आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा

शुक्रबार, १६ माघ २०७७, १३ : २९
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान गरेका थिए ।  

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एनएमबि बैंकले पछिल्ला वर्षहरुमा डिजिटाइजेसन र डिजिटल पेमेन्टमा ठूलो लगानी गरेको उनले एनएमबि बैंकले नेपालमा पहिलोपटक भाइबरमार्फत् अनलाइन खाता खोल्ने व्यवस्था गरेको तथा वित्तीय क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गर्ने पहिलो भएको बताए । नेपाल राष्ट्र बैंकका गभर्नरले वित्तीय कारोबार प्रवद्र्धनमार्फत् डिजिटल नेपाल बनाउने भिजन लिएको भन्दै त्यस्तो भिजन पूरा गर्न एनएमबि बैंक सँधै तत्पर रहेको केसीले बताए । 

प्रमुख कार्यकारी अधिकृत केसीले अबको केही समयमै मोबाइलबाटै ऋण लिनसक्ने व्यवस्था समेत गर्न लागेको जानकारी दिए । बैंकमा लाइन बस्न जाने समय अब व्यवसायीले आफ्नो व्यवसायमा खर्च गर्नसक्ने अवस्था आउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानीको बहुआयामिक फाइदा भएको भन्दै यो नगद बोक्न नपर्ने अवस्थासँग मात्रै सम्बन्धित नरहेको बताए । डिजिटल भुक्तानी गर्दा झन्झट हट्ने, हराउने वा चोरिने डर नहुने मात्रै नभएर बैंकलाई ग्राहकको कारोबारसम्बन्धि तथ्यांक संकलनको लागि समेत सहयोगी हुने उनको भनाई थियो । 

‘आज तपाइँहरु बैंकमा ऋण दिन धाइरहनु भएको छ, डिजिटल भुक्तानी गर्दा तपाईको सबै रेकर्ड बैंकमा रहन्छ, भोलि बैंक नै ऋण लिइदिनुस् भन्दै तपाईँकहाँ आउन पनि सक्छ’ गभर्नर अधिकारीले भने । उनले मास्टरकार्ड वा भिजा कार्ड प्रयोग गर्दा प्रत्येक प्रयोगमा देशबाट ६ रुपैयाँदेखि ७ रुपैयाँसम्म बाहिर जाने गरेको भन्दै क्यूआर कोड प्रविधि प्रयोगमा कुुनै पनि रकम बाहिर जाने अवस्था नरहेको समेत जानकारी दिए ।

सो कार्यक्रममा बल्खु कृषि बजार विकास समितिका सञ्चालक मोहन बस्नेतले तरकारी बजारमा आवद्ध भएका सबै व्यवसायीहरु डिजिटल माध्यमबाट भुक्तानीको लागि तयार रहेको बताउँदै यसले नगद भुक्तानीमा देखिएका समस्याहरु समाधान हुँदै जाने विश्वास व्यक्त गरे । उनले कृषकहरुलाई अनुदान भन्दा सहुलियत ऋणमा जोड दिन आग्रह गर्दै त्यसलाई वास्तविक किसान वा कृषकले पाउने अवस्था सिर्जना गर्न राष्ट्र बैंक र बैंकहरुलाई आग्रह गरे । 

सो कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यान, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारी, सुरक्षा निकाय, कुमारी क्लबका सदस्य, स्थानीय कृषि व्यवसायी लगायतको सहभागिता थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप