बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मेटमणि चौधरीले भने– मन्त्री बन्न कम्बिनेसन मिल्नुपर्छ !

शुक्रबार, २२ असोज २०७८, १२ : ०७
शुक्रबार, २२ असोज २०७८

नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले मन्त्री बन्न ‘कम्बिनेसन’ मिल्नुपर्ने बताएका छन् । एकीकृत समाजवादीका तर्फबाट सुरुदेखि नै मन्त्री बन्ने चर्चामा रहेका चौधरी बिहीबार पार्टीले मन्त्रीका लागि गरेको सिफारिसमा परेका छैनन् । माधवकुमार नेपाल नेतृत्वको समाजवादी गठनदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका चौधरीले अन्तिममा मन्त्री बन्ने अवसरबाट वञ्चित भएका हुन् ।

चौधरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफु मन्त्रीका लागि सिफारिस नहुनुमा कम्बिनेसन नमिलेको बताएका छन् । उनले मन्त्री को बन्यो बनेन भन्ने कुरा मुख्य नभएको भन्दै प्रणाली जोगिनु महत्वपूर्ण भएको बताएका छन् ।

‘मन्त्री बन्ने को मन्त्री बन्नुभयो ? को मन्त्री हुनु भएन ! मुख्य बिषय होइन । मुख्य बिषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वोच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ’, फेसबुकमा चौधरीले भनेका छन्, ‘जहाँसम्म मन्त्री बन्ने सम्भावनाको कुरो– प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रबेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण बिषय बन्न जान्छ ।’

साथै उनले मन्त्री बन्न कम्बिनेसन मिल्न जरुरी रहेको पनि बताएका छन् । ‘फेरि मन्त्री हुने कुरो– सबै प्रकारका कम्बिनेसनहरू मिल्नुपर्दछ । कहिलेकाहीँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो’, चौधरीले भनेका छन् ।

उनले कठिन मोडमा रहेको भन्दै यो घडीमा सबैमा धैर्यधारणको जरूरी रहेको पनि बताएका छन् । उनले मन्त्रीका लागि नेतृत्वलाई अनावश्यक दवाब नदिन पनि भनेका छन् । ‘पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन । नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानको लागि पहल गरौं’, चौधरीको अपिल छ ।  

उनले आफूप्रति सहानुभूति राख्नेहरूलाई धन्यवाद भनेका छन् । ‘यो बीचमा मप्रति धेरै साथीहरूले सहानुभूति राख्नुभएको महसुस गरेको छु । सबै महानुभावहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगामी दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा लिएको छु  । अन्तमा– मन्त्रीको सिफारिसमा पर्नुभएका सबै माननीयज्यूहरुको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछु’, चौधरीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप