बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : कास्कीका पाँच पालिकामा को–को भए विजयी ?

आइतबार, १० असोज २०७८, १२ : ५३
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीका स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पाँच स्थानीय तहमध्ये पोखरा महानगर, मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएका छन् भने अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

नगर अधिवेशनबाट पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । निर्वाचनमा खसेको एक हजार ३४४ मतमध्ये सभापतिमा निर्वाचित विजुक्छेले ४१४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत पाए । सभापति पदका अर्का उम्मेदवार रामराज लामिछानेले २०९, मिलन तिवारीले १५०, मोहन बाँस्तोलाले १२६ र ज्योति हमालले ११ मत प्राप्त गरे ।

यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा, सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् । कास्कीको मादी गाउँपालिकाको सभापतिमा यमबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले देवीजङ्ग गुरुङलाई एक मतको अन्तरले पराजित गरे । निर्वाचनमा खसेको २०४ मतमध्ये यमले ९३ र देवीजङ्गले ९२ मत प्राप्त गरेका थिए ।

यस्तै, उपसभापतिमा लीलामोहन कुइँकेल र कृष्णचन्द्र बराल, सचिवमा भोजबहादुर गुरुङ र देवीजङ्ग गुरुङ विजयी भएका छन् । पार्टीको सहसचिवमा तेज रानाभाट र बोधबहादुर ढकाल विजयी भएको कास्की काँग्रेसले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको पार्टी सभापतिमा मनोपति भण्डारी निर्वाचित भएका छन् । उपसभापतिमा सुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद अधिकारी र विजय गुरुङ, सहसचिवमा ध्रुव घले सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै रुपा गाउँपालिकाको सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा बुद्धिबहादुर खड्का र गेसबहादुर गुरुङ, सचिवमा शंकरलाल श्रेष्ठ र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित भएका छन् । अन्य सदस्य पनि सर्वसम्मत निर्वाचित भएको कास्की काँग्रेसले जनाएको छ ।

माछापुच्छ्रे गाउँ कार्यसमितिको अधिवेशनमा वीरेन्द्र गुरुङ सभापति निर्वाचित भएका छन् । उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल, सहसचिवमा महादेव गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप