बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
काठमाडौं । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौताअनुसार पहिलो खेपको रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल मध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।
मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मल मध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।
कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।
गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।
पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बङ्गलादेशसँग प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौताअनुसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।
जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो ।
तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महिनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।
कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।
पर्याप्त मौज्दात
धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ । कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ ।
कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ । चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्री वितरण शुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने