आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पटक–पटक संसद विघटन गर्नेलाई अदालतले सजाय दिनुपर्छ : इस्तियाक राई

प्रतिगमनको कुनै पनि अवशेष बाँकी राख्नु हुन्न्– प्रदीप यादव
सोमबार, २८ असार २०७८, १५ : १७
सोमबार, २८ असार २०७८

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य इस्तियाक राईले सनकको भरमा संसद विघटन गर्ने व्यक्तिलाई कसुर ठहर गरी कारवाही गर्नुपर्ने बताएका छन् । उनले भने, ‘यो खालका व्यक्तिलाई कारवाहीको दायरमा ल्याउनुपर्छ ताकि पुनः संविधानको विरुद्ध कार्य गर्ने गल्ती नगरोस् ।’

उनले रातोपाटीसँगको कुराकानीका क्रममा भने, ‘पहिलोपटक संविधान विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गर्यो, दोस्रोपटक पनि त्यही संसदलाई विघटन गरे, एउटा व्यक्तिको सनकका कारण लोकतन्त्र र संविधानको अपमान भयो ।’ उनले प्रधानमन्त्री ओलीले पटक–पटक लोकतन्त्र र संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै ओली कार्य क्षमा गर्न लायक व्यक्ति नभएको बताए । त्यसैले कसुर ठहर गरी ओलीलाई कारवाही गर्नुपर्ने नेता राईको भनाई थियो ।

सर्वोच्च अदालतले कानुनी राज्यको रक्षा गरेको भन्दै नेता राईले प्रतिगमनको पराजय, अग्रगमनको विजय भएको प्रतिकृया दिए । प्रतिगमनकारी शक्तिहरूको पराजय भएको हुनाले आजको दिनलाई इतिहासमा विशेष दिनको रुपमा सम्झिने उनले बताए ।
सोही पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रधानमन्त्री अ‍ोलीले कोमामा पुर्याएको लोकतन्त्रलाई सर्वोच्च अदालतले जिवित बनाएको प्रतिकृया दिए । सर्वोच्चको यो निर्णयले जनतालाई न्यायालयप्रति झन विश्वास बढेको बताउँदै उनले न्यायपालिका स्वतन्त्र हुन्छ र देशको रक्षक हुन्छ भने कुरा प्रमाणित भएको बताए ।

देशमा लोकतन्त्र आएपनि जनताले पटक–पटक प्रतिगमनविरुद्ध लड्नु परेको स्मरण गर्दै उनले प्रतिगमनकारी शक्तिलाई जरैदेखि उखालेर फ्याल्न जनताले पुनः एकपटक संघर्ष गर्नुपर्ने अवस्था देखिएको उनले बताए । प्रतिगमनका कुनै पनि अवशेष बाँकी राख्न नहुने बताउँदै उनले अवशेष बाँकी रहे पुनः जनतालाई दुख दिने काम हुने प्रतिकृया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप