शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा सिटामोलको अभाव, मूल्य बढाउन उद्योगीको माग

शनिबार, ०९ असोज २०७८, ०९ : २९
शनिबार, ०९ असोज २०७८

पोखरा । बजारमा ज्वरो र दुखाइ लगायतका बिरामीका लागि प्रयोग हुने पारासिटामोलको चरम अभाव देखिएको छ । गण्डकी प्रदेशका पोखरा लगायत अन्य जिल्लामा पारासिटामोलको अभाव देखिएको हो ।

अन्तर्राष्ट्रिय बजारमै औषधि बनाउन आवश्यक कच्चा पदार्थको भाउ बढेको कारण देखाउँदै औषधि उत्पादक कम्पनीहरुले यसको झण्डै शत प्रतिशत मूल्य वृद्धि गर्न माग गर्दै आएका छन् । तर सरकारले कोरोना महामारीले सर्वसाधारणको आर्थिक अवस्था कमजोर बनेको बताउँदै अहिलेको अवस्थामा मूल्य बढाउन नहुने अडान राखेपछि कम्पनीहरुले उत्पादन नै रोकेका हुन् । परिणामस्वरुप अहिले बजारमा पारासिटामोलको अभाव देखिएको छ ।

सरकारले जनताका लागि अत्यावश्यक सूचीमा रहेका झण्डै दुई दर्जनभन्दा बढी औषधिको मूल्य निर्धारण गरेको थियो । झण्डै डेढ दशक बितिसक्दा समेत सरकारले ती औषधिका मूल्य समायोजन नगरेको औषधि उद्योगीहरुको भनाइ छ ।

पोखरामा विगत १५ वर्षदेखि औषधिको थोक विक्रेताको काम गर्दै आएको सृजना मेडिसिन डिस्ट्रियुटरका संचालक केशव घिमिरेले बजारमा पारासिटामोलको अभाव भएको बताए । उनले विगत २ महिनादेखि कम्पनीहरुले सिटामोल उत्पादन नगरेका कारण अभाव देखिएको प्रस्ट पारे ।

‘बजारमा सिटामोलको माग उच्च छ, खुद्रा व्यवसायीले सिटामोल चाहियो भनेर दिनमा सयौं कल गर्छन्,’ उनले भने, ‘तर, कम्पनीले १० रुपैयाँमा सिटामोल बेच्दा घाटा पर्ने भएकाले उत्पादनै बन्द गरेको जवाफ दिन्छन् ।’

औषधिको गुणस्तर, उत्पादन र वितरण लगायतका सम्पूर्ण कार्यको अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले जनताका लागि आवश्यक औषधिको सहजताका लागि सक्रियता देखाउनु पर्ने उनको भनाइ छ ।

पोखरा, बिरौटाका सुरेन्द्र पोखरेलले पोखरा क्षेत्रका एक दर्जन औषधि पसलमा खोज्दासमेत पारासिटामोल नपाएको बताए । ‘विरौटादेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड लगायतका ठाउँका एक दर्जनभन्दा धेरै पसल चाहर्दा पनि एक पत्ता सिटामोलसमेत पाइएन,’ उनले भने ।

सरकारलाई गलाउन कम्पनीहरुले विगत तीन महिनादेखि उत्पादन नै बन्द गरेको भए पनि व्यवसायी र उद्योगीलाई दण्डित गर्ने अधिकार पाएको औषधि व्यवस्था विभागले भने लाचारी देखाएको छ ।

नेपालमा औषधि उत्पादन गर्ने झण्डै ५ दर्जनभन्दा बढी उद्योगमध्ये आधाभन्दा धेरै उद्योगले पारासिटामोलको उत्पादन गर्दछन् । त्यसैगरी केही भारतीय कम्पनीले उत्पादन गरेका सिटामोल पनि नेपालमा आपूर्ति हुँदै आएको छ ।

बजारमा कोभिड–१९ को संक्रमण बढेसँगै माग बढेकाले बजारमा पारासिटामोलको अभाव हुन थालेको औषधि व्यवस्था विभागको भनाइ छ । कोभिड संक्रमण बढेसँगै पारासिटामोलको खपत बढ्नु र अन्तर्राष्ट्रिय बजारमा कच्चापदार्थको मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नभएका कारण केही अभावजस्तो देखिएको औषधि विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । उनले भने, ‘विभागले उत्पादनलाई बढाउने व्यवस्था मिलाएको छ, अब बजारमा अभावको अवस्था रहँदैन ।’

सूचना अधिकारी केसीका अनुसार सरकारले २०६४ सालमा पारासिटामोलको मूल्य प्रतिगोटा १ रुपैयाँ निर्धारण गरेपछि अहिलेसम्म मूल्य समायोजन नगरेका कारण उत्पादक कम्पनीहरुले लागत मूल्यसमेत नपाएको गुनासो गर्दै आएका छन् ।

‘कोभिडले जनता असहज अवस्थामा रहेकोले यस्तो अवस्थामा मूल्य वृद्धि गर्न नहुने पक्षमा विभाग छ,’ उनले भने, ‘तर, व्यवसायीले कोभिड संक्रमणसँगै विश्वभरिनै पारासिटामोलको माग उच्च भएको तर अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले जति माग बढ्छ, घाटा दर उति नै बढ्ने बताउँदै आएका छन् ।’

औषधि उद्योगले प्रतिगोटा १ रुपैयाँमा सिटामोल उपलब्ध गराउन नसकिने बताउँदै मूल्य समायोजन गर्न आग्रह गरेको उनको भनाइ छ । छिमेकी देश भारतमा समेत पारासिटामोलको प्रति चक्की मूल्य १ रुपैयाँ ७८ पैसा रहेको उनले बताए । नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने भए पनि अहिले उचित समय नभएको उनले प्रस्ट पारे ।

सूचना अधिकारी केसीले कम्पनीले उठाएका मागबारे विभागले मन्त्रालयलाई जानकारी गराएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप