बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ : राजधानीमै घर भएर पनि घरभाडा बापतको रकम बुझ्छन् यी सांसद

घरभाडा बुझ्नेमा मन्त्री पनि
सोमबार, २५ साउन २०७८, १३ : ००
सोमबार, २५ साउन २०७८

जनता समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवको विराटनगरमा पक्की घर छ । यादव  मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित हुन् । यादवले प्रदेशसभाबाट मासिक घर भाडाबापतको रकम बुझिरहेका छन् ।

प्रदेशसभा सचिवालयले विराटनगर बाहिरका सांसदलाई घरभाडा बापत मासिक १९ हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर प्रदेशको राजधानीसमेत रहेको विराटनगरमै घर भए यादवले घरभाडा बापत ४ वर्षमा ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार विराटनगरमा घर भएर पनि घर भाडाबापतको सुविधा बुझ्ने यादव एक्ला सांसद भने होइनन् । नेकपा एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले पनि विराटनगरमै घर भएर पनि घर भाडा बापतको सुविधा लिइरहेका छन् ।

मोरङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित अधिकारीले पनि चार वर्षमा घर भाडा बापत प्रदेशसभा सचिवालयबाट ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् । अधिकारीको विराटनगरमा रहेको आफ्नो घर भाडामा लगाएर उनी लामो समयदेखि घर भाडामा लिएर बस्दै आएका छन् ।

विराटनगरसँग सीमाना जोडिएको ग्रामथान गाउँपालिका घर भएका नेकपा माओवादीका विजयविश्वास थारू र धनपालथान गाउँपालिका घर भएका एमालेका ज्ञानेश्वर राजवंशी, इटहरी घर भएका एमालेका सर्वध्वज सावा र लिलम बस्नेत, इनरुवा घर भएका नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइराला घरबाटै संसद् ओहोरदोहोर गर्छन् । तैपनि उनीहरुले घरभाडाबापत रकम लिइरहेका छन् । नेपाली काँग्रेस संसदीय दलको नेताको हैसियतमा कोइरालालाई सरकारले गाडी सुविधासमेत दिएको छ ।

त्यसैगरी काँग्रेसकी समानुपातिक सांसद बिन्दीया कार्कीले विराटनगरमै घर भए पनि आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा गरी कुल १ लाख ६१ हजार ८९६ रुपैयाँ घर भाडाबापत बुझेकी छन् । प्रदेशसभा सचिवालयका अनुसार सांसद कार्कीले त्यसपछिका वर्षमा भने घर भाडा बापतको रकम लिएकी छैनन् ।

त्यसैगरी विराटनगरमा घर भएकी काँग्रेसकी अर्की समानुपातिक सांसद शान्तादेवी पौडेलले पनि एक आर्थिक वर्षमा घर भाडा बापतको रकम बुझेकी छिन् । उनले आर्थिक वर्ष २०७४/०७५ मा घर भाडा बापत ८६ हजार ८९६ रुपैयाँ बुझेकी छिन् । त्यस यताका वर्षमा भने उनले घरभाडाबापतको सुविधा नबुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यसैगरी पूर्व राज्यमन्त्री समेत रहेका विजयविश्वास थारूले पनि पछिल्लो समय घर भाडा बापतको रकम बुझ्दै आएका छन् । मोरङ क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित थारुले सांसद भएको पहिलो आर्थिक वर्ष २०७४/०७५ मा घर भाडा बापत ८६ हजार ८९६ रुपैयाँ बुझेका छन् भने दोश्रो आर्थिक वर्षमा १ लाख ८० हजार लिएका छन् । त्यसपछिका पछिल्ला दुई वर्ष वार्षिक १ लाख १४ हजारका दरले उनले घर भाडाबापतको रकम बुझेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार उनले चार वर्षको यो अवधिमा चार लाख ९४ हजार ८९६ रुपैयाँ बुझेका छन् । विराटनगरसँग सीमाना जोडिएको ग्रामथान गाउँपालिका घर भएका थारु मन्त्री हुँदाको समय सरकारले उपलब्ध गराएको सरकारी निवासमा थिए । सांसद रहँदाको समय उनी घरबाटै ओहोरदोहोर गर्छन् ।

प्रदेशसभा सचिवालयका अनुसार नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले घर मर्मत खर्च शीर्षकमा प्रदेशसभा सचिवालयबाट ६० हजार रुपैयाँ बुझेका छन् । उनको विराटनगरमा घर भएकाले उनले घर भाडा बापतको रकम नबुझे पनि घर मर्मत शीर्षकमा सो रकम लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मन्त्री समेतले लिन्छन् घर भाडा बापतको रकम

प्रदेशका एक मन्त्रीले समेत घर भाडा बापतको रकम लिएको खुलेको छ । नेकपा एमालेकी प्रदेश सांसद उषाकला राई हाल सामाजिक विकास मन्त्री छिन् । तर उनले मन्त्री भएपछि पनि घर भाडा बापतको रकम बुझेकी छिन् । समानुपातिक सांसद राई गत चैत १३ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त भएकी हुन् ।

त्यसपछि केही समय होटलमा बसेकी मन्त्री राई गत वैशाखदेखि सरकारले उपलब्ध गराएको सरकारी निवासमा बस्दै आएकी छन्, तर पनि उनले त्यसयता वैशाख, जेठ र असार महिनाको घर भाडाबापत रकम बुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयबाट प्राप्त सूचीमा घर भाडा बापत उनले आर्थिक वर्ष २०७७/०७८ मा २ लाख २८ हजार रुपैयाँ बुझेकी छिन् । अर्थात् उनले सांसदका लागि प्रत्येक महिना घर भाडा बापत प्राप्त हुने १९ हजार रुपैयाँका दरले मन्त्री भएपछिको तीन महिना (वैशाख, जेठ र असार) महिनाको पनि रकम बुझेकी हुन्, जबकि, यो तीन महिना उनी सरकारी निवासमा छिन् ।

मन्त्री उषाकला राईले मन्त्री भएपछि सरकारले उपलब्ध गराएको निवासमा बस्दै आएको भन्दै घर भाडा बापतको सुविधा रकम नलिएको दाबी गरिन् । उनले यस्तो दाबी गरे पनि उनको बैंक खातामा भने गत आर्थिक वर्षको १२ महिनाकै घर भाडा बापतको रकम बुझेको देखिन्छ ।

मन्त्री राईले ‘प्रदेशसभा सचिवालयका कर्मचारीले फट्याइँ गरेका’ कारण यस्तो हुन गएको बताइन् । उनले आफु गत चैत १३ गते मन्त्री भएपछि केही समय स्थानीय होटलमा बसेको र सो होटलमा बसेको सम्पूर्ण खर्च आफैले व्यहोरेको दाबीसमेत गरिन् । वैशाखदेखि सरकारले उपलब्ध गराएको सरकारी निवासमा आफु बस्दै आएको भन्दै आफूले घर भाडाबापतको रकम नलिएको बताइन् ।

अपडेट

​​प्रदेश १ प्रदेशसभा सचिवालयले सामाजिक विकास मन्त्री उषाकला राईले आर्थिक वर्ष २०७७/७८ मा घरभाडा बापत एक लाख ५९ हजार ३५४ रुपैयाँ मात्र लिएको प्रस्ट पारेको छ ।

प्रदेशसभा सचिवालयले उपलब्ध गराएको दस्तावेजमा मन्त्री राईले गत आर्थिक वर्ष २ लाख २८ हजार रुपैयाँ घरभाडा बापत रकम लिएको उल्लेख थियो । सोही आधारमा रातोपाटीले सोमबार समाचार प्रकाशित गरेपछि प्रदेशसभा सचिवालयले ‘कम्प्युटर टाइप मिस्टेक’का कारण मन्त्री उषाकला राई र प्रदेशसभा सदस्य उमिता विश्वकर्माको रकम एक अर्कोमा फरक पर्न गएको जनाएको हो ।

सचिवालयका अनुसार मन्त्री राईले एक लाख ५९ हजार ३५४ र प्रदेशसभा सदस्य विश्वकर्माले दुई लाख २८ हजार रुपैयाँ गत आर्थिक वर्षमा घरभाडा बापत लिएका छन् । 

मन्त्री राईको सचिवालयले पनि मन्त्री राईबाट सरकारमा सामेल भएपछि संसद् सचिवालयबाट कुनै प्रकारको सेवा सुविधा नलिएको प्रस्ट पारेको छ । सचिवालयका अनुसार मन्त्री राईले गत आर्थिक वर्षमा लिएको एक लाख ५९ हजार ३५४ रुपैयाँ मन्त्री हुनुभन्दा अघिको घरभाडा बापतको रकम हो ।

वार्षिक २ लाख २८ हजार घर भाडा

सरकारले प्रदेशको राजधानी विराटनगरमा बाहिरका सांसदका लागि घर भाडा बापतको सुविधा रकम उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा प्रति सांसद ८६ हजार ८९६ रुपैयाँ ५५ पैसा घरभाडा बापत खर्च भएको छ । आव २०७५/०७६ मा प्रतिसांसद वार्षिक १ लाख ८० हजार रुपैयाँ घरभाडा उपलब्ध गराइएको छ । आर्थिक ०७६/७७ मा घरभाडा सुविधा बढेर वार्षिक २ लाख २८ हजार रुपैयाँ पुग्यो । ०७७/७८ मा समेत सांसदले वार्षिक २ लाख २८ रुपैयाँ बुझेका छन् ।

प्रदेशसभाको चार वर्षमा घर भाडाबापत ५ करोड ४७ लाख ३० हजार ३०९ रुपैयाँ खर्च भएको छ ।

यी सांसदले लिएका छैनन् घर भाडा

प्रदेशको राजधानी विराटनगरमा घर भएर पनि घर भाडा बुझ्ने सांसदको लामो सूची रहे पनि केही सांसदले भने घर भाडा लिने गरेका छैनन् । विराटनगरमा घर भएका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, चुमनारायण तवदार, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी, कल्पनाकुमारी सरदार र विध्यानन्द चौधरीले घर भाडा बापत प्राप्त हुने सुविधा रकम बुझेका छैनन् ।

उनीहरु सांसद भएपछि घर भाडा बापतको कुनै सुविधा नलिएको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसैगरी पछिल्लो सयम विराटनगरकी सीतादेवी पौडेल र विन्धीया कार्कीले पनि यो सुविधा नलिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विराटनगरमै घर भएकी अर्की समानुपातिक सांसद शान्तादेवी पौडेलले पनि एक आर्थिक वर्ष बाहेक घर भाडा बापतको रकम बुझेकी थिइनन् । उनले पहिलो वर्षको २०७४/०७५ मा घर भाडा बापतको ८६ हजार ८९६ रुपैयाँ बुझे पनि त्यस यताका तीन वर्ष भने उक्त शीर्षकमा रकम नबुझेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप