बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भागरथीको हत्यामा दिनेशतर्फ यसरी सोझिएको थियो प्रहरीको अनुसन्धान

बुधबार, ०५ फागुन २०७७, १६ : १०
बुधबार, ०५ फागुन २०७७

काठमाडौं । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको निष्कर्षसहित प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो ।

सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अभियुक्त हो भन्नेमा मुख्य तीन आधार देखिएको छ । अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत प्राविधिक प्रमाणका आधारमा दिनेश नै उक्त घटनामा संलग्न रहेको निष्कर्षमा पुगिएको ती प्रहरी अधिकृतले बताए ।

‘पहिलो कुरा त, अभियुक्त आफैले अपराध स्वीकार गरिसकेको अवस्था छ,’ ती अधिकृतले भने, ‘परिस्थितिजन्य प्रमाण पनि उनको बयानसँग मिल्दोजुल्दो छ, कल डिटेल, लोकेसन लगायत अन्य प्राविधिक प्रमाणले पनि उनलाई नै संकेत गरेको अवस्था छ ।’

 


भागरथी हत्याको १३ दिनसम्म प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरी विभिन्न संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका कयौं स्थानीयवासीसँग घटना भएको दिन र समयको सेरोफेरोमा भएका गतिविधिबारे सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई आफ्नो राडारमा राखेको थियो । परिस्थितिजन्य प्रमाण, लोकेसन, आसपासका मानिहरुको भनाइ लगायतका ‘क्लु’ का आधारमा प्रहरीले करिब एक सातादेखि अनुसन्धानको दायरालाई सीमित व्यक्तिमा केन्द्रित गर्दै आएको थियो ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक पटक सोधपुछ गरेको थियो । मंगलबार अबेर सोधपुछका क्रममै दिनेशले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । दिनेश र भागरथी एउटै विद्यालयमा अलग अलग कक्षामा पढ्दथे । उनीहरु एकै गाउँ निवासी पनि हुन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप