मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा एमाले विभाजनको असर : पहिले साथ दिएकाहरु नयाँ पार्टीमा खुल्न हिच्किचाउँदै

शुक्रबार, ०४ भदौ २०७८, १७ : ४७
शुक्रबार, ०४ भदौ २०७८

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि गण्डकी प्रदेशमा त्यसको असर न्यूनमात्र देखिएको छ । गण्डकीमा माधव नेपाल पक्ष तुलनात्मक रुपमा निकै कमजोर छ भने संस्थापन पक्ष बलियो छ ।

पार्टी अध्यक्ष केही शर्मा ओलीले माधव नेपाल पक्षका नेतालाई चुनावमा टिकट नै नदिएका प्रदेशसभामा माधव नेपाल पक्षका एक जनामात्र सांसद छन् । गण्डकी प्रदेशसभामा ६० सांसदमध्ये एमालेका २८ सांसद निर्वाचित भएका थिए । त्यसमध्ये ओली पक्षमा २७ जना सांसद रहेका छन् भने नेपाल पक्षमा बागलुङका इन्द्रलाल सापकोटामात्र छन् ।

संघीय संसदमा पनि यो प्रदेशबाट नेपाल पक्षका सांसद छैनन् । स्थानीय तहमा पनि माधव नेपाल पक्षको अवस्था नाजुक छ ।

नेपाल पक्षका प्रभावशाली मानिने कास्कीका तुलबहादुर गुरुङ, सीता गिरी ओली, श्रीनाथ बराल, चूडामणि जंगली, मुस्ताङकी श्रीमाया थकाली, नवलपुरका रवीन्द्र अधिकारी लगायत नेताहरुलाई चुनावमा टिकट नै दिइएन ।

दोस्रो संविधानसभा सदस्यमा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सीता गिरी ओलीलाई टिकट नदिएर त्यस क्षेत्रबाट जगत विश्वकर्मालाई उठाइएको थियो । पुराना एमाले नेता तुलबहादुर गुरुङ र कास्कीबाटै प्रदेश सांसदको दाबी गरेका माधव पक्षकै श्रीनाथ बराललाई तल्लो कमिटीबाटै सिफारिस नभएको भनेर अगाडि बढ्न दिइएन ।

बुधबार नेपाल समूहले नयाँ दल गठनका साथ निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय सदस्यको नामावलीमा पार्टीको टिकट नपाएर पछाडि पारिएका तिनै नेताहरुको नाम राखिएको छ । माधव पक्षले यसअघि नै कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ । कास्कीमा माधव समूहको नेतृत्व युवा नेता धनराज आचार्यले लिएका छन् ।

ओली अध्यक्ष भएदेखिनै नेपाल पक्षको तेजोबध गर्न योजनाबद्धरुपमा लागेकाले गण्डकी प्रदेशमा नेपाल पक्ष कमजोर बन्दै गयो । त्यसको असर अहिले माधवकुमार नेपालले बनाएको नयाँ पार्टीमा समेत देखिएको छ ।

नेपाल समूहले नयाँ दल दर्ताको प्रक्रिया सुरु गर्दासमेत गण्डकीमा नेता कार्यकर्ता कता लाग्ने भनेर अझ खुल्न सकेका छैनन् ।

विगतमा नेपाल पक्षमा खुलेर लागेका गण्डकीका केही नेताले पार्टी विभाजनपछि माधव नेपालको साथ छाडेको बताएका छन् । विगतमा केन्द्रीय सदस्य बनेकी नेपालपक्षीय नेतृ सीता गिरी ओली, मुस्ताङकी पूर्व सांसद श्रीमाया थकालीले आफूहरु एमालेमै रहने बताएका छन् ।

त्यसैगरी नवलपुरका नेता एवं केन्द्रीय सदस्य रविन्द्र अधिकारीले पनि माधव नेपालको साथ छोडेका छन् । ओलीको संसद विघटनपछिका हरेक कदमको विरोध गर्दै आएकी सीता ओली गिरीले लामोसमयदेखि संघर्ष गरेर निर्माण गरेको पार्टी छाडेर जाने कुरामा सहमत नभएको बताएकी छन् । उनले ब्यक्ति गलत भयो भन्दैमा पार्टी नै छाडेर जान नहुने बताइन् ।

पूर्वसांसद समेत रहेकी नेतृ गिरी पार्टी विभाजनको मुख्य दोषी अध्यक्ष ओली नै भएको बताउँछिन् ।

यसैगरी गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा यसअघि पार्टीमा भएको १० बुँदे सहमतिको जगमा पार्टी एकीकरण गरेर अगाडि बढ्नुपर्ने बताउँछन् । उनले ओलीलाई घुक्र्याउन बनाइएका समानान्तर कमिटी नै विभाजनको प्रमुख कारण भएको बताए ।

गण्डकीबाट नयाँ दलमा ८ जना केन्द्रीय सदस्य

गण्डकीबाट नेता नेपालले खोल्न लागेको नयाँ पार्टीमा आठ जना केन्द्रीय सदस्य बनेका छन् । माधव नेपाल नेतृत्वको पार्टीमा कास्कीका पुराना नेता तुलबहादुर गुरुङ, श्रीनाथ बराल, नेता चूडामणि जंगली र दिलुकुमारी पन्त केन्द्रीय सदस्य बनेका छन् ।

यस्तै, तनहुँका प्रतापलाल श्रेष्ठ र रेखा बस्याल, स्याङ्जाकी शर्मिला कुमारी पौडेल क्षेत्री, पर्वतका विजय गुरुङ पनि केन्द्रीय सदस्य बनेका छन् ।

तुलबहादुर, प्रतापलाल, चुणामणि, विजय, श्रीनाथ र दिलकुमारी यसअघि एमालेमा पनि केन्द्रीय सदस्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप