बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

न्यायपालिकाभित्रको झगडा मिलाउन काँग्रेस अघि सर्छ : नेता सिटौला

सोमबार, १५ कात्तिक २०७८, १४ : २४
सोमबार, १५ कात्तिक २०७८

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको झगडाको समाधानका लागि आवश्यक परे काँग्रेस अघि सर्ने बताएका छन् ।  काँग्रेस तारकेश्वर नगर समितिले काठमाडौंको मनमैजुमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले न्यायालयमा प्रवेश गरेको कचिङ्गल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने चिन्ता बढेको बताए । 

काँग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान दिन सक्ने भन्दै न्यायालयको झगडामा पनि आवश्यक परे काँग्रेस समाधान दिन अघि बढ्ने उनको भनाइ छ । ‘न्यायपालिकाको कचिङ्गल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ । देश हाँक्ने काँग्रेसले नै हो । पद्धति ल्याएको पनि हामीले नै हो । देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो । परिआए न्यायालयको समस्याको समाधानमा काँग्रेस अघि सर्छ, काँग्रेससँग समग्र विषयमा समाधान दिन सक्ने ताकत छ,’ सिटौलाले भने ।

संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भएपनि विगतमा कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा जनताले केही उपलब्धि नपाएको सिटौलाले बताए । उनले केपी ओली सरकारले संविधानले दिएका विषय अंगाल्न नसक्दा सरकार परिवर्तन भएको भन्दै वर्तमान सरकारको काम परिवर्तनलाई परिमार्जन गरेर जनतामुखि बनाउनेतर्फ केन्द्रीत हुनुपर्ने बताए । 

पार्टी महाधिवेशनको मुखमा रहेको भन्दै सिटौलाले पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता कार्यकर्तालाई आग्रह गरे ।  ‘हामी महाधिवेशनको क्रममा छौं, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक प्रयोग गर्नुस्, कसैसँग दब्नु पर्दैन, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ,’ सिटौलाले भने । 

कार्यक्रममा पूर्व रक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा काँग्रेस कमजोर बनेको बताए  । आगामी महाधिवेशनपछि सो प्रवृतिको अन्त्य गरिनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप