शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर दबाब दिने

बुधबार, ०९ भदौ २०७८, १२ : २९
बुधबार, ०९ भदौ २०७८

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घर घरमा गएर पञ्चेबाजासहित दबाब दिने भएको छ । घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरले यस्तो नीति अबलम्बन गरेको हो । 
आज बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्युरोड, खुसुबु नयाँ बजार, सोल्टी मोड लगायतका क्षेत्रमा बाजागाजासहित करदाताको घरदैलो कार्यक्रम गर्ने भएको छ ।  महानगरले २,३ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम गर्न लागेको हो । 

‘महानगरले पछिल्लो २, ३ वर्षको कर दाखिलालाई छाडेर २८ वर्षसम्मको पुरानो कर उठाउन पहल गर्दैछ । यसैको दबाब स्वरुप आज ७० ठूला करदाताको घरदैलो कार्यक्रमको आयोजना गरिएको हो’ महानगरपालिकाको राजस्व विभागका प्रमुख शिव अधिकारीले रातोपाटीसँग भने, ‘यी ठूला करदाताहरूबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।’

अधिकारीका अनुसार न्युरोडका तीन व्यवसायिक सपिङ कम्प्लेक्स (रञ्जना कम्प्लेक्स, आरबी कम्प्लेक्स र अर्को एक कम्प्लेक्ससहित खुस्बुको एक ह्वाइट फिल्ड स्कुल, सोल्टीमोडको होटल प्ल्याटिनियम र राइड सेयरिङ्ग ‘पठाओ’ मा समेत आज महानगरको विशेष टोली बाजागाजासहित जाने कार्यक्रम रहेको छ । यी व्यवसायिक कम्प्लेक्स तथा स्कुलहरूले ४–५ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर/जग्गा कर नतिरेको उनको भनाई छ । 

यी करदाताहरूलाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दा समेत अटेर गरेपछि महानगरपालिकाले दबाब पूर्ण कार्यक्रमको नयाँ रणनीति अपनाएको जनाएको छ । महानगरले गत असार १६ र साउन २४ गते करदातालाई कर दाखिला गर्न आउन ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप