मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फेसबुकले ‘मानिस मारिरहेको’ बाइडेनको आरोप

शनिबार, ०२ साउन २०७८, १६ : ०४
शनिबार, ०२ साउन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपबारे गलत सूचना शेयर गर्न दिएर फेसबुकले ‘मानिस मारिरहेको’ आरोप लगाएका छन् । ‘कोभिडबारेको गलत सूचनामा, फेसबुकजस्ता प्लेटफर्मलाई तपाई के भन्न चाहनुहुन्छ ?’ ह्वाइट हाउसमा शुक्रबार बाइडेनलाई एक पत्रकारले सोधेका थिए । 

‘उनीहरुले मानिस मारिरहेका छन्’ बाइडेनले भने, ‘हाम्रोमा खोप नलगाएका मानिस माझ मात्रै महामारी छ र उनीहरुले मान्छे मारिरहेका छन्’ उनले भने । बिहीबारमात्रै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कोरोना भाइरस र खोपबारेको गलत सूचना नियन्त्रण गर्नका लागि बाइडेन प्रशासनले फेसबुकसँग छलफल गरिरहेको बताएकी थिइन् । यसपछि उनले आलोचना सहनुपरेको थियो ।

फेसबुकले शुक्रबारै विज्ञप्ति जारी गर्दै बाइडेनको आरोपको खण्डन गरेको छ । कम्पनीले मानिसको ज्यान लिने नभएर ज्यान जोगाउन काम गरिरहेको उसको दाबी छ । ‘तथ्यसंगत नरहेका आरोपहरूबाट हामी विचलित हुनेछैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘खासमा २ अर्ब मानिसले कोभिड १९ र खोप बारेको विश्वासिलो जानकारी फेसबुकमार्फत लिएका छन् । इन्टरनेटका अन्य कुनै स्थानको दाँजोमा यो धेरै हो । ३३ लाखभन्दा धेरै अमेरिकीहरुले कहाँ र कसरी खोप लगाइन्छ भनेर पत्ता लगाउनका लागि आफ्नो ‘भ्याक्सिन फाइन्डर टुल’ प्रयोग गरेका छन् । यो तथ्यले देखाउँछ कि फेसबुकले जीवन र समय बचाउन सहयोग गरिरहेको छ ।’

यसअघि अमेरिकी सर्जन जनरल विवेक मुर्थीले खोपबारे फैलाइएका गलत सूचना जनस्वास्थ्यका लागि घातक रहेको घोषणा गरेका थिए । त्यस्तै, अमेरिकी अधिकारीहरुले खोपका कारण मृत्यु र गम्भीर बिरामी हुने अवस्थालाई रोकथाम गर्न सकिने बताएका थिए । ‘गलत सूचनामा हाम्रो देशको स्वास्थ्यमा तातो र खतरनाक चुनौती पेश गरेको छ’ बिहीबार ह्वाइट हाउसमा मुर्थीले भनेका थिए, ‘हामीले गतल सूचनासँग लड्नैपर्छ । मानिसको जीवन यसमा निर्भर छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप