नगरकोटमा होटल–पर्यटन तङ्ग्रिने अपेक्षा
पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट–नाल्दुम पर्यटन विकास समितिले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र समितिको समन्वयमा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भइरहेको हालको अवस्थामा दुवै मात्रा खोप लगाउन पाएपछि सुरक्षित महसुस भएको व्यावसायी बताउँछन् । “कोरोना सङ्क्रमणदर घटिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउँदा सुरक्षित महसुस गरेका छौँ, अब पर्यटन तङ्ग्रेला कि”, समितिका सचिव एवं माउण्ट एभरेष्ट होटलका सञ्चालक प्रदीपजङ्ग अधिकारीले भने ।
उनका अनुसार होटल व्यवसायीसँगै नगरकोटका किराना पसल तथा तरकारी व्यवसायी समेतलाई कोरोनाविरुद्धको खोप लगाएपछि नगरकोट ‘सुरक्षित छ’ भन्ने सन्देश दिन थालिएको छ । पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमणको जोखिमकाबीच न्यून कर्मचारी÷मजदूर स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ सञ्चालन हुँदै आएका होटलमा आन्तरिक पर्यटक बढ्दै गएको मेरिल्याण्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताए ।
उनले भने, ‘हाल शुक्रबार र बिदाको दिन पर्यटकको आगमन राम्रै छ, केही आवासीय तालिम कार्यक्रम हुन थालेका छन्, कोरोना घट्दै गएकाले बाह्य पर्यटक पनि आउलान् कि’ उनका अनुसार बिदामा आउने पर्यटक र फट्टाफुट्ट हुने तालिम कार्यक्रमले जेनतेन होटल खर्च धानेको छ ।
नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन् । नगरकोटमा सानाठूला गरी १०० होटल छन् । यसमध्ये केहीमात्रै ‘फो–स्टार र थ्री–स्टार’का छन् । नगरकोटमा करिब दर्जन होटल निर्माणाधीन अवस्थामा रहेका छन् भने उही सङ्ख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको समितिका अध्यक्ष एवं भङ्गेरी दरबार होटलका सञ्चालक नवीन गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार नगरकोटमा पर्यटनका थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमाक्षेत्रमा पर्ने नगरकोटको मुख्यचोक भट्टेडाँडामा बसपार्क निर्माणाधीन अस्वथामा रहेको छ भने पर्यटकीय सूचना केन्द्र तथा ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण थालिएको छ ।
साथै टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनेपा नपा–२ मा हिले जलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जीपलाइन र हाइकिङ– निर्माण गरिने योजना बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण