मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा

सोमबार, २२ असार २०८३, २२ : ००
सोमबार, २२ असार २०८३

आज २०८३ असार २२ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, रास्वपामा ‘वरिष्ठ नेता’ दुईभन्दा बढी हुन सक्ने, कांग्रेसको संस्थापन इतर समूहको छुट्टै कार्यालय, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा, एमाले र कांग्रेसले संविधान संशोधनबारे सुझाव नदिने, नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा लगायत छन् ।

१. टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’
नेपाल दुरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘क्लिन चिट’ (सफाइ) पाएका छन् । विशेष अदालतले उनलाई सफाइ दिएको हो ।

२. रास्वपामा ‘वरिष्ठ नेता’ दुईभन्दा बढी हुन सक्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संशोधित विधान अनुसार पार्टीमा वरिष्ठ नेता दुई वा सोभन्दा बढी हुन सक्नेछन् । असार दोस्रो साता चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट पारित विधानमा यस्तो व्यवस्था गरिएको हो ।

३. कांग्रेसको संस्थापन इतर समूहको छुट्टै कार्यालय
नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौँको चुनदेवीमा खोलिएको कार्यालयमा सोमबारदेखि नेता–कार्यकर्ता आउजाउ गर्न थालेका छन् । 

४. अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी अधिकारीहरूको एकाएक सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका डीएसपी र इन्सपेक्टरहरूलाई सामान्यतया दुई वर्ष पूरा नभइ अर्को ठाउँमा सरुवा गरिँदैन । तर, वर्तमान सरकारले दुई वर्ष पूरा नभएकै अवस्थामा उनीहरूलाई सरुवा गरेको हो । 

५. एमाले र कांग्रेसले संविधान संशोधनबारे सुझाव नदिने
नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’लाई संविधान संशोधनबारे कुनै पनि सुझाव नदिने भएका छन् ।

६. नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ ।

७. प्रदेशसभा खारेजीबारे के भन्छन् कर्णालीका नेता ?
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनमा पेस गरेको दस्तावेजमा प्रदेश सभा खारेजी र प्रदेश पुनर्संरचनाको विषय उल्लेख भएसँगै यसबारे सार्वजनिक बहस भइरहेका छन् । यसै सन्दर्भमा कर्णाली प्रदेशका विभिन्न दलका नेता रास्वपाको उक्त प्रस्तावबारे कस्तो धारणा राख्छन् भन्ने विषयलाई रातोपाटीले स्पेशल स्टोरीका रूपमा प्रकाशन गरेको छ ।

८. युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ
ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।

९. सर्वोच्च अदालतमा न्यायाधीशको पदपूर्ति कहिले ?
सर्वोच्च अदालतमा तीन न्यायाधीश पद रिक्त छ । ऐनले सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरे पनि पद रिक्त भएको लामो समयसम्म पनि नियुक्ति हुन नसकेको हो ।

१०. अर्थमन्त्रीले किन ब्युँत्याए ‘फुल अडिट’ ?
अर्थतन्त्रमा शिथिलता छाएको र लगानीको वातावरण खस्किरहेको समयमा कर प्रशासन र व्यवसायीबिच पुरानै विवाद फेरि सतहमा आएको छ । विवादको केन्द्र बनेको छ– फुल अडिट अर्थात पूर्ण कर परीक्षण । अघिल्लो सरकारले पूर्ण कर परीक्षण रोकेकोमा अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसलाई ब्युँत्याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप