विरुद्ध प्रयोग गर्न खोजिएको दावी गरे । 

उनले भने– ‘साविक एमालेले ३२ लाख र साविक माओवादी केन्द्रले १३ लाख मत पाएको थियो । तर हामीले एकता गर्दा ती संख्या बिर्सियौँ, नेकपा एमालेको शान्तिपूर्ण बहुदलीय जनवादको धार र माओवादीको सशस्त्र संघर्षबाट सत्ता कब्जाको धारलाई मिसाएर पार्टी एकता  गर्यौ ।

एकता गरिरहँदा सानो आकारको पार्टीलाई मलाई बुलडोजरले पेल्छ कि, मेरो अल्पमत हुन्छ कि भन्ने मनोवैज्ञानिक असर नपरोस भनेर हामीले खेलका नियमहरु बनायौँ । पार्टीका दुईटा अध्यक्ष राख्यौँ विधानको धारा १८ मा सबै निर्णय दुई अध्यक्षको सहमतिबाट गर्ने व्यवस्था गर्यौँ।

महाधिवेशन पनि सहमति गर्ने भन्यौँ तर अचानक खेलको बीचतिर पुगेपछि खेलको नियम परिर्वन गरियो ।’ उनले पार्टीलाई अगाडि बढाउन आगोको फिलिङ्गो भएर अभियान लिएर गाउँमा जान आग्रह गरे । उनले प्रधानमन्त्रीले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप