मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सात वर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन

बुधबार, १२ जेठ २०७८, १४ : २७
बुधबार, १२ जेठ २०७८

नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले  हैरानी एवम् सास्ती झेल्नु परेको छ ।  सडक विभागले धादिङ तर्फका फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडकको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका (तारुका) का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् । 

सो पुल धादिङको गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अवरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो । ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी  सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मिटर छ ।  

निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन  नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत  गरेका छन् । पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका,  गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियाकर्मीले माग गरेका छन् । एप्रोज सडकको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र  छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।   

कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र  गल्छी गाउँपालिकालाई एप्रोज सडकको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए । उनले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो  एप्रोज सडकको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिए ।
 
पुल बन्न सात वर्ष लाग्यो 

चार वर्षमा बन्नुपर्ने पुल सात वर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो ।  १९२ मिटर लामो पुलको निर्माण गर्न करिव सात वर्ष लागेको थियो ।  सो पुल सञ्चालनमा आएमा गल्छीदेखि  केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ  । साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ  । एक अभियानकर्मी भन्छन् ‘पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गर्यौं । अनुनय विनय गर्यौं ।  पक्की पुल भनेर के गर्नु ? उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गुमाउनु परेको छ ।” 

सो ठेकेदार कम्पनीले नुवाकोट तर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिए । उनले भने, “जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ ।  समाधान निस्कन्छ । अगामी दिनमा केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको स्तरोन्नतिमा थप बजेट निकासा गर्ने योजना छ । ”

फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको ट्र्याक खुलाउन सुरुआतका समयमा कार्डबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो । यस कार्यमा बोर्डका तत्कालीन इञ्जिनियर मुरली गोपाल रञ्जितकार र नीलकण्ठ –५ का समाजसेवी एवम् राजनीतिज्ञ रामहरि शर्मा नेपालको अथक योगदान  छ । उनले भने, “अब सडक कालोपत्रे गर्न  सबै जुट्नुपर्छ । यसका लागि सहयोग र सहकार्य आवश्यक छ  ।”  गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आएता पनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप