सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : संघीय सरकारको बजेटबाट निजी क्षेत्र आशावादी

सोमबार, १७ जेठ २०७८, १३ : २३
सोमबार, १७ जेठ २०७८

 संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९का कारण थला परेको उद्योग धन्दा, पर्यटन क्षेत्र र समग्र आर्थिक क्षेत्रको केही माग सम्बोधन गर्नेगरी विभिन्न कार्यक्रम ल्याएपछि निजी क्षेत्र सकारात्मक देखिएको छ । 
आगामी आर्थिक बर्षको बजेटमा स्वास्थ्य, पर्यटनसँगै उद्योगी तथा ब्यवसायीलाई विभिन्न छुट र प्राथमिकता दिएको भन्दै यहाँका व्यवसायीले बजेटबाट आशा जागेको र यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् । 

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सरकारले ल्याएको बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिए ।  उनले कोभिड–१९ को महामारीले उद्योगधन्दा र व्यवसायलाई प्रभाव पारेको अवस्थामा सरकारले निजी क्षेत्रका विभिन्न समस्यालाई बजेटले समेटेको बताए । ‘निजी क्षेत्रको अपेक्षा अनुसार बजेट आएको छ, बजेटले समग्र कोभिडका कारण थला परेका उद्योगधन्दासँगै व्यवसायीका केही माग सम्वोधन गरेको छ’ उनले भने,  ‘सरकरले ल्याएको बजेट जति लोकप्रिय छ । त्यतिनै कार्यान्वयनमा चुनौती देखिन्छ । बजेट तत्कालै कार्यान्वयनमा आउने गरि सरकार अगाडि बढोस् ।’

अध्यक्ष कोइरालाले कोरोनाको महामारीको बेलामा सरकारले स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा राखेको बताउँदै कृषि क्षेत्रलाई पनि आत्मनिर्भर बनाउने गरी बजेट आएको दावी गरे । उनले विषम अवस्थामा धकेलिएको निजी क्षेत्रलाई पनि बजेटले केही मात्रामा भएपनि सम्बोधन गर्ने प्रयास गरेको बताए ।

अध्यक्ष कोइरालाले उद्योगी ब्यवसायीलाई सरकारले पुनर्कर्जा, विद्युत् महसुल छुट लगायतका विषय समेटेको बताए । उनले बजेट राम्रो भएपनि कार्यान्वयन पक्ष कसरी अगाडी बढ्छ भन्नेमा यसको सफलता र असफलता निर्भर रहने बताए । ‘मुख्य कुरा बजेटको कार्यान्वयनमा सरकार कसरी अघि बढ्छ भन्ने हो,यो हेर्न बाँकी नै छ’ उनले भने, ‘विगतमा पनि राम्रा बजेट आएकै थिए । विगतमा सरकारले विकास बजेट ३५÷४० प्रतिशत पनि खर्च गर्न नसकेको छैन, आगामी दिनमा बजेटलाई उद्देश्य अनुरुप कार्यान्वयन गरियो भने यसका राम्रा पक्ष छन् ।’

निजी क्षेत्रले सरकारलाई दिएका विभिन्न सल्लाह सुझाबलाई बजेटमा समेटिएकाले निजी क्षेत्रले सकारात्मक ढंगले हेरेको अध्यक्ष कोइरालाले बताए । उनले उत्पादन र रोजगारी समेत श्रृजना गर्ने ठुला उद्योगलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सवै क्षेत्र कोभिडले थला पारेको अवस्थामा सरकारले सवै क्षेत्रलाई समेटेर अहिलेको बजेट ल्याएको बताए । उनले अहिलेको जटिल अवस्थामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले थोरै भएपनि उद्योगी तथा ब्यवसायीलाई राहत दिने दावी गरे ।
अध्यक्ष भट्टराइले पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसाय बचाउनका लागि सरकारले पुनरुत्थानका कार्यक्रम ल्याएकाले यसले ब्यवसायीलाई केही राहत दिने बताए । 
उनले पर्यटनलाई सरकारले उद्योग सरह मान्यता दिएर बजेटमा समेटेको बताए । अध्यक्ष भट्टराईले सरकारले पर्यटन व्यवसायीका लागि ल्याएको पुनरुत्थानका कार्यक्रममार्फत पर्यटन उद्योगमा सम्बद्ध ब्यवसायीलाई कम्तिमा ४/५ प्रतिशत ब्याजदरमा ऋणको ब्यवस्था गर्न पर्ने बताए । उनले व्यवसायीले बैक तथा वित्तिय संस्था मार्फत लिएको ऋणको किस्ता कम्तिमा २ बर्षका लागि समय थप गरिदिन आग्रह गरे ।

उनले पर्यटन व्यवसायसँग सम्वन्धित धेरै कुरालाई बजेटले समेटेको बताउदै पर्यटन क्षेत्रका मजदुरका वारेमा नीति तथा कार्यक्रममा प्रष्ट कुरा नआएकाले उनीहरुलाई व्यवसायमा बचाउनका लागि सरकारले रोजगारी र विनाब्याजमा ऋणको ब्यवस्था गर्नुपर्ने बताए । 
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीले वारम्वार उठाउँदै आएको पेड होलिडेलाई  भएको अध्यक्ष भट्टराइको भनाइ छ । ‘पर्यटन व्यवसायीले वारम्वार उठाउँदै आएको पेड होलिडेले आन्तरिक पर्यटनलाई चलायमान गराउन मदत गर्ने छ’ उनले भने, ‘यस कार्यक्रमले आन्तरिक रुपमा पनि घुमघाम गर्ने संस्कृतिको बिकास गर्नुको साथै कर्मचारी पनि फ्रेस बनाउने छ ।’

उनले सरकारले बजेटभाषण मार्फत पर्यटकका लागि १ महिना भिसा फ्री व्यवस्था, धार्मिक पर्यटन, साहसिक खेलकुद पर्यटन, हाई अल्टिच्युट स्पोर्टस लगायतका पर्यटनसँग सम्वन्धित महत्वपूर्ण कार्यलाई सम्बोधन गरेको बताए । 
अध्यक्ष भट्टराईले पोखरा क्षेत्रको पर्यटन विकासका लागि फेवातालदेखि बेगनास तालसम्मलाई समेटेर साइकल ट्रयाक बनाउने योजना, रुपातालको भौतिक निर्माण र निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका योजना बजेटमा समेटिनु सुखद भएको बताए ।
उनले बजेटमा फेवातालमा फुट ट्र्याक निर्माण गर्न सरकारले बजेट बिनियोजन गरेकाले पहिले फेवातालको मापदण्डका तोकेर मात्र परियोजना अगाडी बढाउन उपयुक्त हुने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं केन्द्रीय सदस्य संजिव बहादुर कोइरालाले पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सकारात्मक रहेको बताए । उनले कोभिडको महामारीले सवै क्षेत्र थला परेका बेला सरकारले उद्योगी ब्यवसायी लगायत आम नागरिकले राहत महसुस गर्ने गरी बजेट ल्याएकाले यसलाई तत्कालै कार्यान्वयनमा ल्याउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप