शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता गल्तीले अनुहारमा चायापोतो आउँछ (भिडियोसहित)

आइतबार, १७ साउन २०७८, १२ : ५१
आइतबार, १७ साउन २०७८

ग्रामीण भेगदेखि सहरी क्षेत्रका प्रायजसो महिलालाई चायापोतोले सताउने गर्छ । अनुहारमा चायापोतो आउने महिलाहरूको सङ्ख्या बढ्दै गएको छालारोग विशेषज्ञहरू बताउँछन् । अनुहारमा चायापोतो, डण्डिफोररहित बनाएर सफा राख्ने रहर सबैमा हुन्छ । तर नेपालमा काठमाडौँ उपत्यकासँगै देशका विभिन्न भागमा कृषि पेसामा आबद्ध महिलाहरूलाई चायापोतोले बढी सताएको पाइएको विशेषज्ञहरू बताउँछन् । कतिपय अवस्थामा अनुहारमा आएको बाक्लो चायापोतोले आत्मबल नै कमजोर भएको महसुस महिलाहरूले गर्ने गरेको छाला रोग विशेषज्ञहरूले बताउँदै आएका छन् ।  विगतको तुलना अहिले व्यापक रूपमा चायापोतोको समस्या फैलिएको छाला तथा कपाल रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठको भनाइ छ । पहिला पहिला ३० वर्ष पार गरेपछि अनुहारमा चायापोतो आउँछ भन्ने आम धारणा थियो । तर अहिले भने अनुहारमा चाया किशोर अवस्थामा नै आउने गरेको उनी बताउँछिन् । यस्तै २० वर्ष काटेका धेरै युवामा यो समस्या देखिएको छ । चाया पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । तर पछिल्लो समय पुरुषहरूमा पनि चायापोतोको समस्या बढ्दै गएको छ । ३० वर्ष उमेर काटेका धेरै पुरुषमा  चायापोतो देखिएको छ । चायापोतो प्रायः अनुहारमा नै आउँछ । खास गरी गालाको माथिल्लो भागमा, नाकमा, निधारमा अनि चिउँडोमा पनि आउँछ ।  तुलनात्मक रूपमा हेर्दा ९ जना महिलाको अनुहारमा चाया देखिँदा एक जना पुरुषमा देखिन्छ । अनुहारमा चाया किन आउँछ, यसको उपचार के हो । चाया आउन नदिनका लागि कसरी सावधानी अपनाउने भन्ने भन्नेबारे रातोपाटीको प्रश्नमा छाला तथा कपाल रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठको सुझाव यस्तो छ ।

अनुहारमा पोतो किन आउँछ ?

चायापोतो आउनुको मुख्य कारण सूर्यको प्रकाश अर्थात् घाम हो । पोतो आउनुमा ८९  प्रतिशत घामको कारण रहेको अध्ययनहरूले देखाएको छ । महिलामा हुने हर्मोनका कारण पोतो आउँछ । महिलामा हर्मोन बढ्दै गएपछि पोतो आउने होइन, महिला आफैमा हुने हर्मोनका कारण पोतो आउने गर्छ ।   

बाहिरी वातावरण :

वातावरणका कारणले अनुहारमा विभिन्न किसिमका समस्या देखिन्छ । प्रदूषण, तेजिलो सूर्यको किरणसँगै जलवायु परिर्वतनको प्रभावले प्रत्यक्ष रूपमा छालामा असर पार्दा चाया आउँछ ।

मोबाइलको बढी प्रयोग:

लामो समयसम्म मोबाइल चलाउँदा अनुहारमा चायापोतो आउँछ । लामो समय मोबाइल चलाउँदा त्यसबाट निस्कने किरणले अनुहारमा चायापोतो आउँछ । घामको किरणले जस्तै मोबाइलको प्रकाशले पनि अनुहारमा पोतो आउँछ । घामको किरणले भन्दा २० गुणा कम मोबाइलको किरण हुन्छ । तर मोबाइल लामो समयसम्म चलाउने आदत हुने र राति  अबेरसम्म मोबाइल चलाएर बस्नेहरू क्रमशः अनुहारमा चाया देखिन्छ । त्यसरी मोबाइल चलाउँदा २० गुणा कम भए पनि लामो समयसम्म मोबाइल प्रयोग गर्दा अनुहारमा चायापोतो आउँछ ।

मेकपले चाया आउँछ :

धेरैजसो महिलाले मेकप गर्छन् । विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्दा चायापोतो आउँछ । कस्मेटिकले छालालाई सेन्सटाइज गर्दा चाया आउनेगर्छ । यस्तै घरेलु औषधिका नाममा बढी मात्रा अनुहारमा बढी मात्रामा कागती लगाउँदा छालाको सतह बिग्रिन्छ । कागतीको प्रयोग गर्दा आजको भोलि नै अनुहारमा चाया नदेखिए पनि केही समयपछि देखिन सक्छ ।

अनुहारमा चाया आउन नदिन यस्तो गर्नुपर्छ :

–छालाको प्रकारअनुसार सन्सक्रिमको प्रयोग गर्नुपर्छ । यस्तै सिजनअनुसार पनि सन्सक्रिम अनुहारमा लगाउनुपर्छ ।

–गर्मीको धेरै नै एलर्जी हुनेहरूले जाडो महिनामा पनि डाढ फर्काएर पनि घाम ताप्नु हुँदैन ।

–अनुहारमा चायापोतो भएकाहरूले जाडो महिनामा सूर्यको प्रकाशमा सकेसम्म ढाड फर्काएर बस्ने गर्छन् । त्यसरी घाममा बस्दा पनि सूर्यको प्रकाश परार्वत भएर आउने भएकाले घाममा बस्नुहुँदैन ।

–अनुहारमा चाया देखिनेबित्तिकै सुरुवाती समयमै उपचार थालियो भने हटाउन सम्भव हुन्छ ।

—चाया अनुहारभरी फैलिएपछि जति उपचार गरे पनि हटाउन गाह्रो हुन्छ । औषधि उपचार गरेर निको भए पनि चायापोतो पुनः देखिन सक्छ ।

अनुहारको चाया घटाउनका लागि यस्ता गल्ती गर्नु हुँदैन ।

—कृषि क्षेत्रमा कार्यररत महिलाले छालाको जाँच नगरी मेडिकलबाट स्ट्रोरोयड भन्ने क्रिम लगाउने चलन छ । यो क्रिम २ देखि ३ हप्ताभन्दा बढी लगाएको खण्डमा छालाका लागि विष साबित हुन्छ । 

—स्ट्रोरोयड तीन हप्ताभन्दा बढी लगायो भने छालाको रक्त नली बढाउँछ, छाला पातलो हुन्छ । त्यसपछि छालालाई स्थायी रूपमै बिगारी दिने काम गर्छ । ड्यामेज छालामा जति उपचार गरे पनि चाया पुनः फर्केको फर्कै गर्छ ।

–चायापोतो आएकाहरूले साथीभाइको कुराका आधारमा जुन पायो त्यही अनुहारमा लगाउन हुँदैन ।

पछिल्लो समयका अध्ययनहरूले पोतोलाई दीर्घरोग भनेर पुष्टि गरिसकेको छ । कति वर्षसम्म चल्छ भनेर कसैलाई पनि थाहा पनि छैन । त्यसैले विशेषज्ञको सल्लाहबिना अनुहारमा जे पायो त्यही क्रिम लगाउन हुँदैन । विशेषज्ञसँग सल्लाह गरेर लगाएको क्रिमले पनि राम्रो काम गर्‍यो भनेर लामो समयसम्म लगाउन हुँदैन । त्यो क्रिम निश्चित समयका लागि मात्र सिफारिस गरिएको हुन्छ । चायाका लागि धेरै प्रकारका औषधि छन् । १० प्रतिशतलाई कुनै कारणबिना नै यो समस्या देखापर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप