सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीलाई  प्रमुख प्रतिपक्षको सुझाव : प्रदेशको गरिमा बचाउन मार्ग प्रशस्त गर्नुस्

बुधबार, २० असोज २०७८, १५ : १४
बुधबार, २० असोज २०७८

प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । बुधबारको बैठकमा लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् । 

अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर संघीयता कमजोर बनाउन खोजेको मुख्यमन्त्रीको भनाइपछि सोनलले अख्तियारले छापा हान्दैमा लौकामा औँला देखाए झैँ संघीयता नसुक्ने बताए । ‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ, मुख्यमन्त्रीले नैतिकता बचाउन राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’, सोनलको भनाइ छ । उनले सरकारको संवैधानिकतामाथि पनि प्रश्न उठाए ।

उनले दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत नलिएको भन्दै सरकारलाई असंवैधानिक भन्ने कि नभन्ने भनेर प्रश्न गरे । उनले मुख्यमन्त्री राउतलाई वर्तमान सरकार संविधानको कुन धारा अन्तर्गत चलिरहेको छ भन्ने विषयमा जानकारी गराउन आग्रह गरे ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद शिवचन्द्र चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढंगले काम नगरेको आरोप लगाए । ‘हाम्रो प्रदेशको हरेक पालिकाविरुद्ध १५/२० वटा उजुरी छ तर तिनीहरुलाई केहि हुँदैन् । मान्छे भन्छन अख्तियारसँग सेटिङ छ रे ! वर्षमा दुई पटक दिनुपर्छ’, उनको भनाइ छ ।

प्रदेश स्थापनाकालमा प्रदेशसभा भवनको मर्मत सम्भार गर्न ७ करोड रकम आएकोमा त्यसमा अनियमितता भएको तर त्यसको प्रतिवेदन आफुहरुले सर्वसम्मत गरेर दिएपनि अख्तियारले अहिलेसम्म कुनै एक्सन नलिएको सत्तापक्षकै सांसद चौधरीले आरोप लगाए । सत्तारुढ जनता समाजवादी पार्टीले अख्तियारले छापा मार्दैमा त्यसविरुद्ध जुलुस निकालेको भन्दै आपत्ति जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप