शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नो जीवनकालमा दस पटक चन्द्रमा ओहोरदोहोर गर्नसक्ने यो प्राणी

मङ्गलबार, २८ पुस २०७७, २३ : २७
मङ्गलबार, २८ पुस २०७७

भाइबहिनीहरु ! तिमीहरूले धेरै किसिमका प्राणी देखेका छौ होला । अब कमिला पनि प्राणी हो, पुतली पनि प्राणी हो, उड्ने चरा पनि प्राणी हो । तिमीले देखेको सबैभन्दा ठूलो हात्ती पनि प्राणी हो।

के भन्न सक्छौ संसारको सबैभन्दा ठूलो प्राणी कुन हो ?

समुद्रमा एउटा माछा पाइन्छ, यसलाई ‘ब्लु ह्वेल’ भनिन्छ । यो नै पृथ्वीको सबैभन्दा ठूलो प्राणी हो। ‘ब्लु ह्वेल’ वर्तमानको मात्रै होइन, पृथ्वीमा जीवन प्रारम्भ भएदेखिकै सबैभन्दा विशालकाय प्राणी हो । हो, करोडौँ वर्ष पहिला विलुप्त भएका डायनोसरभन्दा पनि ठूलो प्राणी हो ‘ब्लु ह्वेल’ ।

स्तनधारी (mammal) प्रजातिमा आउने यस प्राणीको वैज्ञानिक नाम balaenoptera museulus रहेको छ ।

 ‘ब्लु ह्वेल’को आकारको कल्पना तिमीहरु यसै एउटा तथ्यबाट गर्न सक्छौ । यस प्राणीको जिब्रोको तौल मात्रै एउटा हात्तीको तौल बराबर झण्डै ३.६ टनको हुन्छ । के तिमीलाई थाहा छ, तिम्रो जिब्रोको तौल कति हुन्छ ? एउटा वयस्क मानिसको जिब्रोको तौल जम्मा ७० ग्राम मात्रै हुन्छ । यसमा पनि महिलाको जिब्रो ६० ग्राम मात्रै हुन्छ। र, मानिसको जिब्रोको आकार जम्मा १० सेन्टिमिटर हुन्छ । चक्कर लाग्यो ?

‘ब्लु ह्वेल’को हृदयको आकार झण्डै एउटा कार जत्रो ६०० किलोको हुन्छ । यसको हृदयको आकार १.५ मिटर (१.२ देखि १.५ मिटर) हुन्छ । यस प्राणीको भोजन सानो आकारका माछा ‘क्रिल’ (krill) हुनेगर्छन् । यसले एक दिनमा ३६ सयदेखि ६ हजार किलो ‘क्रिल’ माछा खाने गर्छ ।

हुन त यो प्राणी समुद्रको गहिराइमा बस्छ । तर स्तनधारी प्रजाति भएका कारण यसले श्वास फेर्न पानीको सतहमाथि आउनुपर्छ । श्वास फेर्न पानीको सतहमाथि आउँदा यसले श्वास छाड्दा पानी वाष्पीकृत भएर ९ मिटर माथिसम्म पुग्छ ।

बच्चा जन्मिँदा बच्चाको आकार ८ मिटर लामो र तौल २७ सय किलो हुनेगर्छ । ‘ब्लु ह्वेल’को बच्चालाई काफ (calf) भनिन्छ । बच्चा ब्लु ह्वेलले प्रत्येक दिन आमाको स्तनबाट ६ सय लिटर दूध खानेगर्छ । एक वर्षको हुँदासम्म बच्चाको शरीरको तौल प्रतिदिन ११५ किलोले वृद्धि हुन्छ ।

पोथी ‘ब्लु ह्वेल’ले तीन वर्षमा एक पटक गर्भधारण गर्छ । बच्चा गर्भबाट बाहिर आउन ११–१२ महिनाको समय लाग्छ ।

वयस्क ‘ब्लु ह्वेल’लाई एक दिनमा १५ लाख किलो क्यालोरी इनर्जीको आवश्यकता हुन्छ । यसले आफ्नो शरीरमा योभन्दा ९० गुना बढी इनर्जी सञ्चित गर्न सक्छ । हिसाब गरौँ त, यसले आफ्नो शरीरमा कति इनर्जी राख्न सक्छ, १५ लाख x ९० = १३५०००००० किलो क्यालोरी ।

यसको जीवनकाल ७० देखि ९० वर्षको हुन्छ । ३३ मिटरसम्म लामो हुने यस प्राणीको तौल १ लाख ७३ हजार किलोसम्म हुन्छ । यस दीर्घ र भीमकाय आकारका साथै यो अति छरितो पनि हुन्छ, ‘ब्लु ह्वेल’ ४० किमि प्रतिघण्टाको गतिले पौडिन सक्छ ।

यस प्राणीको टाउकोको आकार ५.८ मिटरसम्म हुने गर्छ । तर यसको मस्तिष्क शरीरको तुलनामा धेरै सानो हुन्छ । यसको मस्तिष्कको तौल जम्मा ७ किलो हुन्छ ।

‘ब्लु ह्वेल’ ९० दिनसम्म नसुतेर रहन सक्छ । सुत्दा पनि यसको आधा मस्तिष्क जागृत रहेर सन्तुलन कायम गर्न मद्दत गर्छ ।

एक पटक श्वास फेरेपछि यसले आधा घण्टादेखि २ घण्टासम्म श्वास रोक्न सक्छ । यसको मुटु एक मिनेटमा जम्मा ९ पटक घड्किन्छ । यसको मुटुको ढुकढुकी दुई किमि परसम्म सुन्न सकिन्छ । यसका आँखा मानिसका टाउको जत्रा हुन्छन् । यसले आफ्नो फोक्सोमा ५ हजार लिटरसम्म पानी सञ्चित गर्न सक्छ ।

तर अचम्म यस प्राणीका दाँत हुँदैनन् । यसले भोजनका लागि ‘क्रिल’ माछा भएको क्षेत्रको पानी (५ हजार लिटर) पिउँछ । पानीसँगै लाखौँ माछा यसको मुखभित्र पस्छन् । मुखभित्र रहेको व्यवस्थाले माछा पेटमा भित्र आएर पानी बाहिर फ्याँकी दिन्छ ।

‘ब्लु ह्वेल’ले निकाल्ने आवाज अति मधुर हुन्छ । ‘लो फ्रिक्वेन्सी’को आवाज १६०० किमि टाढा रहेको अर्को ‘ब्लु ह्वेल’ले सुन्न सक्छ ।

एउटा वयस्क ‘ब्लु ह्वेल’को शरीरमा २५०० ग्यालेन (एक ग्यालेन बराबर ३.७८५४१ लिटर) रगत हुन्छ । एक पटकको ढुकढुकीमा २०० लिटर रगत प्रवाहित हुन्छ यसको शरीरमा । यसका शरीरका केही नसा यति ठूला हुन्छन्, जसभित्र एउटा मानिसको बच्चा सजिलै हिँड्न सक्छ ।

थाहा पाइराख एउटा ‘ब्लु ह्वेल’ आफ्नो जीवनकालका झण्डै ८० लाख किमि यात्रा गर्छ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्म १० पटक ओहोरदोहोर गर्नु जति हो । भन त मानिसले आफ्नो जीवन कालमा कति यात्रा गर्छ होला ?

यस प्रश्नको जवाफ पाउन सजिलो हुन्न । यो व्यक्ति व्यक्तिमा फरक हुने कुरा हो । तर एउटा रमाइलो अनुमान लगाउने प्रयास गरौँ । जीवनमा सबैभन्दा बढ़ी यात्रा गर्ने मानिस ड्राइभर नै हुन्छन् होला । ल मानौँ कुनै एउटा ट्रक ड्राइभर छ । उसले दिनमा २०० किमि ट्रक गुडाउँछ र उसले यो पेसामा जीवनका ७० वर्ष व्यतीत गर्छ । अब हिसाब गरौँ उसले जीवनमा कति यात्रा गर्‍यो होला ।

एक दिनमा गर्ने यात्रा = २०० किमि

एक वर्षमा गरिने यात्रा = २००* ३६५ =७३००० किमि

७० वर्षमा गरिने यात्रा = ७३०००*७० = ५१,१०००० किमि

यस हिसाबले हामी मोटामोटी रूपमा भन्न सक्छौ एउटा सामान्य मानिसभन्दा ब्लु ह्वेल आफ्नो जीवनकालमा धेरै नै बढी यात्रा गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप