मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

केही लड्डु नेताले गर्दा काँग्रेसमाथि प्रश्न उठ्यो: गगन थापा

'संसदले अदालतको सम्मान राख्यो, अब अदालतले संसदको सम्मान राखोस् श्रीमान्'
शुक्रबार, १६ माघ २०७७, १८ : ०७
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले भारत र बेलायतको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई दिएको अधिकार नेपालको संविधानले परिकल्पना नगरेको बताएका छन् । 

काँग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो संविधानमा प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने प्रावधान छ। विघटनको अधिकार छैन। हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने अनि भारत र बेलायतको उदाहरण दिने भए उतै जानुस् ।’

यस्तै उनले अहिले अदालतमा बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर बहस भइरहेको बताउँदै मन नलागे प्रधानमन्त्री घर जान सक्ने बताए।

 ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने गर्ने? घर  जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने। 

उनले पाँच वर्षका लागि केपी ओलीलाई जिम्मेवारी दिइएको तर ओलीले त्यसलाई पूरा गर्न नसकेको बताए। ‘संविधानको जगमा उहाँलाई जिम्मेवारी दिइयो। तर शास्त्र नपढेकोले अस्त्र चलाउन जानेनन्,’ उनले भने, ‘घर बनाउन नसक्ने हो भने जानिनँ भन्नुपर्नेमा उहाँ जग भत्काउन लाग्नुभयो।’  

उनले ओलीलाई इतिहासले जनताको अधिकार खोस्ने शासकका रुपमा दर्ज गर्ने बताए । थापाले अहिले चुनाव कसले जित्ने भन्ने प्रश्न नभएको भन्दै काँग्रेसले जित्ने बताए । ‘आज नेकपाकै दुई खेमा एक अर्काविरुद्ध खेलेका छन्। चुनाव जित्ने र हार्ने कुराका लागि मात्रै नेपाली काँग्रेस बनेको होइन,’ उनले भने, ‘हामीलाई लागेको छ गोल हान्न सजिलो छ। तर खेल मैदान रहेन गोल हान्ने हो, नरहे के गर्ने ? त्यसैले खेल मैदान राख्ने पद्धति राख्नका लागि काँग्रेस लडेको छ।’  

उनले ओलीको नाम नेपाली जनताको अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने दाबी गरे । नेता थापाले भने, 'प्रधानमन्त्रीज्यू तपाईंले नेपाली जनता अपमान गरिरहनुभएको छ । युगको अवमूल्यन गरिरहनुभएको छ ।  तपाईंको नाम अधिकार खोस्ने शासकको पंक्तिमा लेखिने छ।’ 

उनले प्रधानमन्त्री ओलीलाई जनताले केही पनि थाहा नभएको तर केही पनि थाहा छैन भन्ने थाहा नपाएको पात्रका रुपमा लिएको टिप्पणी गरे । यस्तै उनले काँग्रेसभित्र चुनावको पक्षमा उभिएका नेतामाथि पनि प्रश्न उठाए ।  

उनले भने, 'संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु काँग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् तपाईं संविधानको पक्षमा कि विपक्षमा?,’ थापाको प्रश्न छ ।

काँग्रेसका केही नेताहरुले संसद पुनस्स्थापान वा निर्वाचन हुँदा दुबै हातमा लड्डु हरेको बताउने गरेका छन् । केही काँग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेकोमा आक्रोश व्यक्त गरे 

'बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो। पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् । त्यो पार्टीका कार्यकर्ता हामी अदालतबारे बोल्नु हुँदैन हैन, अदालतले के गर्दै छ भनेर हेरने आँट गर्नपर्छ,’ थापाले भने ।

संसदमा अदालतलाई संसदको एउटा समिति माताहत राख्ने प्रस्ताव आउँदा आफूहरु अदालतको स्वतन्त्रताको पक्षमा उभिएको थापाले स्मरण गरे ।

 ‘संसदले अदालतको सम्मान राख्यो, अब हामी चाहन्छौं, अदालतले संसदको सम्मान राखोस्’ थापाले भने । त्यसका लागि न्यायधीशहरुले संविधान पल्टाएर हेरे पुग्ने उनको भनाइ थियो । थापाले भने, ‘हामी श्रीमानहरुलाई भन्न चाहन्छौं, तपाईहरु संविधान पल्टाएर हेरिराख्नु भएको छ, अक्षरहरु पढिराख्नु भएको, हेर्ने त्यही हो । तर संविधानका धाराहरु शून्यबाट आएका होइनन् । यति प्रष्ट हुँदाहुँदै संविधानको व्याख्या तलमाथि हुन्छ भने प्रश्न उठ्छ श्रीमान् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप