बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जुम्ला एमालेमा पहिरो : सिंगो कमिटी एकीकृत समाजवादीमा

शनिबार, १९ भदौ २०७८, १४ : ५८
शनिबार, १९ भदौ २०७८

जुम्लामा एमालेको सिंगो पार्टी पङ्क्तिले नेकपा एकीकृत समाजवादी  रोजेका छन् । कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित  जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक अन्य सबैले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु उभिएका छन् । 

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन्  । यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।

 धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले  यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

जनप्रतिनिधिहरु को–कता ?  
०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो ।  जसमध्ये अध्यक्ष  जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए । यस्तै उनको वडा तहका जितेका   वडा–३ वडामा  कालीबहादुर रावत, ३ मा सिंह बुढा,  ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।

१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् । उपाध्यक्षमा  जितेकी  सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।  

चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल,  ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा  धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत  वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप