बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकीकरणको १० महिना बित्दा पनि दल बन्न सकेन जसपा नेपाल

गुटगत कार्यक्रम बढ्दो, एक गुटको कार्यक्रममा अर्को अनुपस्थित
शुक्रबार, १६ माघ २०७७, १३ : ५७
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको अढाई वर्षमै पार्टी एकता ध्वस्त भयो । पार्टीमा विधि, विधान, लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारको कमीका कारण यस्तो दुर्घटना भएको चर्चा चलिरहेको समयमा जनता समाजवादी पार्टीभित्र पनि गुटगत राजनीति हावी हुन थालेको छ ।

तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको १० महिनाभन्दा बढी भइसक्यो । तर आन्तरिक विवादका कारण समायोजन प्रकृयाले अझै गति लिन नसक्दा सो पार्टी सिंगो राजनीतिक दलका रुपमा नभएर गुटगत समूहका रुपमा सीमित देखिन्छ ।

पार्टीभित्र गुटगत भेला, अन्तरक्रियालगायतका गतिविधिहरु तीव्र रुपमा भइरहेको छ । समायोजन प्रक्रियालाई गति दिनुभन्दा पनि नेताहरु तत्कालीन समाजवादी पार्टी र राजपा नेपालकै परिधिभित्र रहेर आ–आफ्नो गुट कसरी बलियो बनाउने, समायोजनामा आफ्ना मान्छे कसरी बढी पार्नेजस्ता गतिविधिमा सक्रिय देखिन्छन् ।

तत्कालीन समाजवादी पार्टीको युवा संगठनले समायोजन प्रक्रियालाई ध्यानमा राख्दै सातवटै प्रदेशमा आफ्नो अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । तर उसका कार्यक्रममा तत्कालीन राजपा नेपाल पक्षका नेताहरुको उपस्थिति रहेन ।

सो संगठनका इन्चार्ज एवम् जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरेका हुन् । अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा तत्कालीन राजपा नेपालका नेताहरुको उपस्थिति हुँदैनथ्यो । एकदुई ठाउँमा शरतसिंह भण्डारी उपस्थित भए पनि तत्कालीन राजपा नेपालका अरु कुनै पनि नेताहरु त्यसमा सहभागी भएका थिएनन् । 

तत्कालीन राजपा नेपालका नेताहरुले पार्टी एकीकरण भइसकेको अवस्थामा यसरी पूर्व पार्टीका कुनै भ्रातृ संगठनले छुट्टै कार्यक्रम गर्नु पार्टी हितविपरित रहेको भन्दै सोहीकारण आफूहरु त्यसमा सहभागी नभएको बताएका थिए । यता, समाजवादी पार्टीतर्फका युवा संगठनका इन्चार्ज योगेन्द्र राय यादवले आफूले राजपा नेपालका अधिकांश नेतालाई निमन्त्रणा दिएको तर उनीहरु आफै नआएको गुनासो गरे ।

युवा संगठनको समायोजन नभएका कारण आफूले समाजवादी पार्टीको युवा संगठनबाट कार्यक्रम गरेको उनको भनाइ छ । त्यस्तै कार्यक्रम तत्कालीन राजपा नेपालबाट पनि भइरहेको छ । राजपा नेपालका युवा संगठनका अध्यक्ष मुकेशकुमार झाले माघ १८ गते जनकपुरमा युवा भेला आयोजना गरेका छन् ।

त्यसमा मुख्य अतिथि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई राखिएको छ । अरु अतिथिमा वरिष्ठ नेता राजेन्द्र, कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, महेन्द्र राय यादवलाई पनि निमन्त्रणा गरिएको अध्यक्ष झाले बताए । 

उनले जसपा नेपालमा समायोजनको प्रकृया सुरु हुनलाग्दा समायोजनमा तत्कालीन राजपा नेपालका युवा संगठनबाट युवाहरुलाई कसरी कहाँ समायोजन गराउने भन्नेबारे छलफलका लागि प्रदेश २ स्तरीय भेला राखिएको बताए । उनले भने, ‘यो गुटको भेला होइन, जसपा युवा संगठनकै तर्फबाट कार्यक्रम राखिएको छ तर त्यसमा तत्कालीन समाजवादी पार्टीका कुनै पनि नेतालाई बोलाइएको छैन ।’

यो विशुद्ध तत्कालीन राजपा नेपालका युवाहरुको भेला भएकाले तत्कालीन समाजवादी पार्टीका नेताहरुलाई नबोलाएको उनले बताए । पहिलो चरणमा प्रदेश २ मा कार्यक्रम गर्ने, त्यसपछि अरु प्रदेशमा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

यसखालको सम्मेलन जिल्ला तथा गाउँहरुमा पनि भइरहेका हुन्छन् । राजपा पक्षधरले गरेको कार्यक्रममा समाजवादी पार्टीका नेताहरु अनुपस्थित हुने र समाजवादी पार्टीले गरेको कार्यक्रममा राजपा पक्षधरहरु अनुपस्थित हुने परम्पराजस्तै भइसकेको छ । यहाँसम्म कि जिल्ला तथा केन्द्रमा हुने पार्टी प्रवेश कार्यक्रम पनि छुट्टाछुट्टै गरिन्छ ।

राजपा नेपालका नेताको माध्यमबाट कसैलाई पार्टीमा प्रवेश गराइएको छ भने त्यहाँ समाजवादी पार्टीतर्फका नेताहरुको उपस्थिति हुँदैन । त्यस्तै समाजवादी पार्टीका नेताबाट कसैलाई पार्टीमा प्रवेश गराइन्छ भने त्यहाँ राजपातर्फका नेताहरु सहभागी नहुने देखिन्छ ।

केन्द्रीय कमिटीको बैठकले मंसिर मसान्तसम्म समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो । तर माघको आधासमय बितिसक्दा पनि समायोजनले गति लिएको छैन । जसले गर्दा जसपा नेपाल सिंगो पार्टीका रुपमा नभई विभिन्न राजनीतिक समूहको चौतारीका रुपमा मात्र सीमित देखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप