शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा आत्महत्याको डरलाग्दो अवस्था : १८­–२५ वर्षमा आत्महत्याको दर बढ्यो

प्रेममा असफल भएर आत्महत्या गर्नेको सङ्ख्या पनि बढी
शुक्रबार, ११ भदौ २०७८, १० : ४३
शुक्रबार, ११ भदौ २०७८


कास्कीमा आत्महत्याको दर बढ्न थालेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा १५७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार कास्की जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा १५७ जनाले आत्महत्या गरेकामा झण्डै आधा मानिसले झुन्डिएर आत्महत्या गरेको पाइएको छ । यस आर्थिक वर्षमा ७७ जनाले झुन्डिएर आत्महत्या गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालयले गरेको विश्लेषण अनुसार आत्महत्या गर्नेहरुमध्ये ५८ प्रतिशत मानिसहरु साधारण लेखपढ मात्रै गर्न जान्ने छन् । आर्थिक वर्ष २०७७/७८ मा १५७ जनाले आत्महत्या गर्दा आत्महत्या गर्ने ९० जना मानिसहरु साधारण लेखपढ मात्रै गर्न जान्ने रहेका छन् ।

शैक्षिक योग्यताका आधारमा आत्महत्याको तथ्यांक विश्लेषण

आर्थिक वर्ष २०७७/७८ मा कास्कीमा कुल १५७ जनाले आत्महत्या गरेका छन् । जसलाई शैक्षिक योग्यताका आधारमा विश्लेषण गर्ने हो भने ९० जना साधारण लेखपढ मात्रै गर्न जान्ने छन् । लेखपढ गर्न नजान्ने अर्थात् अनपढको सङ्ख्या २९ जना रहेको छ भने एसएलसीसम्म अध्ययन गर्नेको सङ्ख्या पनि २९ जना नै रहेको छ । त्यसैगरी आत्महत्या गर्नेहरूमा प्लस टु पास गरेका तर स्नातक उत्तीर्ण नगरेकाहरुको सङ्ख्या ९ जना रहेको छ ।

उमेर समूहका आधारमा आत्महत्याको अवस्था

त्यसैगरी कास्की जिल्लामा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका मानिसहरुमा आत्महत्याको दर बढी रहेको देखिन्छ । प्रहरीले ५ वटा उमेर समूहमा राखेर आत्महत्याको विश्लेषण गर्दा १८ देखि २५ वर्ष उमेर समूहका युवायुवतीमा आत्महत्याको दर बढेको देखिन्छ । ४६ वर्षभन्दा माथि उमेरका सबैलाई एकै समूहमा राख्दा उनीहरुको सङ्ख्या बढी रहेको देखिएपनि किशोरावस्थादेखि २६ वर्षसम्मको उमेरमा हुने आत्महत्या पनि डरलाग्दो देखिएको छ ।

प्रहरीका अनुसार कास्कीमा आर्थिक वर्ष २०७७/७८ मा १८ वर्षभन्दा कम उमेरका १६ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमा बालिकाको सङ्ख्या ९ जना रहेको छ भने बालकको सङ्ख्या ७ रहेको छ । त्यसैगरी १८ देखि २५ वर्ष उमेर समूहका अर्थात् ७ वर्षको उमेर अन्तरमा ४२ जनाले आत्महत्या गरेको पाइएको छ । यो उमेर समूहमा आत्महत्या गर्नेहरूमा पनि महिलाको सङ्ख्या बढी नै रहेको छ । यो उमेर समूहका २२ जना महिलाले आत्महत्या गरेका छन् भने पुरुषको सङ्ख्या २० जना छ ।

त्यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका २६ जनाले आत्महत्या गरेको पाइएको छ । यो उमेर समूहमा भने आत्महत्या गर्ने पुरुषको सङ्ख्या बढी देखिएको छ । यो उमेर समूहमा ७ जना महिलाले आत्महत्या गरेका छन् भने आत्महत्या गर्ने पुरुषको सङ्ख्या १९ जना रहेको छ ।

आत्महत्या गरेर जीवन त्याग्नेहरूमा ३६ देखि ४५ वर्ष उमेर समूहका पनि २६ जना नै रहेका छन् । यो उमेर समूहमा ८ जना महिला तथा १८ जना पुरुषले आत्महत्या गरेका छन् । ४६ वर्षभन्दा माथि ४७ जनाले आत्महत्या गरेर ज्यान मृत्युवरण गरेका छन् । जसमा १६ जना महिला र ३१ जना पुरुष रहेका छन् । १५७ जनाले आत्महत्या गरेकामा महिलाको सङ्ख्या ६२ जना छ भने पुरुषको सङ्ख्या ९५ रहेको छ ।

आत्महत्यामा अविवाहित बढी

त्यसैगरी कास्की जिल्लामा भएको आत्महत्याको घटनालाई वैवाहिक स्थितिको अवस्थाका आधारमा विश्लेषण गर्दा अविवाहितले नै बढी आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा कुल १५७ जनाले आत्महत्या गरेको घटनामा ८९ जना अविवाहित रहेको पाइएको छ । ८९ जना अविवाहितले आत्महत्या गर्दा ५३ जना पुरुष र ३६ जना महिला रहेका छन् । त्यसैगरी यो आर्थिक वर्षमा ६८ जना अविवाहितले आत्महत्या गरेका छन् । जसमध्ये ४२ जना पुरुष र २६ जना महिला रहेका छन् ।

समयमा आधारमा आत्महत्याको विश्लेषण 

कास्की जिल्लामा भएको आत्महत्याको समयका आधारमा विश्लेषण गर्दा विहानको समयमा आत्महत्या गर्नेको सङ्ख्या बढी देखिएको छ । ६–६ घण्टाको अन्तरमा समय राखेर गरिएको विश्लेषणमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म आत्महत्या गर्नेको सङ्ख्या बढी देखिएको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा कास्की जिल्लामा भएको कुल १५७ आत्महत्यामध्ये ६३ जनाले विहानको ६ बजेदेखि १२ मध्यान्ह १२ बजेसम्मको समयमा आत्महत्या गरेका छन् । त्यसैगरी मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा ४८ जनाले आत्महत्या गरेको भेटिएको छ । त्यस्तै साँझ ६ बजेदेखि राती १२ बजेसम्मको समयमा आत्महत्या गर्नेको सङ्ख्या २६ जना रहेको छ । रातको १२ बजेदेखि बिहान ६ बजेसम्म आत्महत्या गर्नेको सङ्ख्या २० जना रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमाल राती सुतेको मानिस बिहान अबेरसम्म पनि नउठेपछि खोजिने भएकाले त्यतिबेला आत्महत्या गरिसकेको अवस्थामा मानिसहरु भेटिने गरेकोले त्यो समयमा आत्महत्याको दर बढी देखिएको बताउँछन् ।

महिनाका आधारमा आत्महत्याको अवस्था

आर्थिक वर्ष २०७७/७८ मा कास्की जिल्लामा भएका आत्महत्याका घटना हेर्दा साउन, पुष र जेठ महिनामा आत्महत्याको दर बढी भएको देखिन्छ । तथ्यांक हेर्दा कास्की जिल्लामा साउन महिनामा १९, भदौ महिनामा ११, असोज महिनामा १०, कात्तिक महिनामा ८, मंसिरमा ९, पुषमा १९, माघमा १२, फागुनमा १०, चैतमा १२, वैशाखमा १५, जेठमा १९ र असार महिनामा १३ जनाले आत्महत्या गरेको पाइएको छ ।

कारणका आधारमा आत्महत्याको अवस्था

कास्की जिल्लामा गत आर्थिक वर्षमा भएका आत्महत्याको तथ्यांक र आत्महत्याको कारण हेर्दा प्रेममा असफल भएर आत्महत्या गर्नेहरुको सङ्ख्या बढी रहेको पाइएको छ । गत आर्थिक वर्ष १५७ जनाले आत्महत्या गरेकामा ३१ जनाले प्रेममा असफल भएकै कारण आत्महत्या गरेको पाइएको छ ।

गत आर्थिक वर्षमा कास्कीमा भएका आत्महत्याको अवस्था हेर्दा अशिक्षाका कारण ११ जना, गरिबी तथा बेरोजगारीका कारण ८ जना, घरेलु हिंसाका कारण २ जना, मानसिक असन्तुलनका कारण २१ जना प्रेममा असफल भएको कारण ३१ जना, दीर्घ रोगका कारण ३० जना, उच्च महत्त्वाकांक्षाका कारण १६ जना र अन्य कारण वा आत्महत्याको कारण नखुलेका ३८ जनाले आत्महत्या गरेका छन् ।

जातका आधारमा आत्महत्याको अवस्था

गत आर्थिक वर्षमा कास्की जिल्लामा भएको आत्महत्याको अवस्थालाई जातका आधारमा विश्लेषण गर्ने हो भने यहाँ जनजाति समुदाय (नेवार बाहेक)को सङ्ख्या बढी रहेको पाइएको छ । उक्त आर्थिक वर्षमा कास्की जिल्लामा मंगोलियन जातका ५० जनाले आत्महत्या गरेका छन् । त्यसैगरी, त्यस आर्थिक वर्षमा कास्कीमा ब्राम्हण समुदायका २७, क्षेत्री समुदायका ३४, नेवार समुदायका ४, दलित समुदायका ४०, तराइबासी १ र अन्य १ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार कास्की जिल्लामा गुरुङ, मगर तथा थकाली समुदायको बाहुल्यता भएको कारण पनि आत्महत्या गर्नेमा मंगोलियन समुदायका मानिसहरुको सङ्ख्या बढी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप