बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

न्यायरूपी सूर्य

आइतबार, ०२ जेठ २०७८, १३ : २५
आइतबार, ०२ जेठ २०७८

 

–प्रतिमा कार्की

कुहिरो लागेको छ 
नदेखिने गरी नाङ्गो आँखाले
छेकिएको छ आकाश
र ढाकिएको छ
न्यायरूपी सूर्य !
असत्यका काला बादलहरू 
मडारिरहेका छन् मेघ गर्जनसहित 
आँखा नै तिर्मिराउने गरी
चम्किँदा बिजुली लाग्छ
अब यो सहरले कहिल्यै देख्ने छैन 
उज्यालिएको आकाश,

उकुसमुकुस र अत्यासलाग्दो 
यो धुमिल सहरमा भेटिन्छन्
अझै धमिला मानव मनहरु,
हिजो सम्मका खहरेहरू
बनेका छन् भयङ्कर बाढी 
र पसेका छन्
निर्मल मुहानमा
लाग्छ अब कहिल्यै बग्ने छैनन्
निर्जलाहरु 
तर 
के तिनीहरुलाई थाहा छ ?
सूर्य अस्ताउँछ र उदाउँछ पनि भनेर ?
त्यो बादलले सूर्यको जिन्दगी
सधैँका लागि छेक्न सक्दैन भनेर ?
त्यो बाढीले बैमानी गरेर धमिल्याएको मुहान 
कहिल्यै खहरे बनी सुक्दैन 
सत्य त सदैव एउटै रह्यो
बदलिए त केवल नजरहरु ।।
सत्य डगेको इतिहास आजसम्म छैन
सत्य न हिजो झुक्यो न आज र 
न भोलि नै झुक्नेछ 
सत्य त केवल शाश्वत थियो

बस् पर्खाइ पो थियो भोलिको
जहाँ उदाउँदै थियो न्यायरूपी सूर्य

धपक्कै बालेर आफ्नो शिरको तेज
निभाउनलाई एउटा अन्धकार इतिहास ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा