सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीटप्पु क्षेत्रलाई कबुलियती वन बनाउन दिने निर्णय सच्याउन मुख्यमन्त्री राईको माग

शुक्रबार, २५ असार २०७८, १४ : ४०
शुक्रबार, २५ असार २०७८

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  संघीय सरकारलाई  कोशी टप्पु क्षेत्रलाई कबुलियती वन क्षेत्र बनाउन दिने निर्णय तत्काल सच्याउन माग गरेको छन् । मुख्यमन्त्री राईले संघीय सरकारको  कोशी टप्पु क्षेत्रलाई कबुलियती वन क्षेत्र बनाउन दिने निर्णय बेठीक भएकाले निर्णय सच्याउन माग गरेका हुन् ।

प्रदेशसभाको शुक्रबारको २१ औ बैठकमा प्रदेश सदस्यहरूले उठाएका बिषयमा जवाफ दिने क्रममा मुख्यमन्त्री राईले संघीय सरकारले प्रदेश सरकार र  स्थानीय सरकारसँगको समन्वय बेगर गरिने यस्ता निर्णयले समस्या उत्पन्न गर्ने बताए । उनले दीर्घकालीन असर पर्ने खालका निर्णय गर्दा प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्न पनि  केन्द्र सरकारलाई आग्रह गरे।

कोशी टप्पु क्षेत्र कबुलियती वन क्षेत्र बनाउ दिने निर्णयमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको पनि मुख्यमन्त्री राईले प्रष्ट परेका छन् । संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बेलका –३ पौरखी सामुदायिक वनक्षेत्रसँग जोडिएको १७६ हेक्टर सप्तकोसी नदी उकास जमिनमध्ये बराह हर्बल एण्ड एग्रो प्रालिलाई ५१ हेक्टर र सेफ वे टेक्नोलोजी ललितपुरलाई १२५ हेक्टर लिजमा दिने  निर्णय गरेको थियो । 

त्यसैगरी मुख्यमन्त्री राईले काठमाडौंमा रहेको प्रदेश १ सरकारको सम्पर्क कार्यालय मुख्यमन्त्रीको निवासको प्रयोजनका लागि नभएको प्रष्टिकरण दिएका छन् । काठमाडौंमा प्रदेश सरकारको सम्पर्क कार्यालय रहने कुरा सामान्य रहेको पनि उनले दाबी गरे ।

उनले  मुख्यमन्त्रीका लागि भन्दा पनि सरकार र अन्य पद प्रतिष्ठाका विशिष्टहरुसँगको भेटघाट र छलफलका लागि सम्पर्क कार्यालय खोलिएको प्रष्ट पारे । मुख्यमन्त्री राईले प्रदेश सरकारको सम्पर्क कार्यालय १८ महिना अघि स्थापना भएपनि त्यो कार्यालय अलिक महङ्गो परेको आफुले पनि  महसुस गरेकाले अब त्यसलाई के गर्ने भन्ने बारेमा चाँडै निर्णय लिने बताए ।

मुख्यमन्त्री राईले यो विषयलाई मिडियाले उछाल्ने काम गरेको आरोप समेत लगाए । सम्पर्क कार्यालय खोलिएको प्रष्टिकरण दिँदै मुख्यमन्त्री राईले प्रदेश सभासदहरुप्रति इंगित गर्दै भने– ‘भोलि तपाईहरु पनि यो पदमा पुग्नुहोला । त्यो बेला तपाईंहरुका लागि पनि सम्पर्क कार्यालय आवश्यक पर्छ । यसलाई अनावश्यक हो हल्ला गर्न म जरुरी देख्दिन ।’ उनले धनकुटामा सम्पर्क कार्यालय खोलिए पनि विभिन्न परिस्थितिले  त्यसको उपयोगिता गर्न भने नसकेको स्वीकार गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप