आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पहिरोबाट गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रभावित, कहाँ कति क्षति ?

बुधबार, ०२ असार २०७८, २२ : ४९
बुधबार, ०२ असार २०७८

पोखरा । तीन दिन देखि परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशमा ठूलो मात्रामा भौतिक क्षति भएको छ । बाढी पहिरोले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएका छन् । मनसुनी बर्षासंगै आएको बाढी बहिरोका कारण दर्जनौ मानिस विस्थापित भएका छन् । 

गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, गोरखा, तनहुँ, लमजुङ, म्याग्दी बागलुङ लगायतका जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । कास्कीमा परेको अविरल बर्षाले मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाइड्रो पावर बगाउँदा करोडौँको क्षति भएको छ । 

हाईड्रोपावरका लागि प्रयोग गरिएका लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट , आरएमसी प्लान्ट , हेभी जेनेरेटर लगायत पावरहाउस एरियाबाट ठूलो संख्यामा मेसिनरी सामान बाढीले बगाउँदा करिब १ अर्ब बढीको क्षति गरेको अनुमान गरिएको छ । 

त्यसैगरी कास्कीको घान्द्रुकमा माथिबाट खसेको पहिरोसँगै मादी खोलाको पानी बहाव बढ्दा ६ घरपरिवार विस्थापित भएका छन् । मादी १, होकुस्थित कपुजे खोला र नौलो खोलाको बहान बढ्दा २ भेडीगोठसहित ४ सय भेडा बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक स्यामु अर्यालले जानकारी दिए । 

उनका अनुसार बुधबार पहिरोले बागलुङ जिल्लाको बागलुङ नगरपालिका ४ मा १ घर बाढी पहिरोले बगाएको छ । त्यस्तै, गल्कोट नगरपालिका ४, चमुवामा २ घर बगाएको छ । यस्तै, बागलुङ नगरपालिका ७, पैराबारीमा १ घर भत्किँदा २ घर जोखिममा परेका छन् । चमुवामा ७ घर जोखिममा छन् । सो क्षेत्रमा ४३ घर परिवार विस्थापित हुन पुगेका छन् ।

म्याग्दी खोलामा बाढी आउँदा मालिका गाउँपालिका ६, तल्लो दरबाङका हरि सुनारको घरमा क्षति पुगेको छ । मंगला गाउँपालिका ५, अर्मन सिर्कुममा पहिरोले बेलबहादुर बुढाथोकीको कच्चीघर र सँगैको गोठ पुरिएको छ । पहिरोमा ६० वर्षीया हिमकली बुढाथोकी घाइते भएकी छन् भने ३ भैसी, २ गोरु र ५ बाख्रा पुरिएका छन् ।

मनाङ जिल्लाको नासो गाउँपालिका ३, धारापानीमा बाढीले ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ । बुधबार मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानी बाथोचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल र सीमा प्रहरी चौकीको भवन बगाएको छ ।

अविरल वर्षाले लमजुङको दोर्दी गाउँपालिका ८ मा ४ घर, क्वालोसोथर गाउँपालिका ३ मा ५ घर जोखिममा परेका छन् भने २७ जना विस्थापित भएका छन् । यस्तै, बाढीले मर्स्याङ्दी गाउँपालिका ४ मा २ रेष्टुरेन्ट, १ पसल, १ पानी फ्याक्ट्री, वन सव डिभिजन कार्यालयको भवन बगाएको छ । मर्स्याङ्दी गाउँपालिका ६, नाइचेस्थित सूपरङ्दी हाइड्रो पावरको क्याम्प, कामदारले प्रयोग गर्ने लत्ताकपडा पुरेको छ । सूपरङ्दी हाइड्रोपावरको फलामे पुल पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

गोरखाको चुमन्रुर्बी गाउँपालिका ३, सल्लेरीमा बूढी गण्डकीले ४ घर बगाएको छ । नदीमा बाढी आउँदा सो क्षेत्रमा ७ घर र नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्प जोखिममा परेको छ । त्यसैगरी पर्वतको जलजला गाउँपालिका ४, लामाखेतका ५ घरमा वर्षाका कारण क्षति पुग्दा २३ जना विस्थापित हुन पुगेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका ५, सेतीवेणी बजार डुबानमा परेको छ । त्यहाँका ८ घर पूर्णरुपमा क्षति पुगेका नायव उपरिक्षक अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप