शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ठाकुर पक्षमा मन्त्रीका लागि दौडधूप, क–कसको नाम चर्चामा ?

सोमबार, १० जेठ २०७८, १९ : ५५
सोमबार, १० जेठ २०७८

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) सरकार सहभागी हुने निश्चित भएपछि अहिले सो दलमा मन्त्री बन्नका लागि दौडधूप सुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् । वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएपछि प्रतिनिधिसभा सदस्य नरहेका नेताहरुको पनि दौडधूप बाक्लिएको छ । शीर्ष नेताको घरदेखि लिएर शक्ति केन्द्रहरुमा उनीहरु धाउन सुरु गरेका हुन् ।

जसपा स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई ८ देखि १० वटा मन्त्रालय दिने बताएका छन् । त्यहीअनुसार अहिले जसपामा मन्त्री चयन गर्ने काम भइरहेको छ । तर आकांक्षी धेरै भएपछि नाम चयनमा सकस भइरहेको कार्यकारिणी समितिका एक नेताले बताए ।

​यो छोटो समयका लागि चुनावी सरकार भएका हुनाले पार्टीका शीर्ष नेताहरु नै जाने लगभग तय भइसकेको छ । तर शीर्ष नेताबाहेक अन्य वरिष्ठ नेताहरु पनि मन्त्रीका आकांक्षी देखिएका छन् । शीर्ष नेताहरुमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवको नाम चर्चामा रहेको छ भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षबाट ठाकुर पक्षमा आएका उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाज, रेणु गुरुङ र कलुदेवी विश्वकर्मामध्ये दुईजनालाई मन्त्री बनाउने लगभग तय भएको छ । सबैभन्दा बढी चर्चामा उमाशंकर अरगरिया र विमल श्रीवास्तवको रहेको छ । तर रुही नाज, रेणु गुरुङ र कलुदेवी विश्वकर्माले पनि दावी छाडेका छैनन् । एकजना महिलालाई जसरी पनि दिनुपर्छ भन्ने उनीहरुको माग रहेको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर भने आफै सरकारमा नजाने भएका छन् । यसको साटो उनले आफ्नो तर्फबाट दुईजनालाई पठाउने बताइएको छ । अध्यक्ष ठाकुरको तर्फबाट मन्त्रीको आकांक्षीमा वृशेषचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, अकवाल अहमद, अकवाल मियाँलगायतका नेता दौडमा रहेका छन् । त्यसमध्ये वृषेशचन्द्रलाल, सर्वेन्द्रनाथ शुक्ल, अकवाल अहमद प्रतिनिधिसभा सदस्य थिएनन् ।

अध्यक्ष ठाकुरको तर्फबाट मन्त्रीका आकांक्षी रहेका एक नेताले भने, ‘सर्वेन्द्रनाथ शुक्ललाई अहिले मन्त्री दिन मिल्दैन किनभने उहाँ हालै संविधान संशोधनका लागि अध्ययन गर्न मन्त्रिपरिषद्बाट गठन गरिएको विज्ञ समूहमा रहनु भएको छ । उनका अनुसार ठाकुरका सम्धी उमाकान्त झालाई पनि सेटल गर्नुपर्ने बारेमा छलफल भइरहेको छ ।

त्यस्तै, वृशेषचन्द्र लाल पनि यसअघि राष्ट्रियसभाका सदस्य थिए । उनलाई राष्ट्रियसभामा नदोहोर्याइएकोमा रुष्ट छन् । अध्यक्ष ठाकुरले उनलाई पनि मन्त्री बनाउन सक्ने सम्भावना छ । तर राष्ट्रियसभाका सदस्य भइसकेका व्यक्तिलाई मन्त्री बनाउन नहुने आवाज पनि पार्टीमा उठिरहेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षबाट आएका महिला नेतृहरुमध्ये चन्दा चौधरीको नाम पनि चर्चामा छन् । समावेशीका हिसाबले मुस्लिम समुदायबाट नाम दिन परे ठाकुर पक्षका अकवाल अहमद र अकवाल मियाँ रहेका छन् । अहमद भने प्रतिनिधिसभा सदस्य छैनन् । मियाँले भने बाराबाट चुनाव जितेका हुन् । भोलिका दिनमा चुनाव जित्ने व्यक्ति पनि चाहिने हुनाले उनको नाम चर्चामा छ । अहमद दुईपटक समानुपातिक संविधानसभा सदस्य भएपनि हालसम्म चुनाव जितेका छैनन् ।

यता, राजेन्द्र महतो पक्षका नेताहरु पनि मन्त्रीको दौडमा छन् । लक्ष्मणलाल कर्ण, प्रमोद साह, अमृता अग्रहरी, चन्द्रकान्त चौधरीलगायत मन्त्रीका आकांक्षी रहेका छन् । तर, वरिष्ठ नेता महतो आफै सरकार जाने भएपछि अरुले अवसर पाउने सम्भावना कम रहेको छ ।

अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्य गोविन्द चौधरी भन्छन्, ‘सरकारमा जाने निश्चित भएपछि नेताहरु मन्त्रीको आकांक्षी हुनु कुनै ठूलो कुरा होइन । यो समान्य कुरा हो । तर जसले डिजर्भ गर्छ, उनीहरुलाई पठाउनु पर्छ । सबैभन्दा महत्त्वपूर्ण विषय भनेको प्रधानमन्त्री केपी शर्मा ओलीजीसँग कसको कुरा मिल्छ, ओलीजीको व्यवहारसँग जो परिचित छन्, त्यस्ता व्यक्ति नै मन्त्रीमा जाँदा राम्रो हुन्छ । नत्र यसअघि पनि मन्त्री बनेका मधेशी नेताहरुको जस्तै उनीहरुको पनि हविगत हुन्छ ।

उनले आफू गाउँमा रहेको र मन्त्रीको दौडमा नरहेको स्पष्ट पारे । जबजब मधेशवादी दल सरकारमा गएको छ, तब-तब ऊ मधेशमा कमजोर भएको छ । त्यो कुरालाई पनि ख्याल गरेर सरकारमा सहभागी हुनुपर्छ, उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप