शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले बैठकमा वामदेव जाने

शुक्रबार, १८ असार २०७८, १० : ३८
शुक्रबार, १८ असार २०७८

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । पार्टीभित्र अन्तरविरोध चलिरहँदा वामदेव भने स्वतन्त्र भूमिकामा रहेका छन् । यसअघि उनले एक विज्ञप्ति जारी गर्दै माधव नेपालले नयाँ पार्टी खोले त्यसमा चाहिँ आफू सामेल हुने बताएका थिए ।

आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । विहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । नेपाल पक्षले आग्रह गरे पनि अहिलेसम्म बैठक स्थगित हुने कुनै संकेत देखिएको छैन । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।

​वरिष्ठ नेता माधव नेपाल पक्षको अनुपस्थितिमा बसेको पहिलो बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास थालेको थियो ।

आयोजक कमिटीद्वारा नेपाल पक्षमाथि गरिएको कारबाहीलाई सर्वोच्चले अवैध भनेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी ब्युँत्याएका थिए । तर ०७५ जेठ २ को केन्द्रीय कमिटीमा नफर्किएको भन्दै माधव नेपाल पक्षले आजका बैठकमा पनि उपस्थिति नहुने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप