शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपात हुन्छः सुजाता कोइराला

बुधबार, २९ पुस २०७७, १५ : १९
बुधबार, २९ पुस २०७७

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् । 

सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनले बताइन् ।

उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैंले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेको भन्दै उनले आपत्ति जनाइन् । उनले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’

संसदविना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने खतरा उनले औल्याइन् । उनले भनिन्, ‘संसद विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको उनले बताइन् । ३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गराउँदै उनले भनिन्, ‘३० वर्ष देखि देउवाजी प्रधानमन्त्री बन्दै आउनुभएको छ । फेरि तपाईं नै प्रधानमन्त्री बन्नुहोस् तर संसद पुनःस्थापना गर्नुहोस् ।’

संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्नुपर्ने उनको जोड थियो । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने पनि स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भएपनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् । 

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनै पनि सम्झौता गर्न नसक्ने उनले बताइन् । सीमाको विषयमा ओलीले भारतसँग कुरा गर्न नसक्ने उनको भनाई थियो । उनले भनिन्, ‘काम चलाऊ सरकारले सीमाका विषयमा वार्ता गर्न मिल्दैन । ओलीले एक्लैले भारतसँग वार्ता गरेको मान्य हुँदैन ।’ सहमति, सहकार्य र एकतालाई लत्याएर ओली अघि बढेको आरोप उनले लगाइन् । ओलीले संविधानलाई नै कुल्चेर देशलाई दुर्घटनामा पुर्याएको कोइरालाको आरोप थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप