शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङको भविष्यमाथि कालो बादल

व्यवसायी भन्छन्– प्रविधिको प्रयोगमार्फत उडान गर्ने वातावरण बनाउनु पर्छ
बिहीबार, १० भदौ २०७८, ११ : ०३
बिहीबार, १० भदौ २०७८

 पोखरा पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । यहाँ आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सौन्दर्यसँग रमाउँदै प्याराग्लाइडिङको मज्जासमेत लिने गर्दछन् । प्याराग्लाइडिङ पोखराको मूख्य आकर्षण बनिरहेको छ ।

चराजस्तै आकाशमा उड्ने साहसिक खेलका रुपमा विकास भएको प्याराग्लाइडिङका लागि पोखरामा सरदर ५५ वटा कम्पनी क्रियाशील छन् । प्याराग्लाइडिङमा १५० जना टेण्डम (व्यावसायिक) पाइलट र १९० जना सोलो (सिकारु) पाइलटले उडान गर्दै आएका छन् ।

पोखरा घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्न रुचाउँछन् । यद्यपि पोखरामा निकट भविष्यमा यो व्यवसाय बन्द हुने हो पो हो कि भन्ने खतरा पनि कायम छ ।

अब केही महिनाभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । विमानस्थल सञ्चालनमा आएपछि पोखराको ब्राण्ड बनेको प्याराग्लाइडिङको भविष्य के हुन्छ भन्ने चिन्ता पोखरेलीमा बढ्न थालेको हो ।

पोखरावासीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने वर्षौंदेखिको सपना साकार हुँदै गर्दा पछिल्लो समय पोखराको साहसिक खेलका रुपमा स्थापित प्याराग्लाइडिङ भने संकटमा पर्ने देखिएको छ । यस अतिरिक्त पोखरालाई प्याराग्लाइडिङको ‘हब’ बनाएर ठुलो लगानी गर्दै आएका व्यवसायीमा समेत चिन्ता थपिएको छ ।

लामो समयदेखि कोरोना संक्रमणका कारण थला परेर मर्कामा परेका व्यवसायीहरु क्षेत्रीय विमानस्थल सञ्चालमा आएपछि यो व्यवसाय सञ्चालन गर्न मिल्ने हो कि होइन भन्ने अनिश्चिततामा रुमल्लिएका छन् ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखरा विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ सञ्चालन सम्वन्धमा थप अध्ययनपछि मात्र निर्णय हुने जानकारी गराएको बताए ।

पोखराको उत्तरतर्फको सराङकोटबाट हुँदै आएको उडानलाई थप व्यवस्थित बनाएर नियमित उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले प्राविधिक अध्ययन गर्ने र त्यसपछि मात्र निर्णय हुने जानकारी पाएको अध्यक्ष भण्डारीले बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय उडानसँगै प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्ने बारेमा प्राविधिकले अध्ययन गरेपछि मात्र निर्क्यौल हुने कुरा आएको छ’, उनले भने, ‘सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गरेर पोखरामा प्याराग्लाइडिङसँगै अन्तर्राष्ट्रिय उडान गर्नका लागि हामीले प्राधिकरणसँग आग्रह गर्दै आएका छौं ।’

उनका अनुसार योगेश भट्टराई पर्यटन मन्त्री भएको बेला पोखरा विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ सञ्चालन गर्न प्राविधिक हिसाबले मिल्ने वा नमिल्ने भन्ने सम्वन्धमा अध्ययन गर्न एउटा समिति बनाइएको थियो । उनले भने, ‘समितिले अध्ययन गरेर प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा बुझाए पनि त्यो प्रतिवेदन सार्वजनिक गरिएको छैन ।’

अध्यक्ष भण्डारीले पोखरा क्षेत्रमा ब्राण्डका रुपमा स्थापित प्याराग्लाइडिङ र अन्तर्राष्ट्रिय विमानस्थल दुवै आवश्यक रहेकाले सुरक्षाका सबै उपाय अपनाएर प्याराग्लाइडिङ सुचारु गर्नुपर्ने बताए । उनले आवश्यक सावधानीका लागि प्रविधिको प्रयोग गरेर प्याराग्लाइडिङ उडान गर्ने व्यवस्था मिलाउनसमेत प्राधिकरणलाई आग्रह गरेका छन् ।

‘विमान पोखरा क्षेत्रको आकाशमा प्रवेश गरेसँगै संकेत आउने प्रविधि जडान गरेर प्याराग्लाइडिङ सुरक्षित ठाउँमा डाइभर्ट गर्न सकिन्छ,’ उनले भने, ‘अन्यत्र पनि यस्ता प्रविधि अपनाएको पाएका छौं, त्यस्ता प्रविधि प्रयोग गरेर भए पनि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुनबाट रोक्नु पर्छ ।’

अध्यक्ष भण्डारीले करोडौंको लगानीमा वर्षौंदेखि सञ्चालन हुँदै आएको व्यवसाय र यसमा आश्रितहरुको रोजगारी बचाउन सरकारले विशेष प्रविधि प्रयोग गरेर भए पनि प्याराग्लाइडिङ सञ्चालन गर्ने वातावरण मिलाउनुपर्ने बताए ।

कोरोना संक्रमण फैलिएपछि लामो समयदेखि प्याराग्लाइडिङ ठप्प भएकाले सामग्री (ग्लाइडर) बिग्रनबाट बचाउन र पाइलटलाई अभ्यासका लागि सिङ्गल बसेर प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिए पनि सुनाइ नभएको उनको गुनासो छ ।

उनले गत वर्षको लकडाउनपछि व्यवसायीले ५० प्रतिशत छुट दिएर प्याराग्लाइडिङ उडाउँदा सबैमा उत्साह बढेको बताए । दोस्रो चरणको निषेधाज्ञापछि व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायी र प्याराग्लाइडिङ पाइलट समस्यामा परेको उनको भनाइ छ ।

अहिलेको अवस्थामा प्याराग्लाइडिङ असम्भव

पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले सुवास झाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले अहिलेकै अवस्थामा प्याराग्लाइडिङ सञ्चालन सम्भव नभएको प्रतिवेदन तयार पारेको छ । हाल सञ्चालन भएका ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय विमानस्थल आसपास प्याराग्लाइडिङ सञ्चालन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका मुलुकले अपनाइएका प्रविधि अध्ययन गरेर निर्णय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

समितिको प्रतिवेदनमा पोखरासँग नजिक रहेका पञ्चासे, माछापुच्छ्रे, स्याङ्जा र पर्वत लगायतका क्षेत्रमा प्याराग्लाइडिङ सार्न सकिने उल्लेख छ । समितिका सदस्यसमेत रहेका नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ सञ्चालन गरिरहेका इटाली,  स्विट्जरल्यान्ड, फ्रान्स लगायतका मुलुकको अध्ययन गरेर सोही अनुसारको प्रविधि प्रयोग गरी अहिलेकै ठाउँबाट प्याराग्लाइडिङ सञ्चालन गरिनुपर्ने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप