शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमा कोरोनाको कहर, व्यवसायी भन्छन्– जनयुद्ध र भूकम्पलाई माथ गर्‍यो

शुक्रबार, ११ भदौ २०७८, ११ : ००
शुक्रबार, ११ भदौ २०७८

कोभिड–१९ का कारण डेढ वर्षदेखि पोखराको पर्यटन व्यवसाय ठप्प छ । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखराका पर्यटकीय गन्तव्यहरु लामो समयदेखि सुनसान भएका छन् । पर्यटन क्षेत्र ठप्प भएसँगै व्यवसायी र यो क्षेत्रमा आश्रित मजदूरहरु मारमा परेका छन् ।

पहिलो पटक ९ महिना र पछि पटकपटक लगाइएको निषेधाज्ञाका कारण पर्यटनसँगै सबै क्षेत्र ठप्प बन्यो । आर्थिक क्रियाकलाप बन्द भए । पर्यटक आगमन ठप्प भएपछि पोखराको पर्यटनसमेत धरापमा प¥यो ।

विनाशकारी भूकम्पले थला परेको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिन लागेको अवस्थामा सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि व्यवसायीले करोडौं लगानी बढाएका थिए तर, अपेक्षा गरेभन्दा ठिक उल्टो भएपछि उनीहरु लगानी डुब्ने अवस्थामा पुगे ।

पहिलो पटक घोषणा गरिएको लकडाउन ९ महिनापछि गत मंसिरमा अन्त्य भएसँगै पोखरेली पर्यटन बजारमा केही चहलपहल हुन थालेको थियो । तर, पुनः कोरोना संक्रमण बढेपछि सरकारले निषेधाज्ञा लागू गर्दा व्यवसायीमा तनाब बढेको छ ।

पर्यटकीय क्षेत्र लेकसाइडमा विगत दुई दशकदेखि ट्रेकिङ्ग व्यवसाय गर्दै आएका बागलुङका नारायण सापकोटाले २०७२ को महाभूकम्प, नाकाबन्दी र १० वर्षको जनयुद्धको समयमा भन्दा पनि कोरोना भाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए । ‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने, ‘२०७२ को भूकम्प र १० वर्षको जनयुद्धको समयमा समेत अहिलेको जस्तो व्यवसाय चौपट भएको थिएन । हल्काफुल्का व्यापार भएको थियो, अहिले त व्यवसाय ठप्पै भयो ।’

​ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसनका अध्यक्ष समेत रहेका सापकोटाले सरकारले व्यवसायी जीवन रक्षा कोष घोषणा गरे पनि व्यवसायीले सहजरुपमा राहत नपाएको गुनासो गरे । सरकारले उद्योगी तथा व्यवसायीलाई राहतस्वरुप निश्चित रकम सरल रुपमा सस्तो ब्याजमा दिने उद्देश्यले व्यवसायी जीवन रक्षा कोषको व्यवस्था गरे पनि बैंक तथा वित्तीय संस्थाले चासो नदिएको उनको भनाइ छ ।

अध्यक्ष सापकोटाले सबै व्यवसायीले कोरोनाविरुद्धको खोप सहज रुपमा नपाएको र संक्रमणसमेत तीव्र रुपमा वृद्धि भएकाले तत्काल व्यावसायिक सम्भावना कम रहेको बताउँदै व्यवसायीको राहतका लागि स्थानीय तहहरुले दर्ता, नवीकरण र जरिवाना छुटको व्यवस्था गर्नुपर्ने बताए ।

‘कोरोना संक्रमण देखिएपछि व्यापार व्यवसाय ठप्प छ, दैनिक घर खर्चदेखि छोराछोरीको स्कूल, कलेजको फि, घरभाडा लगायतका खर्चसमेत ऋण काढेर चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘व्यवसायीले कमाइ गरेको बेला स्थानीय सरकारलाई कर तिरेकाले व्यवसाय चौपट भएको बेला भने कर, जरिवाना र नवीकरण शुल्क छुट दिनुपर्छ ।’

अध्यक्ष सापकोटाका अनुसार व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको समयावधि थप गरिदिन आग्रह गर्दै आएका छन् । ‘व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्दैनौं भनेका छैनन्,’ उनले भने, ‘सरकारसँग ऋण तिर्छौं, केही समययावधि बढाइदिनोस् मात्र भनेका छौं ।’

कोरोना संक्रमणका कारण व्यापार व्यवसाय चौपट भएपछि २० प्रतिशत व्यवसायीले व्यवसाय छाडेको उनले बताए । ‘कोरोनाका कारण सटरभाडा तिर्नसक्ने अवस्था नभएपछि २० प्रतिशतले व्यवसाय नै छाडिसकेको अवस्था छ,’ उनले भने, ‘सटरको महँगो भाडा तिर्ने अवस्था नभएपछि व्यवसायीले कोठा भाडामा लिएर सामान थुपारेर राखेका छन् ।’

पर्यटन क्षेत्रका व्यवसायीको पुनरुत्थान गर्न सरकारले व्यवसायी पुनरुत्थान योजना मौद्रिक नीतिमार्फत ल्याएको छ । व्यवसायीलाई बचाउनका लागि तत्कालै सो योजना कार्यान्वयन गर्नुपर्ने पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन् । उनले भने, ‘मौद्रिक नीतिमार्फत सरकारले ल्याएको पुनरुत्थान गर्ने कर्जालाई राष्ट्र बैंकले अनुगमन गरेर कार्यान्वयनमा लग्नु पर्छ ।’

अध्यक्ष तुलाचनले सरकारले व्यवसायीको हितमा भनेर विभिन्न कार्यक्रम घोषणा गरे पनि कार्यान्वयन प्रक्रियामै समस्या रहेको गुनासो गरे । उनले भने, ‘कोरोनाको मारमा परेका व्यवसायीको राहतका लागि सरकारले गत वर्ष विद्युत महसुल दिने घोषणा गरेको थियो, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन ।’

अहिले व्यवसायीलाई कसरी व्यवसाय चलाउनेभन्दा पनि कसरी बाँच्ने भन्ने चिन्ता बढेको उनको भनाइ छ । दोस्रो चरणको निषेधाज्ञा खुकुलो बनाउँदै लैजाँदासमेत पोखरामा आन्तरिक पर्यटक आगमन ठप्प रहेको उनले बताए । ‘कोरोना भाइरसको आतंकपछि सबै व्यवसाय धरापमा परिसकेको छ,’ उनले भने, ‘होटलको अकुपेन्सी अहिले न्युन अवस्थामा पुगेको छ, अहिले अकुपेन्सी नै छैनभन्दा हुन्छ ।’

होटल व्यवसायमा पर्यटक अभाव हुँदा दैनिक खर्चको व्यवस्थापन गर्न व्यवसायीलाई चुनौती देखिएको अध्यक्ष तुलाचनको भनाइ छ । ‘होटलका लागि दैनिक खर्च, कर्मचारी व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाको ब्याज व्यवस्थापनमा व्यवसायीलाई कठिनाई उत्पन्न भएको छ,’ उनले भने ।

पर्यटक प्रवर्द्धन गर्न पर्यटन व्यवसायीले बर्सेनि नियमित सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमहरु कोरोना भाइरसका कारण स्थगित गर्न परेको तुलाचनले बताए । कोरोना संक्रमणका कारण व्यवसाय बन्द हुँदा व्यवसायीले ६० प्रतिशत कर्मचारी कटौती गरेको र व्यवसायको दैनिक खर्च तथा भाडा तिर्नसमेत नसक्ने अवस्था भएपछि २५ प्रतिशतले व्यवसाय नै छाडेको उनले दाबी गरे । पश्चिमाञ्चल होटल संघमा आवद्ध होटलको संख्या ४०० को हाराहारीमा छ ।

डेढ वर्षदेखि कायम रहेको कोरोना संक्रमणका कारण पद यात्रामा जाने पर्यटक आगमन ठप्प भएको ट्रेडिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकको आगमन नभएकाले अहिले सबैभन्दा बढी समस्यामा ट्रेकिङ व्यवसायी छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रका अन्य व्यवसायमा पनि कोरोना संक्रमणले असहज भएको छ ।’

लामो समयदेखि व्यवसाय बन्द भएकाले ट्रेकिङ व्यवसायसँग आबद्ध व्यवसायी र ट्रेकिङ गाइडहरु ठुलो समस्यामा परेको उनले बताए । उनले भने, ‘अब तत्कालै व्यवसाय लयमा फर्कने सम्भावना छै्रन, यसले लामो समयसम्म संकट निम्तिने देखिन्छ ।’

पौडेलले कोरोना संक्रमणको मारमा परेका ट्रेकिङ व्यवसायीको लागि सरकारले अहिलेसम्म कुनै सहयोग नगरेको गुनासोसमेत गरे । उनले भने, ‘व्यवसायीले आफ्नै सम्पर्कमा देश विदेशमा रहेका साथीभाइ र आफन्तको सहयोग पाएका होलान् तर सरकारबाट अहिलेसम्म केही पाएका छैनन् ।’

उनले लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीलाई दैनिक रोजीरोटीको समस्या परेको बताए । लामो समय व्यवसाय ठप्प भएपछि ट्रेकिङसँग सम्बद्ध व्यवसायीलाई घरभाडा, दैनिक खर्च, छोराछोरीको विद्यालय शुल्क लगायतका समस्याले सताउने गरेको उनले बताए ।

​‘लामो समयदेखि व्यवसाय बन्द भएकाले ट्रेकिङ व्यवसायमा आवद्ध मजदूर र व्यवसायीहरुको दैनिक खर्चदेखि बालबच्चाको स्कूल खर्चको जोहो नै प्रमुख चुनौती बनेको छ,’ उनले भने, ‘वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका कम समस्या होला तर, रोजीरोटीका लागि विभिन्न ठाउँबाट पोखरा आएर ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकालाई ठुलो समस्या भएको छ ।’

उनका अनुसार लामो समय व्यवसाय थला परेपछि करिब ४० प्रतिशत व्यवसायी यो व्यवसाय छाडेर अन्यत्र लागेका छन् । ‘तत्कालै व्यवसायले गति नलिने अवस्था नआएपछि पर्यटन मजदूरको काम गर्दै आएकाहरु अन्यत्र ज्याला मजदूरीको काममा लागेका छन्,’ उनले भने, ‘व्यवसायीसमेत विभिन्न नयाँ कामको खोजीमा जुटेका छन् ।’

अध्यक्ष पौडेलले सरकारले पर्यटनलाई चलायमान बनाउनका लागि भनेर दिएको कारोनाविरुद्धको खोपमा विभेद गरेको आरोपसमेत लगाए । ‘सरकारले पर्यटनलाई चलायमान गराउन पोखराका केही पर्यटन व्यवसायीलाई खोप दिएको छ,’ उनले भने, ‘तर, अन्नपूर्ण बेसक्याम र छुमरुङमा बस्ने पर्यटन व्यवसायीले खोप पाएका छैनन् ।’ पोखराका व्यवसायीले मात्र लगाएर अन्यत्र खोप नलगाउँदा कोरोना नसर्ने हो र भन्ने उनको प्रतिप्रश्न छ ।

कोराना संक्रमणका कारण मासिक भाडा तिर्नसमेत सकस भएको बाराही गल्लीमा गत वर्षदेखि होटल व्यवसाय थालेका रामबहादुर थापा बताउँछन् । ‘एक दशकदेखि खाइनखाइ खाडीमा पसिना चुहाएर कमाएको ४८ लाख रुपैयाँ बुझाएर होटल किनेको, एक वर्षसम्म कोरोनाका कारण व्यवसाय नै चौपट भयो,’ उनले भने, ‘वर्षौंसम्म दुःख गरेर खाडीमा कमाएको पैसा लगानी गरेर नेपालमै बस्ने योजना बालुवामा पानी खन्याएजस्तै भयो ।’

कोरोनाको त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि व्यवसायीलाई कसरी दैनिकी चलाउने र घरभाडा तिर्ने भन्ने चिन्तामा डुबेका देखिन्छन् । अवस्था सुध्रिने पर्खाइमा रहेका व्यवसायी फेरि कोरोनाको तेस्रो लहरको हल्ला चलेपछि थप चिन्तित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप