शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : एक वर्षमा ३ हजार १४१ आपराधिक घटना, तीमध्ये आत्महत्या सबैभन्दा बढी

शुक्रबार, ०८ साउन २०७८, १२ : ०२
शुक्रबार, ०८ साउन २०७८


कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १४१ वटा आपराधिक घटना भएका छन् । तीमध्ये प्रदेश राजधानीसमेत रहेको कैलालीमा सर्वाधिक आपराधिक घटना भएका छन् । कैलालीमा गत वर्ष एक हजार ३०७ आपराधिक घटना दर्ता भएका छन् । दोस्रोमा कञ्चनपुर जिल्ला छ, जहाँ गत वर्ष ८६८ आपराधिक घटना भएका छन् । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा कम आपराधिक घटना बाजुरामा भएको छ । बाजुरामा वर्षभरि ११८ आपराधिक घटना भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम अछाममा १३९ ,बझाङ १५५, डोटीमा १३९, दार्चुलामा १२८, बैतडीमा १६०, डडेल्धुरामा १२७ आपराधिक घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत बहादुर चौधरीका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा आत्महत्या सम्बन्धी घटना बढी पाइएको छ । गत वर्ष सुदूरपश्चिम प्रदेशमा ६८० जनाले आत्महत्या गरेका छन् । तीमध्ये अधिकांशले झुन्डिएर आत्महत्या गरेको प्रनाउ चौधरीले बताए । प्रदेशभर गत वर्ष ४९६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १७१ जनाले विष सेवन गरेर, ६ जनाले पानीमा हामफालेर, तीन जनाले आगो लगाएर, दुई जनाले हामफालेर, करेन्ट लगाएर तथा हातहतियारबाट एक÷एक जनाले आत्महत्या गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार अछाम जिल्लामा ४०, बझाङमा ३०, बाजुरामा १५, डोटीमा १९, कैलालीमा १९९, दार्चुलामा १६, बैतडीमा ३४, डडेल्धुरामा ३४ र कञ्चनपुरमा १०९ जनाले गत वर्ष झुन्डिएर आत्महत्या गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा गत वर्ष ज्यानसम्बन्धी कसुरका ६४४ घटना प्रकाशमा आएका छन् । यो शीर्षकमा पनि सबैभन्दा बढी कैलालीमा घटना भएको छ । ज्यानसम्बन्धी कसुरमा कैलालीमा २५५, कञ्चनपुरमा १२५, दार्चुलामा ५१, बझाङ र बैतडीमा ३८÷३८, डोटी र डडेल्धुरामा ३५÷३५ अछाममा ३७ र बाजुरामा ३० घटना भएका छन् ।

यस्तै महिला तथा बालबालिकासम्बन्धी ४८३ घटना भएका छन् । त्यसमा पनि सबैभन्दा बढी जबरजस्ती करणीका घटना छन् । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष जबरजस्ती करणीका २२५ घटना भएको छ । त्यस्तै जबरजस्ती करणी उद्योगका ८९, बहुविवाहका १११, मानव बेचबिखन तथा ओसारपसारका २१, बालविवाहका १० अप्राकृतिक मैथुनका ३ बाल यौन दुराचारका २०, बोक्सीको आरोपका ४ घटना छन् ।

गत वर्ष सुदूरपश्चिम प्रदेशमा सामाजिक अपराध अन्तर्गत ६२८ घटना प्रकाशमा आएका छन् । जसअन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर ३३७, सार्वजनिक शान्तिविरुद्धको कसुर २०५, भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर ६४, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुर १०, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुर ६, नागरिकता सम्बन्धी कसुर ४, राज्यविरुद्धको कसुरका दुई वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप