बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ प्रदेशसभा बैठक : सरकारविरुद्ध विपक्षीको आक्रोश

सोमबार, २४ जेठ २०७८, १९ : १९
सोमबार, २४ जेठ २०७८

प्रदेश १ प्रदेशसभाको सोमबार सुरु भएको बजेट अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बजेट अधिवेशनको पहिलो दिन प्रतिपक्ष सरकारविरुद्ध खनिएपछि सत्तापक्ष पनि सरकारको बचाउ गदै प्रतिरक्षामा उत्रिएको छ । सरकारले संघीयताको मर्मअनुसार काम नगरेको, संघीय सरकारको प्रतिगामी कदमलाई साथ दिएको, कोरोना महामारी नियन्त्रणमा कुनै प्रभावकारी काम नगरेको र संसदलाई छलेर अगाडि बढेको भन्दै विपक्षी दलहरु सरकारविरुद्ध खनिएका छन् ।

नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले नै सदन बहिष्कार गर्ने जस्तो असंसदीय हर्कत प्रदेशमा देखिएको बताए । सरकारले सदनलाई लामो समय उपेक्षा गरेको भन्दै भन्दै उनले प्रदेशमा यतिधेरै समस्या आउँदा पनि सरकार सदन छलेर मनमौजी रुपमा चल्न थालेको उल्लेख गरे । प्रदेशसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भोट माग्दै गर्दा, जनतासामु गरेका प्रतिबद्धता सरकारका कारण पुरा नहुने अवस्था आएको भन्दै कोइरालाले त्यसको जवाफ सरकारले दिनुपर्ने बताए । सरकारले बजेटमा विनियोजन गरेको रकमसमेत उपलब्ध नगराएको भन्दै उनले रातो किताबमा भएका योजनाको रकम कहाँ गयो भन्ने विषयमा जवाफ दिनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्को कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली नाटकका लागि सिपालु रहेको भन्दै उनले प्रदेश सरकारले त्यस्तो नाटकको सिको गर्दा प्रधानमन्त्रीबाट कलाहरू भने सिक्न नसकेको भन्दै व्यंग्य गरे ।

संघीय सरकारको सिको गर्दै सरकारले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए । फागुन २३ को फैसलापछि सरकार बहुमतमा रहेको बेला संसद छलेर गुमनाम भएको उनको भनाइ थियो । बजेट अधिवेशन छल्ने प्रयास सरकारले गरेपनि आफूहरुको दबाबपछि अधिवेशन सुरु भएको उनले बताए ।

बैठकमा जनता समाजवादी पार्टीका सांसद जयराज यादवले सरकारका कारण आफुहरु जनप्रतिनिधि भएर जनताको बीचमा जान पनि लाज लाग्ने अवस्था भएको बताए । संघीय सरकारकै सिको गर्दै प्रदेश सरकारले अध्यादेश मोह देखाएको भन्दै उनले कोरोना महामारीबीच यो बैठक १० दिन अगाडि सुरु गर्न किन सकिएन र अध्यादेश ल्याउनुपर्यो भन्ने प्रश्न गरे ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको भन्दै सानातिना बजेटमा संघीय सरकारको आँखा लाग्नु गलत भएको बताइन् । प्रदेश सरकारले पनि जनताप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको उनको भनाइ थियो ।

सत्तारुढ एमालेको संसदीय दलका तर्फबाट सम्बोधन गरेका मुख्यमन्त्री शेरधन राईले प्रतिपक्षीले लगाएको आरोपलाई चिर्दै सरकारको बचाउनमा समय खर्चेका थिए । उनले राजनीतिक कोभिडले धेरैलाई  ‘नाङ्गै भुतुङ्गै’ पारेको भन्दै प्रतिपक्षप्रति कटाक्ष गरेका थिए ।
मुख्यमन्त्री राईले पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछिको अवस्थालाई राजनीतिक कोभिड भन्दै त्यसले निम्त्याएको अवस्थाप्रति हर्ष प्रकट पनि गरेका छन् । विपक्षी दल र एमाले भित्रकै असन्तुष्ट समूहतर्फ लक्ष्य गर्दै मुख्यमन्त्रीले राजनीतिक कोभिडले ‘उडायो सपना सबै हुरीले, मासु खान गएको मान्छे झोलमा डुबेको’ ब्यङ्ग्य गर्दै घुमाउरो तरिकाले एमाले नेता भीम आचार्यको मुख्यमन्त्री बन्ने सपना हुरीले उडाएको भन्दै कटाक्ष गरे ।
सातौं अधिवेशनमा सदनलाई सम्बोधन गर्न नपाएका मुख्यमन्त्री राईले संसद्को हिउँदे अधिवेशनमा सम्बोधन गर्नसमेत नपाउनुको कारण विपक्षीहरूको अवरोध भएको बताए । जसका कारण संसद अधिवेशन तत्कालै अन्त्य गर्नुपर्ने बाध्यताको अपजस पनि विपक्षी दलमाथि नै थोपारेका छन् । 
कोरोना महामारीमा प्रदेश सरकारले केही गर्न नसकेको भन्ने विपक्षी आरोपलाई उनले खासै प्रतिवाद गर्न सकेनन् । प्रदेशले कोरोना नियन्त्रणका लागि गरेका कामको फेहरिस्त राख्न पनि उनी चुकेका छन् । उनले कोरोनाको पहिलो लहरमा सरकारले केही काम गरेपनि दोस्रो लहरमा पर्याप्त सावधानी अपनाउन भने नसकेको स्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप