शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कतै बेड पाउनै मुस्किल, कतै जनशक्ति अभावमा थन्किरहेका छन् भेन्टिलेटर

मङ्गलबार, ११ जेठ २०७८, १४ : ४४
मङ्गलबार, ११ जेठ २०७८

प्रदेश १ सरकारले गत वर्ष पूर्वी पहाडका पाँचवटा जिल्ला अस्पताललाई भेन्टिलेटर खरिदका लागि बजेट पठायो । प्रदेश सरकारबाट निकासा भएको बजेटबाट पाँचथर जिल्ला अस्पतालले ४ वटा, धनकुटा जिल्ला अस्पतालले ४ वटा, उदयपुर जिल्ला अस्पतालले २ वटा र इलाम अस्पतालले २ वटा भेन्टिलेटर खरिद गरे । तर ती भेन्टिलेटर अहिले प्रयोगविहीन भएर अस्पतालमै थन्किएका छन् ।

कोरोना महामारीका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एकातिर गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टीलेटरसहितका शय्याको अभाव छ भने अर्कोतिर जनशक्तिको अभावमा कतिपय भेन्टिलेटर विभिन्न अस्पतालमा त्यसै थन्किएर बसेका छन् । कतिपयमा अस्पतालमा भने भेन्टिलेटर सञ्चालनका लागि उपयुक्त भवनको पनि अभाव देखिएको छ ।

कोरोना महामारीकै बीच प्रदेश सरकारले पठाएको बजेटबाट झापाको मेची अस्पतालले ४ वटा भेन्टिलेटर खरिद गरेर सञ्चालनमा ल्याए पनि अन्य कतिपय अस्पतालले अझै भेन्टिलेटर सञ्चालन गर्न सकेका छैनन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ९ महिनाअघि जिल्ला अस्पताल धनकुटा र पाँचथरका लागि २/२ करोड, जिल्ला अस्पताल उदयपुर र इलामका लागि १÷१ करोड रुपैयाँ बजेट निकासा गरेको थियो । सोही रकमको सीमाभित्र रहेर ती अस्पतालले भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गरेका छन् । तर विशेषज्ञ चिकित्सक, एमडी ऐनेस्थेसिया, स्टाफ नर्स लगायतको जनशक्ति उपलब्ध नहुँदा ती सामग्री प्रयोगविहीन भएका हुन् ।

मेची र कोशी र सगरमाथा करिडोरमा रहेका यी अस्पतालले अहिले आइसोलेसन पनि सञ्चालन गरिरहेका छन् । तर भेन्टिलेटर र आइसीयु सेवा सञ्चालन नहुँदा गम्भीर स्वास्थ्य समस्या भएका संक्रमितलाई रेफर गरेर तराईका ठुला कोभिड अस्पतालमा पठाउनुपर्ने बाध्यता छ ।

कोरोना महामारीमा संक्रमितहरु भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेको बेला सरकारले करोडौँ खर्चेर ती अस्पतालका लागि किनेका भेन्टिलेटर सञ्चालन गर्न सकेमात्र पनि धेरै मानिसको ज्यान बचाउन मद्दत पुग्ने सम्बन्धित अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

उदयपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष खड्ग परियारले प्रदेश सरकारले पठाएको १ करोड रूपैयाँबाट अस्पतालका लागि २ वटा भेन्टिलेटर खरिद गरी ५ वटा आइसीयु बेड निर्माण गरिएको बताए । तर भेन्टिलेटर र आइसीयु बेड सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा बिरामीलाई सेवा दिन नसकिएको उनको भनाइ छ ।

‘आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन पटक–पटक प्रदेश सरकारलाई भनेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ हुनसकेको छैन । सामग्री खरिद भए पनि जनशक्ति अभावमा न जनताले सेवा पाए, न त बजेटकै सदुपयोग भयो ।’

उनका अनुसार आइसीयु र भेन्टिलेटर सञ्चालनका एनेस्थेसिया र पारामेडिक्स डाक्टरसहित कम्तीमा पनि पाँचजनाको टीम आवश्यक हुन्छ ।

यता धनकुटा अस्पतालले भवन अभावमा भेन्टिलेटर र आइसीयु अहिलेसम्म ‘सेटअप’ गर्न सकेको छैन । आइसीयु र भेन्टिलेटर सेटअप गरेको खण्डमा पनि उक्त अस्पतालमा तिनलाई सञ्चालन गर्ने जनशक्तिको अभावसमेत छ ।

धनकुटा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष टंक चुवानले मेसिन खरिद गरेको लामो समय भए पनि भवन अभावले आइसीयु र भेन्टिलेटर सञ्चालन हुन नसकेको बताए । उनका अनुसार अस्पताल भवन साँघुरो भएकाले स्वास्थ्य कार्यालयमा भेन्टिलेटर राख्ने तयारी भइरहेको छ ।

महिला विकास कार्यालयको नवनिर्मित भवनमा स्वास्थ्य कार्यालय सारिने र खाली हुने स्वास्थ्य कार्यालयको भवनमा भेन्टिलेटर सेटअप गर्ने तयारी भइरहेको उनले बताए  ।

प्रदेश सरकारले उक्त भवनमा स्वास्थ्य कार्यालय सार्न स्वीकृति दिइसकेको पनि बजेट विनियोजन नगरिदिएकोले ढिलाइ भएको चुवानको भनाइ छ । ‘तत्काल भेन्टिलेटर र आइसीयु कक्ष सञ्चालन गर्न हामी आतुर छौं,’ उनले भने, ‘नया“ भवनमा सार्नुपूर्व आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने भएकोले ढिलाइ भयो ।’

कोशी करिडोरमा पर्ने धनकुटा अस्पतालमा धनकुटा, तेह्रथुम, भोजपुर लगायतका जिल्लाबाट ठुलो संख्यामा बिरामी आउने गरेका छन् । अस्पतालले कोभिडका लागि आइसोलेसन समेत सञ्चालन गरेको छ । तर आइसीयु र भेन्टिलेटरको अभावमा गम्भीर प्रकृतिका संक्रमितलाई धरान तथा विराटनगर पठाउने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले बताए ।

मेची करिडोरमा रहेको जिल्ला अस्पताल इलाममा पनि जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । दुईवटा भेन्टिलेटर र पाँचवटा आइसीयु सञ्चालन गर्न सकिने अवस्थामा अस्पताल रहे पनि जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको हो ।

इलाम अस्पताल सञ्चालक समितिका अध्यक्ष गणेशप्रसाद बरालले दुईमहिना अघि आइसीयु र भेन्टिलेटर जडान गरी सञ्चालन गर्न सकिने हालतमा राखेको भए पनि जनशक्ति अभावका कारण सेवा प्रवाह हुन नसकेको बताए । प्रदेश सरकारसँग आवश्यक जनशक्ति माग गरिए पनि हालसम्म पदपूर्ति नभएको उनको भनाइ छ ।

जनशक्ति उपलब्ध भएको २४ घण्टाभित्र आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न सक्ने अवस्थामा आफूहरु रहेको उनले बताए ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक डा दिपक सिग्देलले कोरोना संक्रमितको संख्या बढेसँगै गम्भीर प्रकृतिका बिरामी पनि धेरै देखिन थालेको भन्दै उनीहरुको उपचारका लागि आइसीयु र भेन्टिलेटरको विशेष आवश्यकता बढेको बताए । उनले कोरोनाभाइरसले फोक्सोमा असर गरी श्वासप्रश्वासमा कठिन पार्ने भएकाले गम्भीर समस्या भएका बिरामीलाई आइसीयु आवश्यक हुने प्रस्ट पारे ।

पहाडी इलाकामा रहेका अस्पतालमा थोरैमात्र भए पनि आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न सकेमा बिरामीको मृत्युदरमा कमी आउन सक्ने उनको भनाइ छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले प्रदेशका पहाडी जिल्ला अस्पतालमा बिरामीको सघन उपचारका लागि आवश्यक आइसीयु र भेन्टिलेटरको व्यवस्थापनतर्फ सरकार गम्भीर रहेको दावी गरे । भेन्टिलेटर र आइसीयुका लागि मेसिन खरिद गरिएका अस्पतालबाट आवश्यक जनशक्ति माग भएको उल्लेख गर्दै उनले केही दिनमै ती अस्पतालमा स्वास्थ्यकर्मीको टीम परिचालन हुने जानकारी दिए ।

‘भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि ठुलो टीमसहितको जनशक्ति तत्काललाई व्यवस्थापन गर्न गाह्रो छ,’ सचिव कार्कीले भने, ‘सानो टीमको जनशक्ति परिचालन गरेर भए पनि ती अस्पतालमा सघन उपचारका लागि आइसीयु र भेन्टिलेटर सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

उनले यही महिनाभित्र ती अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरेर आइसीयु र भेन्टिलेटरसहितको सेवा सुरु गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप