बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘हाम्रो बिहेमा सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो’

मुख्यमन्त्री परिआयो, विवादमा पर्न भएन : शोभा पाठक
मङ्गलबार, १६ कात्तिक २०७८, १३ : ३९
मङ्गलबार, १६ कात्तिक २०७८

प्रदेश १ सरकारले तेस्रो मुख्यमन्त्रीका रूपमा पूर्वअखिल नेता राजेन्द्र राईलाई पाएको छ । राई तत्कालीन नेकपा एमालेका तर्फबाट भोजपुर निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित भएका हुन् । भोजपुर १ (ख) बाट निर्वाचित भएका शेरधन राईले यसअघि नै मुख्यमन्त्री चलाइसकेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार राजेन्द्र राईले लोकतान्त्रिक गठबन्धनका अजम्बर काङमाङ राईलाई प्रदेशसभाको चुनावमा पराजित गरेका थिए । कुल ३४ हजार ९५८ मत खसेकोमा राजेन्द्रकुमार राईले १९ हजार २९७ मत ल्याएका थिए । संघीय समाजवादी फोरमका अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत ल्याएका थिए । काङमाङ अहिले जसपा छाडेर नेकपा माओवादी केन्द्रमा लागेका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहेका राई ०५६ मा अखिलको अध्यक्ष भएका थिए । भोजपुरको षडानन्द नगरपालिका १० का उनले विद्यालय तहबाटै राजनीति यात्रा शुरु गरेका थिए । प्रारम्भिक कमिटीको सचिव हुँदै केन्द्रीय अध्यक्षसम्म भएका उनले विद्यार्थी संगठनमा रहेर २० वर्ष राजनीति गरे । यसक्रममा रत्नराज्य क्याम्पस काठमाडौंको स्ववियु सभापतिसमेत बने ।

विद्यार्थी संगठन छाडेर उनले काठमाडौँ जिल्ला कमिटीबाट एमालेको पार्टी राजनीति सुरू गरे । एमालेको आठौँ महाधिवेशन र नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका राई एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव छन् ।

पञ्चायतविरुद्ध लाग्दा राई ७ महिना जेल परेका थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाह विरुद्धको आन्दोलनमा ४ महिना बन्दी हुन पुगे । उनलाई २०६० मा माओवादीले अपहरण गरेर एक साता राखेको थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राईका ‘विचारको खेती’ र ‘आयु’ नामक दुई पुस्तकसमेत प्रकाशित छन् । एमालेभित्र इमान्दार राजनीतिज्ञका रूपमा चिनिने राई सादगी नेता मानिन्छन् । उनले शोभा पाठकसँग अन्तरजातीय विवाह गरेका छन् । शोभाको पुख्र्याैली माइत नुवाकोट हो । तर, उनी काठमाडौँमै जन्मिएकी हुन् ।

यसै सन्दर्भमा नयाँ मुख्यमन्त्री राजेन्द्र राईका बारेमा उनकी पत्नी शोभा पाठकसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ –  

यहाँले राजेन्द्र राईसँग कहिले विवाह गर्नुभयो ?

हामीले २०६० सालमा विवाह गरेका हौं ।

प्रेम विवाह हो कि मागेर ? अनेरास्ववियूको नेता भएकै बेला प्रेममा पर्नुभएको हो कि ?

उहाँ अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो, म मध्यमाञ्चल प्रमुख थिएँ । हाम्रो लभ म्यारिज हो । हाम्रो समाजमा मागेर त यस्तो प्रकारको (अन्तरजातीय) बिहे नै हुँदैन नि । तर, हामीले अनुमतिमै सामान्य ढंगले घरमै टिकाटाला गरेर विवाह गरेका हौं । विवाहमा पार्टीका तर्फबाट सुरेन्द्र पाण्डे सहभागी बन्नुभएको थियो । अरु केही अखिलका कार्यकर्ताहरु पनि आउनुभएको थियो । परिवारको सहमति थियो ।

राजेन्द्रजीको परिवारमा अहिले कोको हुनुहुन्छ ?

उहाँको घर भोजपुर हो । बुबाआमा अझै भोजपुरमै हुनुहुन्छ । तीन दाजुभाइमध्ये राजेन्द्र कान्छो हुनुहुन्छ । ठूलो दाजु ब्रिटिस आर्मीबाट रिटायर्ड भएर अहिले मकाओमा हुनुहुन्छ । अर्को दाइ काठमाडौँमै सरकारी सेवामा कार्यरत हुनुहुन्छ । दिदी एकजना हुनुहुन्छ ।

तपाई भोजपुरमा राजेन्द्रजीको घरमा कति बस्नुभएको छ ?

प्रायः दसैँंका बेलामात्रै जाने गरेका थियौं । तर, यसपटक मेरा बुबा बित्नुभएकाले टीका लगाउन भएन, त्यसैले दशैंमा घर गइएन ।

यहाँ पनि अखिलकी पुरानै नेतृ हुनुहुँदोरहेछ, पार्टी विभाजनका बेला राजेन्द्र राईलाई नै साथ दिनुभयो । उहाँलाई एमालेमै बसौं भनेर सम्झाउनुभएन ?

राजनीति देश र जनताका लागि गर्ने हो भन्ने मेरो भनाइ हो । आफ्नो स्वार्थ पूरा गर्न राजनीति गर्ने होइन । पैसा कमाउने वा स्वार्थ नै खोज्ने हो भने व्यापार–व्यवसाय गर्नुपर्छ, राजनीति गर्ने हो भने समाजको काम गर्नुपर्छ । म अहिले पार्टीको कुनै पनि कमिटीमा छैन । लकडाउन अघिसम्म मैले काठमाडौंमा मन्टेश्वरी स्कुल चलाएकी थिएँ । अहिले त्यो पनि छोडिसकेँ ।

तपाईको नजरमा राजेन्द्र राई कस्तो व्यक्ति हो ?

मैले हिजो राजेन्द्र राईलाई जुन रूपमा हेरेर मन पराएँ, अहिले पनि उहाँ त्यस्तै नै हुनुहुन्छ । उहाँमा केही परिवर्तन छैन ।

हिजो के हेरेर मन पराउनुभएको थियो ?

उहाँको इमान्दारितालाई मन पराएकी हुँ । उहाँ अखिलको अध्यक्ष हुनुअघि संगठनमा धेरै ऋण थियो । तर, उहाँले झण्डै ३० लाख अखिलको ऋण तिरेर १३, १४ लाख रुपैयाँ संस्थाका नाममा ब्यालेन्स गरेर विदा हुनुभएको थियो । अनेरास्ववियुका पहिलाका अध्यक्ष वा साथीहरु होटलमा खाना खान्थे, तर उहाँ दिउँसो २ बजे भए पनि खाना खान कोठामै आइपुग्नुहुन्थ्यो ।

एमालेमा हुँदा राजेन्द्र राई पछि पर्नुभयो भनेर शुभचिन्तकहरुको गुनासो सुनिन्थ्यो, तपाईलाई यसमा के भन्नुहुन्छ ?

इमान्दार मान्छे अगाडि गएको आफ्नै मान्छेले पनि देख्न नसक्ने प्रवृत्ति छ । हाम्रो समाजमा इमान्दार र स्वच्छ छविको मान्छे अघि बढ्न सक्दैन । खुट्टा तान्ने प्रवृत्ति बढी नै छ ।

नेपाली राजनीतिमा श्रीमान महत्वपूर्ण पदमा रहँदा श्रीमतीको पनि नाम जोडिने गरेको छ । यो पक्षलाई तपाईले ख्याल कत्तिको गर्नुभएको छ ? राजेन्द्र राई मुख्यमन्त्री हुँदा अब तपाईको भुमिका कस्तो हुन्छ ?

फ्रन्टलाइनमा आउने मेरो चाहना छैन । अर्को कुरा, हामी सामान्य नागरिक हौं । यो पद धेरै समयका लागि पनि होइन । भोलि जाने त जनताकै बीचमा हो । मान्छेले पार्टी भनेर राम्रो नराम्रो छुट्याउन छाडेपछि देश बिग्रेको हो । ठीक, बेठीक नै छुट्याउन छोडियो । आफूभित्र पनि नराम्रो छ भने नराम्रो भन्न सक्नुपर्छ भन्ने मेरो भनाइ हो ।

अहिले त राजेन्द्र राईलाई पार्टीले न्याय दियो नि होइन ?

यसलाई पार्टीले न्याय दियो भन्नुभन्दा पनि पार्टी फुटेको हुनाले परिआएको जिम्मेवारी हो भन्दा ठीक होला । हिजो भीम आचार्य समाजवादीमै रहनुभएको भए अहिले पनि राजेन्द्र राई मुख्यमन्त्री हुनुहुन्थेन, यो हामीलाई राम्रोसँग थाहा छ ।

तपाईको विचारमा राजेन्द्र राईका कमजोरी के हुन् ?

उहाँको कमजोरी भनेको आफू जतिसुकै पछि परे पनि सत्य कुरा नछोड्ने र सत्यका लागि कसैसँग नझुक्ने ।

उहाँ प्रदेश सभाको छोटो कार्यकालमा मुख्यमन्त्री बन्नुभएको छ । आफ्नो कार्यकालमा उहाँले के गर्नुभए हुन्थ्यो जस्तो लाग्छ ?

समय छोटो नै छ । समयका कारण धेरै विकास निर्माणका काम गर्न त सम्भव छैन । जति समय छ, त्यो समयमा जनताको मनमा बस्ने काम गर्नुपर्यो । विवादमा पर्नुभएन र जनताको पक्षमा काम हुनुपर्यो ।

विवादमा पर्न भएन भन्दै गर्दा मुख्यमन्त्री बन्ने निश्चित भएलगत्तै तपाईसहित राजेन्द्रजीले रक्सी खाएको भिडियो मिडियामा आयो, यसमा के भन्नुहुन्छ ?

यो पूर्वाग्रह राखेर ल्याइएको हो । किनभने, राईहरुले जन्मँदा र मर्दा पनि सगुनका रूपमा खाने चलन छ । त्यति हुँदाहुँदै पनि राजेन्द्र राईले अहिलेसम्म खाएर हिँड्यो भन्ने मान्छे अहिलेसम्म एउटा पनि भेटिएको छैन ।

अहिले राजेन्द्र राई मुख्यमन्त्री भएकोमा साथीभाइले खुसी मनाउन केक काट्नुभयो भने हामी त्यसमा सहभागी नै हुँदैनांै भनेर निस्केर हिँड्न मिल्दैनथ्यो होला असभ्यता प्रदर्शन गरेर । कसैले राजेन्द्र राई मुख्यमन्त्री बन्दा खुसी जाहेर गर्छ भने हामीले त्यसलाई इन्कार गर्न वा किन यस्तो गरेको भनेर निराश पार्न पनि मिल्दैन । त्यसकारण हामीले यो विषयलाई सामान्यरुपमै लिएका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप