बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट आएका नेपालीको चिन्ता– अब कसरी गुजारा चलाउने होला ?

शुक्रबार, १७ वैशाख २०७८, १२ : १९
शुक्रबार, १७ वैशाख २०७८

कैलाली । डोटी आदर्श गाउँपालिका–१ बस्ने वर्ष ४२ का लोकबहादुर खड्का कोरोना महामारीका कारण बेरोजगार भएका छन् ।

भारतको राजस्थानमा चौकीदारी गर्दै आएका खड्का त्यहाँ कोरोना संक्रमण तीव्र भएसँगै बेरोजगार भएका हुन् । कोरोना संक्रमण दर बढेको भन्दै त्यहाँको सरकारले लकडाउन गर्दा रोजगारी गुमेर नेपाल आउनुपरेको उनले बताए ।

‘बजारको चौकीदारी गर्थेँ, मासिक १२ हजार भारु कमाइ हुन्थ्यो,’ उनले भने, ‘मेरै कमाइले ५ जनाको परिवार पालिन्थ्यो, तर अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्न थालेको छ ।’

रोजगारीका लागि भारत जानु बाध्यता

खड्काका अनुसार बाध्यताका कारण रोजगारीका लागि भारतमा जानु परेको हो । ‘छोरा र छोरीको पढाइ खर्चमात्र मासिक १० हजार रुपैयाँ लाग्छ,’ उनले भने, ‘आफूले यसरी चौकीदारी गरेरै भए पनि छोराछोरीका लागि पढाइ खर्च जुटाएको छु, खानका लागि घरको खेतबारीले बल्लतल्ल पुग्छ ।’

उनी अघिल्लो वर्ष पनि भारतमा लकडाउन हुँदा घर फर्किएका थिए । त्यतिबेला नै उनी फेरि भारत जानु नपरोस् भन्दाभन्दै केही उपाय नलागेपछि भारततर्फ नै लागेका थिए ।

‘गत वर्ष भारतमा लकडाउन भएपछि जेठ १० गते नेपाल आएँ,’ त्यो बेलाको दुःख सम्झँदै उनले भने, ‘२८ दिनसम्म त क्वारेन्टिनमा बसेँ, लगत्तै भारतमा कारोना संक्रमण कम हुँदै गयो, यता आम्दानीको बाटो केही नभएपछि फेरि भारततिरै लागियो ।’

अहिले फेरि कोरोना संक्रमण बढेकोले नेपाल आउनु परेको उनले बताए । ‘आफुसँग सीप छैन, भारतमा जसोतसो गरी गुजारा चलाइयो, नेपालमा काम गर्न सकिन्छ या सकिन्न थाहा छैन,’ उनले भने ।

नेपालमा केही गर्नका लागि आफूसँग सिप नभएको तर भारतमा चौकीदारी गरेकै भरमा २० हजार आठसय नेपाली रुपैयाँ कमाइ हुने उनको भनाइ छ । ‘त्यसमा १५ हजार रुपैयाँ जोगाएर घर पठाइन्थ्यो,’ उनले भने, ‘बर्सेनि आउनजान मात्र खर्च र समय बर्बाद हुन थाल्यो, यतै दुःखसुख केही गरेर अल्झिन पाए भारत जानुपर्ने थिएन ।’

डोटीको दिपायल सिलगढी नगरपालिका–८ का २८ वर्षीय चर्क साउदको दुखेसो पनि उस्तै छ । भारतको पञ्जाबस्थित एक होटलमा उनले काम गरेको डेढ वर्ष भयो ।

‘कुकको काम गर्थेँ, तलब १५ हजार भारु थियो,’ उनले भने, ‘खानलाई समस्या थिएन, ७ जनाको परिवार धान्नका लागि तलबले पुग्थ्यो ।’

कोरोना संक्रमणले भारतमा लकडाउन भएपछि होटल पनि बन्द भएको उनले सुनाए ।

‘यस्तो अवस्थामा बसेर केही फाइदा देखिएन,’ उनले भने, ‘जसोतसो नेपाल आइयो, कोरोना संक्रमण दर घट्न थालेपछि फेरि भारततिरै जानुपर्ला ।’

भारत नगए घरखर्च धान्नै समस्या

साउदका अनुसार भारतमा रोजगारीका लागि नभए घरखर्च चलाउनै समस्या पर्छ । ‘उता (भारतमा) खाएरै १५ हजार भारु तलब पाइन्छ,’ उनले भने, ‘जोगिएन भन्दा पनि महिनामा १० हजार भारु जोगाउन सकिन्छ । त्यति रकमले नेपालमा राम्रोसँग घरखर्च चल्छ ।’

तर नेपालमा त्यति पैसा कमाउन नसकिने उनले बताए । ‘यतै त्यति पैसा बच्नेगरी काम पाइयो भने त भारत किन गइन्थ्यो होला र ?’ उनले भने, ‘अहिले रोजगारी गुमेको छ, घर आउँदा पनि परिवारको लालनपालन  कसरी गर्ने भन्दै चिन्ता लागिरहेको छ ।’

भारतबाट धमाधम आउँदै

भारतमा कोरोना संक्रमण दर बढेसँगै कैलालीको त्रिनगर भन्सार नाका हुँदै आउने नेपालीको संख्या बढ्न थालेको छ ।

यो नाकाबाट सुदूरपश्चिमका मात्र नभई पूर्वतिरका नेपालीहरु पनि आउने गरेको हेल्प डेस्कका अहेव नरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार झापा, तेह्रथुम, धादिङ्ग, नवलपरासी, सर्लाही, सप्तरी, धनुषा, चितवनसम्मका नेपालीहरु यो नाका हुँदै आउने गरेका छन् ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै यो नाका हुँदै ३१ हजार २७२ नेपाली भित्रिएको हेल्प डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

तीमध्ये १४ हजार ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३३१ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ ।

पोजेटिभ देखिएका व्यक्तिमा १५ देखि ३० वर्ष उमेर समूहका बढी छन् । पोजेटिभ आएका ब्यक्तिहरुलाई एम्बुलेन्समार्फत  धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा पठाउने गरिएको उनले बताए ।

नेगेटिभ देखिएकाहरुलाई भने सुदूरपश्चिम बस व्यवसायीले सम्बन्धित पालिकामा पठाउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

पोजेटिभ देखिएकाको हकमा  आईसोलेसनमा बस्न चाहनेहरु आइसोलेसनमा बस्ने गरेको र त्यहाँ बस्न नचाहनेले निजी यातायातका साधन मगाएर घर जाने गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप