शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा क्षेत्रमा अलपत्रलाई आफ्नै खर्चमा उद्धार, अत्यावश्यक अक्सिजनदेखि खानामा पनि सहयोग

आइतबार, २६ वैशाख २०७८, १० : ४८
आइतबार, २६ वैशाख २०७८

कैलाली । कञ्चनपुरका ४६ वर्षीय हेमराज ओझा लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन अग्रसर भएका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीहरु लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र भएपछि उनी आफ्नै खर्चमा त्यस्ता नागरिकलाई गन्तव्यसम्म लैजान अग्रसर भएका हुन् ।

यातायातका साधन नपाएर सीमा क्षेत्रमा अलपत्र भएकालाई उनले आफ्नै खर्चमा नाकाबाट उद्धार गरी गन्तव्यसम्म पुर्‍याउने गरिरहेका छन् ।

पछिल्लो समय सुदूरपश्चिमको गड्डा चौकी, त्रिनगर भन्सार नाकाबाट हजारौंको संख्यामा नेपालीहरु भित्रिने गरेका छन् । तर लकडाउनका कारण उनीहरु सीमा क्षेत्रमै अलपत्र पर्न थालेपछि ओझाले आफ्नै खर्चमा उनीहरुलाई गन्तव्यसम्म लैजान पहल गर्दै आएका छन् ।

भारतबाट फर्किएर आएका नेपालीलाई सरल र सुलभ तरिकाले गन्तव्यसम्म लैजान आफूले पहल गरिरहेको सुनाउँदै उनले पीडामा परेका नागरिकलाई यसले थोरै भए पनि राहत पुगेको बताए ।

‘मैले आफ्नै खर्चमा उहाँहरुलाई गन्तव्यसम्म पुर्‍याउने गरेको छु,’ उनले रातोपाटीसँग भने, ‘मेरो सानो सहयोगले उहाँहरु कम से कम आफ्नो घरसम्म सुरक्षित रुपमा पुग्न पाउनु भएको छ ।’

नाकाबाट आउने हजारौं व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याएका ओझाले कोरोना संक्रमितलाई अस्पतालसम्म लैजान छुट्टै गाडीको व्यवस्था गरेका छन् । बढीजसो कञ्चनपुरको कृष्ष्णपुर नगरपालिका क्षेत्र र आसपासका व्यक्तिहरुका लागि आफूले सहयोग गर्दै आएको उनको भनाइ छ ।

कञ्चनपुर जिल्लामा कोरोना संक्रमण दर निकै उच्च रहेको र अक्सिजनको अभावमा बिरामीको अकालमै मृत्यु भईरहेको उल्लेख गर्दै उनले आफ्नो तर्फबाट हुन सक्ने सहयोग उपलब्ध गराउन सबैलाई आग्रह गरे ।

उनले अक्सिजन आवश्यक भएका व्यक्तिका लागि १९ वटा अक्सिजन सिलिन्डर आफ्नै खर्चमा उपलब्ध गराइसकेका छन् । उनी भन्छन्, ‘सहयोगी हातहरु अघि बढे संक्रमणका कारण मानिसको अकालमै ज्यान जाने थिएन ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ निवासी ओझा नेपाली काँग्रेसका महासमिति सदस्यसमेत हुन् । सरकारको मुख ताक्नुभन्दा आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गरेर मानवता प्रदर्शन गर्नु यतिबेला सबैको कर्तव्य भएको बताउँछन् ।

कृष्णपुर नगरपालिका क्षेत्रभित्रका प्रहरी बिटमा कार्यरत प्रहरीलाई सेनिटाइजर, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरेका ओझाले अस्पतालमा रहेका संक्रमित बिरामीका लागि घरबाट खाना पकाएर लैजाने र खुवाउने गरेको सुनाए ।

सबैले आफ्नो क्षेत्रमा सकेको सहयोग उपलब्ध गराउने हो भने कयौंको ज्यान जोगाउन सकिने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप