राजनीतिक निकास खोज्न जसपा नेपालको बैठक बस्दै

काठमाडौँ । सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई लागेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बसेर ओलीलाई सघाइरहेका छन् ।
एउटै पार्टी यसरी विभाजित भएका कारण राजनीतिक संक्रमण झन् लम्बिने देखिएकै बेला बुधबार जसपा नेपाल पदाधिकारीको बैठक बस्ने भएको छ । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले सुरुमा अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्ने भएका छन् । दुईजना बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ ।
अध्यक्ष भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत सर्वदलीय सरकार गठनको सुझाव अघि सारेका छन् । वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकका नेतृत्वमा सरकार गठन गर्न सुझाव दिएका उनले पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री सम्मिलित एउटा निर्देशक समिति बनाउने र एक वर्षभित्र चुनाव गराउन प्रस्ताव गरेका छन् ।
यसअघि उनले प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाका नेतृत्वमा सरकार बनाउने पहल गरेका थिए ।
जसपा नेपालका ३२ जना सांसदमध्ये ओलीको पक्ष र विपक्षमा १६–१६ जना सांसद छन् । माओवादी केन्द्र, काँग्रेस र जसपा गठबन्धनको सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले तीन दलीय गठबन्धनलाई नसघाएसम्म नयाँ सरकार बनाउने सम्भावना कम देखिन्छ ।
जसपा नेपालबाट सर्वसम्मतिले एउटै निर्णय गरेर यो राजनीतिक समस्याको निकास दिन पदाधिकारी बैठक बस्न लागेका जसपा नेपालका एकजना पदाधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’
-
केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी
-
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
-
श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ