कविता: रित्तो
-भुवन रोका “मित्रजी”
“बा रहनुभएन”
दुःखी हुँदै सबैले सुन्ने गरी छोरो कराउँदै थियो
कात्रो किन्न खै कसलाई हो अराउँदै थियो
अर्धाङ्गिनी छेउमै रोइरहेकी थिइन्
करुवाको जल थोरै मुखमा दिइन्
सायद
आश थियो होला अझै बाँच्छ कि भन्ने
जुरुक्क उठेर अंगालो हाल्छ कि भन्ने
आफन्त र गाऊँलेहरु दु:ख साट्दै थिए
नाति, नातिनीहरु अन्जानमै समय काट्दै थिए
आउँदैछे रे छोरी पनि कुद्धै कुद्धै बिना चप्पल
भेट्ने आशमा सास हुँदाको पल
छोडिसकेको थियो सासले मेरो साथ
बन्द भइसकेको थियो मुटुको धड्कन
म हराइरहेको थिएँ शून्यतामा
अनि
सोच्न थालेँ बिगतका पलहरु
ओहो!
चार कक्षामा रामेसँग
किन पो लाप्पा खेलेको थिएँ?
पाँच कक्षामा मैयाको
किन पो बाटो छेकी रुवाई दिए?
सम्झिएँ
ती बाल्यकालका चकचकहरु
स्कुले जीवनका रमाइला छलकपटहरु
उनीले दिएको पहिलो प्रेमपत्र
किन पो नपढी च्यातिदिएँ?
उनीलाई नबोलेरै प्रेमिका बनाउछुँ भनि
साथीसँग बाजी ठोकिएन कि!
फेरि बोल्नकै लागि घडी खोलेर
समय सोधिएन कि!
त्यो पञ्चमी बजार, एकादशीको जाग्राम
सम्झिएँ
कलेज पढ्दाका रमाइला पलहरु
जानेर- नजानेर गरिएका छलहरु
त्यतिबेला
किन कहिले रात परेन?
किन कहिले दिन भएन?
धेरैपल्ट
हिँड्दा हिँड्दै रोकिएको थियो लक्ष्यको गोरेटो
चढ्दा चढ्दै लडेको थियो संघर्षको पहाड
तर्दातर्दै डुबेको थियो दु:खको सागर
उड्दा उड्दै झरेको थियो सपनाको संसार
सम्झिएँ
उनि आएपछि भित्रिएको हो खुसी भण्डारसम्म
अनि
उनिसँगै भित्रिए थप खुसीहरु
ताते ताते गर्दै तोते बोली बोल्दै यो संसारसम्म
उठाउनै पाइएन तल्लाघरेलाई दिएको ऋण
तिर्ने सकिएन माथ्लाघरेबाट लिएको ऋण
सम्झिएँ सीमखेत
अनि सँगै सम्झिएँ त्यो कुलो
जुन बग्थ्यो हरेक असारमा झगडा बनेर
कोदालो बोल्थ्यो आफ्नो पालो पहिले भनेर
अहिले त
जंगल भएको छ त्यो सिमखेत
बग्दैन त्यो कुलो
चुपचाप छन् ती झगडा गर्ने कुटो कोदालो
किन छोडेर गए धेरैले गाऊँ?
यी खेतबारी अनि बस्तुभाउ?
लेख्न बाँकी नै थियो गाऊँको इतिहास
गर्न बाँकी नै थियो कुखुरा चोरको पर्दाफास
टुंगो लगाउनु थियो जातको कुरा
किन पो फुटाउछन् विधुवाले चुरा?
बनाउन बाँकी नै थियो खोलामा पुल
फुटाउन बाकी नै थियो खानेपानीको मुल
रोप्न बाँकी नै थियो सुन्तलाको बोट
फटाउन बाँकी नै थियो एकजोर कोट
बनाउन बाँकी नै थियो स्कुल र अस्पताल
कसले पो चोरेको थियो अनुदानको त्रिपाल?
कोर्न बाँकी नै थियो सिमाना खेतबारीको
झार्न बाँकी नै थियो सेखी पारीको
खोज्न बाँकी नै थियो हराएको गाऊँको सांसद
किन खान्थे मुखियाले सधै मुखियाको पद?
अबत
धमिलिँदै गए सम्झनाका दृश्यहरु
मधुर बन्न थाले अतितहरु
बिर्सिदै गए जोड घटाउका नियमहरु
विलिन हुँदै गए लोभी पापी खेलहरु
सायद नजिकिदै थिएँ
जीवन पछिको जीवनको संसारमा
त्यहाँ पनि त पुग्नु छ
धेरै धेरै आफन्तहरुको संघारमा
फगत रित्तो
केवल रित्तो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण