बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्: विप्लव

शुक्रबार, २१ फागुन २०७७, ०६ : ००
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरु विद्रोही मात्र नभएर शान्तिका दूत पनि हुन् भन्ने तर्क गरेका छन् । सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई शुक्रबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले समाजमा चार थरी मानिस पाइने बताए ।

‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग हुन्छन्,’ उनले भने, ‘तेस्रो थरी मानिस गुन–गुन गर्छन्, उठ्न, जाग्न सक्दैनन् । चौथो थरी विद्रोह गर्छन् । कम्युनिस्टहरु विद्रोह गर्ने मानिस हुन् ।’ यद्यपि कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका निर्वाह गरेको बेलामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् भन्ने उदाहरण आज आफूहरुले दिएको उनले बताए ।

उनले सरकारसँग भएको तीन बुँदेमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको प्रस्ट पारे । ‘कसैले आशंका गर्ने वा विभिन्न ढंगले उत्तेजनात्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमतिप्रति प्रतिवद्ध छौं ।’ नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढिरहेको भए पनि पूरा नभएको उनले बताए ।

‘किसान, दलित, महिला लगायत उत्पीडित समुदाय सन्तुष्ट छैनन्,’ उनले भने, ‘जनताको प्रतिनिधि, श्रमजीवी वर्गको प्रतिनिधि हुनुको हिसाबले जहाँ जहाँ आफ्ना कुरा राख्नुपर्ने हो, हामीले राख्यौं । अहिलेको सरकारसँगको कुरा होइन, नेपालको राजनीतिक रुपान्तरणको समग्र प्रक्रियामा सहमत हुन सकेनौँ र आफ्नो तर्फबाट विद्रोह गर्यौं ।’ तर अहिले देशमा असुरक्षा बढेको, राजनीतिक अस्थिरता देखा पर्न थालेको उल्लेख गर्दै उनले आफूहरु शान्तिको दूत बनेर आवश्यक भूमिका निर्वाह गर्न तयार भएको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप