७६ वर्षको उमेरमा रेडपाण्डाको सिकार, पाप काट्न पूजा !
काठमाडौं । रेडपाण्डाको सिकार गर्ने र अवैध तरिकाले बेच्ने एउटा समूह पत्ता लगाउन प्रहरी सफल भएको छ । भक्तपुरको कौशलटारबाट ‘अप्रेसन’ सुरु गरेको चार दिनमा प्रहरीले उक्त सफलता हात पारेको हो ।
भक्तपुरको कौशलटारबाट चैत ६ मा सोलुखुम्बु घर भएका बाबुराम विक र दाङको तुल्सीपुरका पूर्ण डाँगी पक्राउ परे । उनीहरु प्रतिबन्धित वन्यजन्तु रेडपाण्डा लिएर हिँडेको सुराक प्रहरीले पाएको थियो ।
महानगरीय प्रहरी वृत्त जगातेबाट खटिएको टोलीले उनीहरुको साथबाट एउटा रेडपाण्डाको छाला बरामद ग¥यो । कौशलटारबाट पक्राउ परेका दुईजनाको बयानका आधारमा बौद्धबाट सोलुखुम्बुका २८ वर्षीय पवन विक पक्राउ परे ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापा भन्छिन्, ‘पवनलाई पक्राउ गरेपछि रेडपाण्डाको मुख्य कारोबारीसम्म पुग्न सफल भयौं ।’
पवनले नै काठमाडौंको कपनमा बस्ने बाबुराम र पूर्णलाई सो छाला दिएका हुन् । उनीहरु महँगो मूल्य तिर्न तयार ग्राहकलाई भेट्न कौशलटार पुगेका थिए ।
७६ वर्षे सिकारी
प्रहरीलाई पवनले आफूलाई रेडपाण्डा पठाउने मुख्य मान्छे सोलुखुम्बुमा रहेको जानकारीमात्र होइन, ती मुख्य मान्छेसँग अनुसन्धान अधिकृतकै सामु फोनमा कुरा गरे ।
मुख्य मान्छे थिए, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ घर भएका जगत बहादुर राई । उमेर ७६ पुगेका जगतले काठमाडौं आउँदा पवनलाई ९ वटा रेडपाण्डाको छालाको फोटो देखाएका थिए भने एक थान छाला छाडेर गए ।
पवनसँग प्रहरीले कुरा गराउँदा जगतले भने, ‘२० ओटा माल (पाण्डा) तयार छ, काठमाडौं आउँदिन, ग्राहकलाई सोलुखुम्बु नै लिएर आउनू ।’
अनि, प्रहरीको अर्को टीम सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रेडपाण्डा सिकारीलाई खोज्ने अप्रेशनमा जुट्यो । ‘सोलुखुम्बुका डिएसपीसँग कुरा गरेर त्यहाँ अप्रेशन चलाउन भन्यौं,’ भक्तपुरकी एसपी थापा भन्छिन्, ‘त्यहाँ लुकाएर राखेको ७ वटा पाण्डाका छाला भेटियो ।’
प्रहरी निरीक्षक मन्दिप चौहान नेतृत्वको टोलीले महाकुलुङ गाउँपालिका–२ का जगत बहादुर राई, वडा नम्बर–३ का मित्रधन राई र कविरशेखर राईलाई पक्राउ ग-यो भने ७ वटा रेडपाण्डाको छाला बरामद भयो ।
जगत राई पाण्डाको सिकार गर्ने मुख्य मान्छे हुन् । जगतको योजना अनुसार मित्रधनले मकालु वरुण राष्ट्रिय निकुञ्जमा पासो थाप्ने गरेका थिए । ‘उनीहरुले गोठ छेउमा राति पासो थाप्ने गरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी कवित कटुवालले रातोपाटीसँग भने, ‘पासोमा परेपछि समातेर मार्ने गरेको थाहा भएको छ ।’
मित्रधन र कबिरशेखर उमेरले ५० कटेका छन् । पाण्डा मारेपछि नङ्ग्रा र दाँतसहितको छाला निकालेर उनीहरुले एउटा पाण्डाको छाला ५० देखि ६० हजार रुपैयाँमा बेच्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

पाप काट्न पूजा
पाण्डा सिकार गर्नेहरु ‘पाप नलागोस्’ भनेर पूजा गर्थे । किराँत एवं बुद्ध धर्म मान्ने उनीहरु रातभर पाण्डाको सिकार गर्थे अनि पाप काट्न भन्दै दिउँसो पूजा गर्ने गरेको प्रहरीले जनाएको छ ।
‘पाप नलागोस्, हाम्रो मिसन सफल होस् भनेर पूजा गर्दा रहेछन्,’ डिएसपी कटुवाल भन्छन्, ‘रेडपाण्डा सिकार गर्ने र ब्यापार गर्ने कामचाहिँ उनीहरु रातिमात्रै गर्ने रहेछन् ।’
पाण्डाको छाला बेच्नुअघि समास्या नआओस् भनेर उनीहरुले बुद्धको प्रार्थना गर्ने गरेको प्रहरीलाई बताएका छन् ।
सोलुखुम्बुमा ५० देखि ६० हजार रुपैयाँमा बिक्री हुने रेडपाण्डाको छाला काठमाडौंमा ७ लाखसम्ममा उनीहरुले बेच्ने गरेको बताइएको छ । चैत ९ सम्ममा ८ थान छाला र ६ जनालाई पासोसहित पक्राउ गरेपछि प्रहरीको सो अप्रेशन सकिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखि १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ बर्षसम्म कैद हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण