शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जापानको टोकियो र ओसाकामा खुले खोप केन्द्र

सोमबार, १० जेठ २०७८, २३ : ३७
सोमबार, १० जेठ २०७८

टोकियो । जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो । टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म यी खोप केन्द्रहरु सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । 

सेनाका चिकित्सक एवं नर्सहरुले हालैमात्र स्वीकृत गरिएको मोडर्ना कम्पनीका खोप लगाउन थालेका छन् । संयुक्तराज्य अमेरिकामा विकास गरिएको मोडर्नाको खोपलाई जापानमा गत शुक्रबार मात्र औपचारिक अनुमति दिइएको थियो ।

हालसम्म जापानले फाइजर कम्पनीले विकास गरेको खोपलाई मात्र अनुमति दिएको थियो । तर शुक्रबार अस्ट्राजेनिका खोपलाई पनि जापानले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । यद्यपी जापानले तत्कालै अस्ट्राजेनिकाको खोप लगाउने छैन । 

सरकारले दुई वटा खोप केन्द्रको सञ्चालनबाट आगामी जुलाईको अन्त्यसम्ममा ६५ वा त्योभन्दा बढी उमेरका करिब तीन करोड ६० लाखले खोप दिनेछ ।  खोप केन्द्रमा आइपुगेकी एक ६६ वर्षीया ज्येष्ठ नागरिकले बिहान ७.३० बजे अघि नै ३० वा ४० जना ज्येष्ठ नागरिक खोप लगाउन आइपुगेको जानकारी दिए ।

जापानको मन्त्रिपरिषदका सचिव काट्सुनोबु काटोले पत्रकारहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो बढीभन्दा बढी व्यक्तिलाई खोप लगाउन सरकार क्रियाशील हुने जानकारी दिए । जापानले आफ्ना करिब तीन करोड ६० लाख ज्येष्ठ नागरिकलाई अप्रिलको मध्यसम्ममा खोप लगाइसक्ने योजना अघि सारेको थियो । फेब्रुअरीमा जापानले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिन थालेको थियो ।

विश्वका अति सम्पन्न मुलुक मध्येको जापानमा खोप अभियान अति सुस्त छ । जापानको जनसंख्या करिब १२ करोड ६० लाख छ तर हालसम्म करिब ४ प्रतिशतले मात्र खोप लगाएका छन् । यसैबीच, कतिपय नगरपालिकाहरुले जुलाई भित्रै सबै ज्येष्ठ नागरिकलाई खोप दिने कार्य सम्पन्न गर्न कठिन हुने बताउन थालेका छन् । खासगरी स्वास्थ्यकर्मीको अभावका कारण खोप अभियान प्रभावित हुनसक्ने उनीहरुको भनाई छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप