शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा ओली रणनीति : अस्तित्व रक्षाका लागि धमाधम पद

पूर्व एमालेलाई कति धक्का ?
बिहीबार, ०१ माघ २०७७, ०७ : ५९
बिहीबार, ०१ माघ २०७७

कैलाली । नेपाल कम्युनिस्ट पार्टी राजनीतिक रुपमा विभाजन भएसँगै नेकपाको ओली पक्षले आफ्नो सबैभन्दा कमजोर अवस्था रहेको सुदूरपश्चिम प्रदेशमा धमाधम पद बाँडेर अस्तित्व रक्षा गर्ने रणनीति अख्तियार गर्न थालेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपाको प्रचण्ड–माधव पक्षको राजनीतिक अवस्था ओली पक्षको तुलनामा निकै बलियो देखिएको छ । त्यसैले पनि ओली पक्षले केन्द्रीय सदस्य पद बाँडेर भए पनि यो प्रदेशमा आफ्नो संगठनको अस्तित्व बचाउने कसरत गर्न थालेको हो ।

यस्तो थियो सुदूरपश्चिममा नेकपाको समीकरण  

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा पूर्वमाओवादीले सुदूरपश्चिमबाट १४ जनालाई नेकपाको केन्द्रीय सदस्य बनाएको थियो । त्यस्तै चारवटा जिल्लामा अध्यक्ष र पाँच जिल्लामा सचिव पद पूर्व माओवादी पक्षले पाएको थियो । यस्तै पूर्वमाओवादीबाट सुदूरपश्चिम प्रदेशसभामा १४ जना निर्वाचित भएका थिए भने प्रतिनिधिसभामा तीन जना थिए ।

नेकपा विभाजनको धक्का कति ?

नेकपा विभाजनपछि पूर्वमाओवादी पक्ष र पूर्व एमालेमा माधवकुमार नेपाल पक्ष मिलेर अहिले नेकपाको प्रचण्ड–माधव पक्षले ओली पक्षलाई बलियो चुनौती दिएको छ । यतिमात्र होइन, केन्द्रमा यो पक्षले नै झण्डै ७० प्रतिशत केन्द्रीय सदस्यको समर्थन पाएको छ ।

सुदूरपश्चिम प्रदेशमा यो पक्षले आफ्नो साखलाई कायमै राखेको छ । नेकपा विभाजनका बाबजुद प्रचण्ड–माधव पक्षमा सुदूरपश्चिमबाट १३ केन्द्रीय सदस्यको समर्थन छ । यो प्रदेशबाट प्रचण्ड–नेपाल पक्ष छाडेर कित्ता परिवर्तन गरी ओली पक्षमा लाग्ने सबैभन्दा प्रमुख नेतामा लेखराज भट्ट पर्दछन् । उनलाई संघीय सरकारमा मन्त्री र पार्टी कमिटीमा प्रदेश इन्चार्ज बनाउने प्रलोभनका साथ ओली पक्षले आफूतिर तानेको हो ।

प्रदेश कमिटीमा प्रचण्ड–माधव पक्षकै बलियो पकड छ । विभाजन अघि पूर्वमाओवादीतर्फका ८३ प्रदेश कमिटी सदस्यमध्ये ६३ जना प्रचण्ड–माधव पक्षमा छन् भने २० जना प्रदेश सदस्य केपी गुटतिर लागेका छन् ।

त्यसैगरी पूर्वमाओवादीले पाएको ४ जिल्ला अध्यक्षमध्ये ३ जना प्रचण्ड–माधब पक्षमा यथावत छन भने एक जिल्ला अध्यक्ष केपी गुटतिर लागेका छन । जिल्ला सचिव ५ जनामध्ये ४ जना प्रचण्ड–माधव पक्षमा यथावत छन् भने एक जना केपी ओली पक्षतिर लागेका छन् ।

पूर्वमाओवादीका १४ जना प्रदेश सभा सदस्यमध्ये १२ जना प्रचण्ड–माधव पक्षमा छन् भने २ जना केपी गुटतिर गएका छन् । त्यसैगरी विघटित प्रतिनिधि सभा सदस्य ३ जनामध्ये विना मगर प्रचण्ड–माधव पक्षमा छिन् भने लेखराज भट्ट र गौरीशंकर चौधरी केपी ओली पक्षतिर लागेका छन् ।

प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य एब सुदूरश्चिम प्रदेश सचिव नेप चौधरीका अनुसार नेकपा विभाजनको अवस्थामा पनि प्रचण्ड–माधव पक्षले यो प्रदेशमा आफ्नो प्रभावलाई कम हुन दिएको छैन ।

पूर्व एमालेलाई कति धक्का ?

पार्टी एकतासँगै पूर्व एमालेले सुदूरपश्चिम प्रदेशबाट १८ जना केन्द्रीय सदस्य, १०० प्रदेश कमिटी सदस्य, ५ जिल्ला अध्यक्ष र ४ जिल्लामा सचिव पाएको थियो ।

यस्तै सुदूरपश्चिमबाट पूर्व एमालेका प्रदेशसभा सदस्य २५ र प्रतिनिधि सभा सदस्य १८ जना थिए ।

पूर्व एमालेतर्फबाट १८ जना केन्द्रीय सदस्यमध्ये ९ जना पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका छन् भने ९ जना केपी ओली गुटतिर छन् ।

यस्तै, पूर्व एमालेका १०० जना प्रदेश कमिटी सदस्यमध्ये ५४ जना प्रचण्ड–माधब समूहमा छन् भने ४६ जना केपी गुटतिर छन् । ५ जिल्ला अध्यक्षमध्ये ३ जना प्रचण्ड–माधव पक्षमा छन् भने २ जना केपी गुटतिर छन् । ४ जिल्ला सचिवमध्ये ३ जना प्रचण्ड–माधव पक्षमा छन् भने १ जना केपी गुटतिर छन् ।

प्रदेश सभा सदस्य २५ जनामा २० जना प्रचण्ड–माधव समूहमा छन् भने ५ जना केपी समूहतिर छन् । यस्तै, १८ जना प्रतिनिधि सभा सदस्य मध्ये ८ जना प्रचण्ड–माधव समूहमा छन् भने १० जना केपी समूहतिर छन् ।

यसरी हेर्दा पूर्वमाओवादी पक्षकाले खासै कित्ता परिवर्तन गरेका छैनन् भने पूर्व एमालेतर्फबाट ओलीको साथ छाड्नेको संख्या केन्द्रीय कमिटीदेखि लिएर प्रदेश कमिटीसम्म र प्रतिनिधिसभा सदस्यदेखि लिएर प्रदेशसभासम्म तुलनात्मक रुपमा निकै बढी छन् ।

सुदूरपश्चिममा संगठनात्मक रुपमा ७५ प्रतिशत प्रचण्ड–माधवतिर छन् भने २५ प्रतिशत केपी गुटतिर रहेको सुदूरपचिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी बताउँछन् । उनका अनुसार प्रदेश पदाधिकारी ६ जनामध्ये प्रदेश अध्यक्ष कर्ण थापा मात्र केपी पक्षतिर छन् भने प्रदेश ईन्चार्ज  भिम रावल सहित ५ जना प्रचण्ड–माधव पक्षमा छन् ।

केपी ओली पक्षका केन्द्रीय सदस्य रतन थापा भने पूर्व माओवादीको प्रभाव बढी भएका कारण धेरैजसो प्रचण्ड–माधव समूहमा भएजस्तो देखिएको बताउँदै जिल्लास्तरमा र क्षेत्रमा भने केपी पक्षको बर्चश्व रहेको दावी गर्दछन् । ‘हामीले कार्यकर्ताहरुलाई जागरुक बनाइरहेका छौं, निकट भविष्यमा यो प्रदेशका अधिकांश साथीहरु हामीतिर आउने निश्चित छ,’ उनले भने ।

प्रचण्ड–माधव पक्षका प्रदेश कमिटी सदस्य रमेश धामी भने पूर्वमाओवादी पक्षबाट लेखराज भट्टले धोका दिए पनि संगठनमा खासै फरक नपरेको दावी गर्दछन् । ‘उहाँ एक जना ओली पक्षतिर गए पनि हामी जहाँको त्यहीँ नै छौं,’ उनले भने, ‘यो प्रदेशमा केपी ओली पक्षको संगठनात्मक धरातल नै छैन । त्यसैले जति मान्छे भेटिन्छन्, सबैलाई पद दिन्छु भनेर उहाँहरुले फकाइरहनु परेको छ ।’

केपी समूहका केन्द्रीय सदस्य उद्धब भट्टराईका अनुसार लेखराज भट्टले पूर्वमाओवादीका साथीहरुलाई आफूतिर तान्न प्रयास गरिरहेका छन् । यस प्रदेशबाट पूर्व माओवादीका ८५ जना कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएर केपी पक्षले आफूतिर तानिसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप