सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हत्या गरेर भागेको १२ वर्षपछि पक्राउ

मङ्गलबार, १९ असोज २०७८, ११ : २९
मङ्गलबार, १९ असोज २०७८

बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका–२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो ।

हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका–७ घर भएका बिहारी थारु उर्फ राम बिहारीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए । असोज १७ मा बर्दियाबाट खटिएको प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपलिका–१८ स्थित कारकाँदोबाट उनलाई पक्राउ गरेको हो ।

मदिरा पिएर घरमा गएपछि घिरउ र राम बिहारीको बिचमा काठ तस्करी गर्नेबारेमा कुरा भएको थियो । तस्करीबारे सामान्य विवाद भएको र घिरउ सुतेपछि अर्को एकजनासँग मिलेर राम बिहारीले छुराले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि दाङमा गएर ससुराली घरमा केही समय बसेका राम बिहारी त्यहाँ घर बनाउने मजदुरको काम गर्न थालेका थिए । दाङमा उनी लामो समय  घर बनाउने काम गरेर बसे । पछि परिवारसहित नेपालगञ्ज स्थित कारकाँदोमा मिस्त्रीको काम गरेर बस्न थालेको सुराकको आधारमा प्रहरीले उनलाई पक्रेर अनुसन्धान शुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप