आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले किसान र मजदूरको हितमा काम गर्नुपर्छ : रामनारायण बिडारी

बिहीबार, ०७ साउन २०७८, १७ : १५
बिहीबार, ०७ साउन २०७८

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकारले किसान र मजदूरको हितमा काम गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले किसान र मजदुरहरुको हित र कल्याणमा काम गर्नुपर्ने बताएका हुन् । उनले विगतका सरकारले किसान तथा मजदूरलाई नेपालमा काम गर्न दिने वातावरण बनाउन नसकी विदेश पलायन गराएको भन्दै वर्तमान सरकारले त्यसलाई रोक्नुपर्ने बताए । उनले इन्साफ हुने र देशमा विकास हुने व्यवस्थाको निम्ति काम गर्न पनि अनुरोध गरे ।

उनले भने– ‘इन्साफे व्यवस्थाको निम्ति, विकासे व्यवस्थाको निम्ति, फलाउने किसान, बनाउने मजदुरहरुको हित र कल्याणको निम्ति, किसान र मजदूरको हित र कल्याण भयो भने करिब करिब ९० प्रतिशत जनताको हित हुन्छ । ती किसान, मजदूरलाई नेपालमा काम गर्न दिन नसकेर विदेश निर्यात गर्ने यस प्रकारको चलन अगाडीको सरकारले गरे । अब यो सरकारले त्यस प्रकारको कदमलाई सच्याएर इन्साफे, विकासे व्यवस्था गरौँ । यही शुभकामना छ । नत्र फेरि मुलुकले दुःख पाउँछ ।’

उनले विगतको सरकारले नेपाली नागरिकलाई रैती बनाएको पनि बताए । नेपाली नागरिकलाई नागरिकता, लालपुर्जा र सिफारिसमा अड्काएको उनले बताए । नागरिकलाई  विभिन्न सुविधा दिने भनेर झुक्याएको पनि उनले उल्लेख गरे । उनले भने– ‘विगतका जम्मै सरकारले रैती बनाउन खोज्यो । जनता बनाउन दिएन । कहिले लालपुर्जा अड्काइदिन्छ । कहिले नागरिकता अड्काइदिन्छ । कहिले सिफारिस अड्काइदिन्छ । कहिले सुविधा दिन्छु भनेर नदिएर अड्काइदिन्छ । कहिले अधिकार खोसेर जनतालाई आफ्नो वशमा राखिरहन्छ । नियन्त्रणमा राखिराख्छ ।’

आजसम्मका सरकारले भूमिहीनलाई नागरिकता नदिएर सुकुम्बासी खेती गरिरहेको पनि बिडारीले बताए ।  प्रतिनिधिसभा पुनःस्थापनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला संसारको लागि नमुना लायक भएको भन्दै यस नजिरलाई विश्वले नमूना बनाउने उनले जिकिर गरे ।  प्रतिपक्षी दल नेकपा एमालेले बाँदरे जुलुस निकालेको टिप्पणी गर्दै उनले जुलुस गरेर कोरोनाको रोपाइँ गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप