शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना सङ्क्रमण तीव्र :  दोस्रो लहरमा मृत्युदर ५ गुणाले बढी

शुक्रबार, ०४ भदौ २०७८, ०६ : २९
शुक्रबार, ०४ भदौ २०७८

नरहरि पौड्याल

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमण वृद्धि भएपछि गत वैशाख १५ देखि निषेधाज्ञा गरिए पनि यस अवधिमा सङ्क्रमितको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको छ । गण्डकीमा दोस्रो लहरको कोरोना सङ्क्रमणसँगै ज्यान गुमाउनेको सङ्ख्या समेत ५ गुणाले बढी भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । 

गण्डकीमा दोस्रो लहरको कोरोना सङ्क्रमणपछि निषेधाज्ञा गरिए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकिरहेको छैन । 

११ जिल्ला रहेको प्रदेशमा हालसम्म २ लाख ९६ हजार २०७ जनाको नमुना परीक्षण गरिएको छ । त्यसमध्ये २ लाख १८ हजार ३६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७७ हजार ८४७ जनामा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

कोरोना सङ्क्रमण भएका ७७ हजार ८४७ जना मध्ये ७० हजार ७४७ जना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८८३ रहेको छ भने मृतकको सङ्ख्या १ हजार २२१ रहेको छ । गण्डकीका ११ जिल्ला मध्ये सबै भन्दा प्रभावित कास्की बनेको छ । कास्कीमा हालसम्म सङ्क्रमितको सङ्ख्या ३१ हजार ११४ पुगेको छ । त्यसमध्ये कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २८ हजार ३१९ रहेको छ भने २ हजार २७४ जना सक्रिय सङ्क्रमित हरेका छन् । कास्कीमा मृतकको कूल सङ्ख्या ५२१ रहेको छ । गण्डकी प्रदेशमा सङ्क्रमित र मृत्यु धेरै हुने जिल्लामा कास्की पर्दछ । 

त्यसै गरी कास्कीपछि सङ्क्रमित धेरै हुने जिल्लामा नवलपरासी पूर्व रहेको छ । यहाँ कूल सङ्क्रमितको सङ्ख्या ९ हजार ४८१ रहेको छ । त्यसै गरी कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ हजार ७१९ रहेको छ । नवलपरासीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३५ रहेको छ भने मृतकको सङ्ख्या १ सय ३० रहेको छ । तनहुँमा हालसम्म ६ हजार १३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित मध्ये ५ हजार ५६८ जना सङ्क्रमणमुक्त भएका छन् भने ४३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । तनहुँमा हालसम्म कोरोना सङ्क्रमणका कारण १२३ जनाले ज्यान गुमाएका छन् ।

त्यसै गरी गोरखामा हालसम्म ६ हजार ८२२ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । सङ्क्रमित मध्ये  ६ हजार १ सय ६४ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६०८ रहेको छ । गोरखामा हालसम्म ५० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । 

यता लमजुङमा हालसम्म ३ हजार ६७० जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध्ये ३ हजार ४४३ जना सङ्क्रमणमुक्त भएका छन् भने १९० सक्रिय सङ्क्रमित रहेका छन् । लमजुङमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३७ जनाको मृत्यु भएको छ । त्यसै गरी स्याङ्जामा हालसम्म ६ हजार ३८५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये ५ हजार ५३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७१५ रहेको छ । स्याङ्जामा हालसम्म कोरोना सङ्क्रमणका कारण १४६ जनाले ज्यान गुमाएका छन् ।

बागलुङमा हालसम्म ७ हजार ३१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ हजार ६४६ रहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ५८६ रहेको छ । बागलुङमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० रहेको छ । त्यसै गरी पर्वतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ५२३ पुगेको छ । त्यसमध्ये सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार २१० रहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २४८ रहेको छ । पर्वतमा हालसम्म कोरोनाका कारण ६५ जनाको मृत्यु भएको छ ।

म्याग्दीमा हालसम्म २ हजार ९८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये २ हजार ७६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७२ रहेको छ । म्याग्दीमा हालसम्म ५१ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । त्यसै गरी मुस्ताङमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २८६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १३ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २५७ रहेको छ । मुस्ताङमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । 

त्यसै गरी हिमालपारिको अर्को जिल्ला मनाङमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३६ पुगेको छ । त्यसमध्ये कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १३१ रहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३ रहेको छ । मनाङमा हालसम्म ३ जनाको मात्र मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

प्रदेशमा दोस्रो लहरपछि मृत्यु दर उच्च

गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या उच्च रुपमा वृद्धि भएको छ । प्रदेशमा वैशाखदेखि भाद्र ३ गतेसम्म एक हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्। गण्डकीमा वैशाखको पहिलो सातासम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ मात्रै रहेको थियो । तर, यस ४ महिनाको अवधिमा भने उक्त सङ्ख्या बढेर १ हजार २२१ पुगेको छ । 

वैशाखको पहिलो हप्ता गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ४ सय ६२ रहेकोमा हाल त्यो सङ्ख्या बढेर ५ हजार ८८३ पुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकीमा ७१ जना सङ्क्रमित आइसियुमा रहेका छन् भने  ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । अस्पतालमा उपचारका लागि लगिएकाहरू मध्ये आइसीयुभन्दा बढी हाई फलो श्यामा उपचाररत धेरै रहेका छन् । हाल प्रदेशमा हाई फलो श्यामा १ सय ७३ जनाले उपचार गराइ रहेका छन्। 

आइसियु, भेन्टिलेटरको अवस्था यस्तो छ  

गण्डकी प्रदेशमा ५ सय ८१ आइसोलेसन बेड छन् । तीमध्ये ४ सय ६२ बेड खाली छन् । सङ्क्रमित होम आइसोलेसनमै बसेपछि आइसोलेसन बेड खाली भएका हुन् । प्रदेशमा ५ हजार ५ सय ३१ जना सङ्क्रमित अहिले होम आइसोलेसनमै बसेका छन् । गण्डकी प्रदेशमा २ सय १४ आइसियु बेड रहेको छन् । ती पनि झन्डै भरिभराउको अवस्थामा रहेका छन् । पोखरा क्षेत्रमा कोरोना सङ्क्रमितको लागि उपचारका लागि सरकरीस्तरबाट छुट्टाएको सरुवा तथा सङ्क्रामक रोग अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै आइसियु, भेन्टिलेटर भरिएका छन् । सरकारी अस्पतालमा आवश्यक बेड नपाएपछि सर्वसाधारणहरू निजी अस्पताल जान बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप